नाम : पवित्रा शाही
पद : कार्यकारी निर्देशक, आवाज संस्था
कर्णाली व्यक्तित्व नं. : २१
नेपाली समाजको अर्को नाम हो, पाखण्डी समाज । नेपाली समाजमा जति एकअर्काप्रति मान, सम्मान र आपसी सहयोगी सद्भाव छ, त्यति नै विभेद, पाखण्डीपन, दोहोरो चरित्र र पुरुषहरुको अत्याचार छ ।
अनि यो अत्याचारविरुद्ध बोल्ने आज हजारौँ लाखौँ मान्छे छन्, तर त्यो बेला कर्णालीमा एक्ली महिला थिइन् । जसको नाम हो, पवित्रा शाही । जुन बेला गाउँमा रेडियो सुनिन्थ्यो । तर जम्मै रेडियोकर्मी र पत्रकार सुविधासम्पन्न जिल्ला सदरमुकाममा मात्रै बस्थे ।
अड्डा, अदालत र प्रहरी चौकी मात्रै होइन, गाउँका मुखिया पनि सबैजसो पुरुष र दोहोरो चरित्र भएका पाखण्डी हुन्थे । पाखण्डी किनभने उनीहरु शिक्षाको कुरा गर्थे, तर छोरालाई स्कूल पठाएर छोरीलाई गाईबाख्रा हेर्न पठाउँथे ।
छोराले बलात्कार गर्दा अर्काकी छोरीचेलीले फसाएको आरोप लगाउने यही समाजका मुखिया र पढेलेखेका मानिसहरु हुन्थे । जो पाखण्डीपनका नाइके थिए । उनीहरुविरुद्ध बोल्ने कसैको हिम्मत हुन्थेन । जो बोल्थे, उनीहरुमाथि चरम अत्याचार हुन्थ्यो । जताततै पुरुषकै हालीमुहाली हुँदा महिलाहरुमाथि बलात्कार हुन्थ्यो । तर न्याय पाइँदैन्थ्यो । उल्टै बलात्कारीसँग बाध्यतापूर्वक विवाह गरिन्थ्यो ।
ससुराले बुहारीलाई बलात्कार गरेपनि गाउँमै मिलापत्र गरिन्थ्यो । श्रीमानले श्रीमतिमाथि मरणासन्न हुने गरि कुटपिट गर्दा मिलापत्रकै नाममा घटना सामसुम पारिन्थ्यो । यी धेरैजसो देखेका र त्यो भन्दा धेरै सुनेका घटनाक्रमका साक्षी बनेकी पवित्रा शाही एउटा यस्तो विगूल बोकेर कर्णालीमा उदाइन् । जसले विभेद, अन्याय र अत्याचार भोगेका हरेक महिलाहरुको साथी बनेर अपराध गर्ने पुरुषहरुमाथि न्यायको डण्डा चलाउने अठोट गरिन् ।
वर्षौदेखि पुरुषहरुले मनमौजी चलाएको समाजमा महिलाहरुको हक, अधिकार र क्षेत्राधिकार स्थापित गर्न पवित्राले जीवन समर्पण गरेकी छन् । यो लडाई एक्लै लड्न असम्भव भएर उनले सुर्खेतमा विजारोपण भएको ‘आवाज’ संस्थाको सारथी बनिन् । महिलाहरुमाथि भइरहेको अन्याय तथा अत्याचारको ज्यादतीविरुद्धको सामूहिक लडाई लड्न आवाज संस्थाको सहयात्री बनेकी उनले अग्रज, सहकर्मी साथी र पीडित हजारौँ महिलाहरुको साथ पाइन् । जसले कर्णालीमा कम्तीमा महिलाहरु अन्यायमा पर्दा सरकार होइन, पहिला आवाज संस्था गुहार्नुपर्छ भन्ने मान्यता स्थापित गरेको छ ।
दैलेखको भुर्ती गाउँमा २०२८ सालमा जन्मेकी पवित्रा नौँ वर्षमा स्कुल जान पाएकी हुन् । अर्काको घर जाने छोरी पढाउनुहुन्न भन्ने समाजमा परेका उनका आमाबुवाले निकै ढिलो गरी उनलाई स्कूल भर्ना गरेपछि उनले आजको संसारमा उज्यालो छर्ने अवसर पाएकी हुन् । नारायण नगरपालिकामा आज पनि महिला नेतृत्व र प्रभावका विषयमा उनको नाम अग्रणी स्थानमा आउँछ । उसो त महिलाहरुको हक, अधिकार र न्यायको लडाईमा उनी कर्णालीकै एक्लो वृहस्पति हुन् ।

स्कूले शिक्षाबाट ठूलो संघर्ष गर्दै उनले माध्यामिक र उच्च शिक्षा हासिल गरेकी उनी आफ्नो पालामा नियमित स्कुल पढेर एसएलसीमा राम्रो अंक ल्याएर उत्तीर्ण हुने एक्ली छात्रा हुन् । किसान आमाबुवाकी छोरी पवित्रा १६ वर्षमै रेडक्रस संस्थामा महिला उत्प्रेरकको जागिर खाएर पैँसा जम्मा गर्दै सुर्खेतमा शिक्षा क्याम्पसबाट उच्च शिक्षा पाएर आजको अवस्थासम्म आइपुगेकी हुन् ।
शिक्षा संकायबाट सुर्खेतबाटै स्नात्तकोत्तर गरेकी पवित्राले द्वन्द्वकालमा सेभ द चिल्ड्रेन संस्थाद्धारा सञ्चालित परियोजनामा काम गर्ने अवसर पाइन् । त्यसैबाट महिलाहरुको समस्या र पुरुषहरुबाट प्रताडित महिलाहरुको अवस्था बुझ्न पाइन् । त्यो पाठ र समाजको यतार्थ समस्या उनले आवाज संस्थामा जोडिएपछि व्यवहारमा उतार्न पाइन् ।
स्कूलदेखि नै विद्रोही र अन्यायविरुद्ध बोलिहाल्ने ‘खत्रा केटी’को परिचय बनाएकी उनलाई आमा, बुवा, स्कुलका सर प्रेरणाका स्रोत हुन् । सबैभन्दा ठूलो प्रेरणा त उनले त्यतिबेला पाइन्, जतिबेला उनको आवाज समाजलाई उत्ताउलो लागेको थियो । उनीमाथि अनेक आरोप र लान्छना लगाएपछि उनले त्यतिबेला मन दुखाइन्, तर कठोर निर्णय लिइन् ।
रेडक्रस, सेभ द चिल्डे«न र आवाज संस्थामा काम गर्दा उनले ती शब्दवाणलाई प्रेरणाका रुपमा लिइन् । कर्णाली र लुम्बिनीलाई आधार बनाएर उनीहरुले सुरु गरेको आवाज आज देशकै एक प्रतिष्ठित संस्थाका रुपमा स्थापित छ । २०५६ सालदेखि बालबालिका र महिलाका क्षेत्रमा काम गर्दै आएको आवाज आजको समयमा महिलाहरुलाई उद्यमी, आर्थिक रुपमा आत्मनिर्भर बनाउन लागि परेको छ ।
जसको कूशल नेतृत्व पवित्राले गरेकै कारण आवाज संस्थाले चुनौतिपूर्ण र गौरवमय २५ औँ वार्षिकोत्सव मनाउन सफल भएको छ ।