नाम : घनश्याम उपाध्याय
पद : सचिव, नेपाल सरकार (सरकारी कर्मचारी)
कर्णाली व्यक्तित्व नं. : १८
२४० वर्षे राजतन्त्रको अन्त्य भएर नेपालमा गणतन्त्र आएको १७ वर्ष भयो । नेपाल एकिकरणपछि राजा, राणा र फेरि राजा तथा लोकतन्त्रदेखि गणतन्त्रसम्म पनि कर्णाली पिछडिएको पिछडिएकै रह्यो ।
राजतन्त्रको अन्त्य भएपछि नेपाल वैधानिक रुपमै आधिकारिक रुपमा श्री ५ बाट नेपाल सरकार बनेको थियो । नेपाल सरकार बनेको १६ वर्षपछि कर्णाली प्रदेशबाट औपचारिक रुपमा पहिलो सचिव बन्ने इतिहास घनश्याम उपाध्यायले लेखे ।
हेर्दा सामान्य लाग्ने, तर सुन्दा जिब्रो टोकेको जस्तो हुने तथ्य हो यो । यतिका वर्षसम्म नेपालको ढुकुटीमा डाडु पन्यु चलाउने अधिकारसम्पन्न सचिव हुन कर्णालीलाई १६ वर्ष लाग्यो । जबकी गणतन्त्रमा सबै नागरिकको हैसियत र अवसर बराबरी हुन्छ भन्ने मान्यता राखिन्छ । तर नेपाल सरकारको उच्च पदमा बसेका नेतादेखि कर्मचारीसम्ममा कर्णालीलाई हेर्ने दृष्टिकोण अझै बदलिएको छैन ।
कर्णालीलाई भत्ता पचाउने क्षेत्रका रुपमा परिचित बनाएका ब्युरोक्रेसीले कर्णाली क्षेत्रका सहसचिवलाई अवसर दिन वर्षौ लगाए । तर पनि लामो संघर्ष पश्चात दैलेख स्थायी घर भएका उपाध्यायले कर्णालीबाट नेपाल सरकारको पहिलो सचिव बन्ने इतिहास आफ्नो नाममा लेखाएरै छाडे ।

सचिव बन्नु अगाडि उनी ललितपुर तथा काठाडौँको प्रमुख जिल्ला अधिकारीका रुपमा चर्चा पाएका थिए । त्यसपछि उनी केही समय कर्णाली प्रदेश सरकारको पनि सचिव भएका थिए । त्यसपछि बल्ल मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल सरकारको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
तीन दशकपहिले सरकारी सेवामा प्रवेश गरेका उनले यसबीचमा नेपालका कुना कन्दारामा बसेर राष्ट्र सेवा गरेका छन् । सरकारी सेवाकै क्रममा उनले अनेक दुःख कष्ट र पीडा पनि व्यहोरे । दैलेखमा जन्मे, हुर्केर, पढेका उपाध्याय पछिल्लो समय सुर्खेतमा बस्ने गर्छन् ।
त्यसमाथि कर्णालीबाट प्रतिनिधित्व गर्ने हरेक क्षेत्रका व्यक्तिले अरुभन्दा दुई गुणा बढी मेहनत तथा संघर्ष गर्नुपर्ने बाध्यता छ । त्यही बाध्यता चिरेर उनले जसरी संघर्ष जारी राखे, आज कर्णालीबाट पहिलो सचिव हुने व्यक्तिका रुपमा परिचय तथा इतिहास बनाएका छन् । आगामी दिनमा कर्णालीबाट प्रतिनिधित्व गर्ने हरेक कर्मचारीका लागि उनी प्रेरणाका स्रोत बनेका छन् । यो नै उनी र कर्णालीका लागि सबैभन्दा ठूलो उपलब्धी हो ।