नाम : नन्दा बस्याल
पेशा : खेलाडी तथा कलाकार
कर्णाली व्यक्तित्व नं. : २३
धेरै मानिसहरुमा धेरै गुण हुन्छन् । कोही एउटा गुण वा क्षमताले उनीहरुको जीवनको सवोत्कृष्ट सफलता र खुशी प्राप्त गर्छन् । तर केही यस्ता मानिसहरु हुन्छन्, जोसँग जति विविधता हुन्छ, त्यति धेरै क्षमता पनि । नन्दा बस्याल, यही श्रेणीमा पर्छिन् । जसले आफ्नो करियरको सुरुवात खेलकुद क्षेत्रबाट गरिन् ।
नेपालको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेकी उनले स्वर्ण पदक समेत जितिन् । तर उनलाई त्यतिले मात्रै विश्राम दिएन । उनी खेलकुद क्षेत्रबाट आर्जन गरेको प्रतिष्ठा र क्षमता कलाकारिता क्षेत्रमा समर्पित गरिन् ।
गीत गाइन् । अभिनय गरिन् । समाजसेवा गरिन् । विभिन्न संगठनमा रहेर राजनीतिक र सामाजिक काममा पनि सक्रिय बनिन् । म्युजिक भिडियोसमेत गरेर उनले थुप्रै छोटा तथा सामाजिक कथामा आधारित चलचित्रमा अभिनय पनि गरिन् । त्यति मात्रै होइन, उनले काठमाडौँमा संघर्ष गरिरहेका कलाकारहरुको सहजताका लागि नेतृत्वदायी भूमिका पनि निर्वाह गरेकी थिइन् । २०७३ सालमा गठित भेरी कलाकार समाजको संस्थापक अध्यक्ष बनेर धेरै कलाकारलाई काठमाडौँमा पहुँच र परिचय विस्तार गर्न सघाएकी थिइन ।
यसरी विविध क्षेत्रमा संघर्ष गर्दै उनी पुगिन, आफ्नै पहाडको चुचुरोमा । जहाँ अहिले उनी कला, गला र क्षमताले भरिपूर्ण नारीका रुपमा परिचित छन् । कर्णालीको मुटु सुर्खेत बजारबाट संघर्ष गरेर काठमाडौँमा लामो समय पसिना बगाउँदै उनले आजको नाम र परिचय बनाएकी हुन् ।

अहिले उनी खेल र कला क्षेत्रको नेतृत्व गर्दै सरकारी क्षेत्र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व तहमा छिन् । परिषद्को बोर्ड सदस्य भएर उनले थुप्रै पटक सुर्खेत–काठमाडौँ जोडेकी छन् । अनि देशका कुनाकाप्चामा खेलकुदका गतिविधिमा सहभागी भइरहेकी छन् । उनी नेपाल खेलकूद महासंघकी उपाध्यक्षसमेत हुन् ।
खेलकुदको नेतृत्वमा तहमा भएपनि उनले खेल्न छाडेकी छैनन् । खासगरी तेक्वान्दोमा उनी ब्ल्याक बेल्ट स्पेसियलिस्ट हुन् । पछिल्लोपटक उनले दक्षिण कोरियामा सम्पन्न तेक्वान्दोको सिनियर मास्टर विधामा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।
आजभन्दा चार दशक पहिले सुर्खेतको दलित घर परिवारमा जन्मेर पनि लामो संघर्ष गर्दै जीवन यात्रा तय गरेकी उनी नेपालकै एक प्रतिभाशाली महिला नेतृत्वका रुपमा परिचित छन् ।