नाम : जीवनबहादुर शाही
पद : पूर्वमुख्यमन्त्री, कर्णाली प्रदेश सरकार
कर्णाली व्यक्तित्व नं. : १७
नेपालको आधुनिक १०० वर्षको इतिहासमा एउटा प्रश्न धेरै चर्चित रह्यो, जसको उत्तर हुम्लासँग जोडिन्छ । वर्षौसम्म सामान्यज्ञान देखि जटिल पाठसम्म बनेको हुम्लाले गाडी नपुगेको जिल्लाका रपमा चर्चा पाइरह्यो ।
२०८० को दशकमा हुम्लामा गाडी पुग्यो । जसका लागि नेपालमा बहुदल, लोकतन्त्र, गणतन्त्र र संघीयता आएपछि लगातार झण्डै ४० वर्ष संघर्ष गर्नुपर्यो । कहिले बजेट । कहिले उपकरण । कहिले नेपाली सेनाको जिम्मेवारी हेरफेर । त कहिले विकास प्राथमिकता । यी विभिन्न जालझेल र राजनीतिक खेल चल्दै गर्दा हुम्लामा त्यतिबेला गाडी पुग्यो, जतिबेला हुम्लामै जन्मेर अमेरिकामा पढेर फेरि हुम्ला फर्केर राजनीतिक यात्रा थालेका जीवन शाही कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीको कुर्सीमा बसेका थिए ।
२०७६ सालमा कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनेका शाही नेपाली कांग्रेसको राजनीतिमा युवा उमेरदेखि छन् । १६ वर्षकै उमेरदेखि कांग्रेसको राजनीतिमा उभिएका उनले हुम्लामै पढेर काठमाडौँ र अमेरिकामा उच्च शिक्षा हासिल गरेका थिए ।
सानैमा ठूलो भएपछि के बन्ने रु भन्दा पाइलट भनेका जीवन शाहीले अमेरिकामा हवाईजहाज उडाउने पाइलट कोर्स पनि पूरा गरे । तर व्यवसायिक रुपमा पाइलट बन्ने चाहना त्यागेका उनले हुम्ला र कर्णालीमा राजनीतिक तथा पूर्वाधार विकास गर्ने नयाँ यात्रा थाले । एक पढेलेखेको राजनीतिक व्यक्तिले गर्न सक्ने भनेकै उच्चतम शिक्षा र प्रविधिको प्रयोग गरेर आधुनिक विकास हो । जसमा सोच, शैली र जीवन विकासका लागि गर्नुपर्ने सबै काम पर्छन् ।

छोटो समय मुख्यमन्त्री भएका जीवन शाहीले यी काम गर्ने प्रयास गरे । तर त्यसलाई दिगो रुपमा सञ्चालन गर्ने अवसर पाएनन् । राजनीतिक रुपमा अत्यन्तै धेरै प्रयोगशाला बनेको कर्णाली केन्द्रीय नेताहरुको सँधै पछौटेपनको शिकार बनिरह्यो । जसकारण कर्णालीमा भिजिनरी नेताले अवसर पाउनेभन्दा केन्द्रीय नेताहरुको रोजाई र सबैभन्दा बढी चलखेल गर्ने नेताले मौका पाउने समस्या धेरै छ ।
हुम्लामा जन्मेर पनि काठमाडौँ र अमेरिकामा पढेका उनी अमेरिकामै बिलासी जीवन बिताउन सक्थे । धेरै पढेर संसारलाई नै ज्ञानका पाठ पढाउन सक्थे । पाइलट पढेका उनले विमान उडाउन पनि सक्थे । तर आफ्नै गाउँ ठाउँको विकास गर्नुपर्छ भन्ने सोचले हुम्लाबाट उठेर संसार देखेका र घुमेका जीवन शाही अन्ततः हुम्लामै पुगेर विकासको मूल फुटाउनतिर लागे । जसकारण ढिलै भएपनि उनले हुम्लाको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छन् ।
समग्र कर्णाली र सबैभन्दा विकट हुम्लाको विकास गरेर देशलाई समृद्ध बनाउने योजना तथा सपना पालेका जीवन शाहीले हुम्ला, सुर्खेत र कर्णालीमै बसेर जुन राजनीति गरिरहेका छन्, त्यसले ढिलोचाँडो उपलब्धी पनि पाउँला । तर राजनीतिक रुपमा सपना देखेर, त्यसका लागि त्याग गरेर समर्पित भएपछि आफ्नो जीवनको सबैभन्दा ठूलो लक्ष्य हासिल गर्न सकिन्छ भनेर उनीबाट धेरै युवा राजनीतिज्ञले सिक्न सक्छन् । तर कम्तीमा यसका लागि राजनीतिकर्मीमा इमान्दारिता हुनुपर्छ । अनि मात्रै नागरिकले विश्वास गर्न सक्छन् ।