नाम : सजना सुनार
पेशा : युवा अभियान्ता
कर्णाली व्यक्तित्व नं. : २६
कोरोना भाइरस । अर्थात २१ औँ शताब्दीमा सारा संसार ठप्प बनाइदिएको एउटा महामारी । अहिलेको आधुनिक समयमा महामारी कति कठोर र भयानक हुन्छ ? भन्ने कुरा राम्रोसँग ज्ञान दिने भाइरस पनि हो, कोरोना भाइरस अर्थात कोभिड १९ । जसले विज्ञान र प्रविधिको सहारामा बाँचिरहेको जेनजी पूस्तालाई महामारीबारे राम्ररी पाठ पढायो ।
कोरोना कालमा मान्छेमा यति धेरै डर थियो कि भाइरस संक्रमण भयो कि अब मरियो भन्ने त्रास थियो । जताततै त्रासले ठाउँ जमाएका बेला मानिसहरुको सोच र आत्मविश्वास नै कमजोर अवस्थामा थियो । जतिबेला सास फेर्न नपाएर वा अक्सिजन सहयोग नपाएर धेरैले तड्पी तड्पी ज्यान गुमाउनुपर्यो । सुरुवाती अवस्थामा कोरोना भाइरसको संक्रमणले पुरै आतंकित पारेको थियो ।
जब संक्रमण घर घर सर्न थाल्यो । अनि डरको दर बढेर सयौँबाट हजारौँमा पुग्यो । जतिबेला मानिसहरु सुरक्षित हुन क्वारेन्टाइन त जान्थे । तर फर्किन्छु भन्ने कुनै ग्यारेन्टी थिएन । कर्णालीको राजधानी सुर्खेत पनि त्यतिबेला लकडाउन भएर आक्रान्त थियो । त्यही बेला सजना हातमा माइक र साथमा केही साथी तथा साउण्ड सिस्टम बोकेर क्वारेन्टाइन धाउन थालिन् । जुन क्वारेन्टाइन पुगिन, त्यहाँ उनले चर्को स्वरमा म्युजिक बजाइन् । अनि संक्रमितहरुको आत्मविश्वास बढाउन आफैँले जीवन जिउने र आत्मविश्वास बलियो पार्ने उपाय बताउन थालिन । कतिलाई नचाइन् । कतिलाई जोक्स सुनाउँदै हसाइन् ।
सामाजिक दुरी राखेर उनले त्यसबेला जति क्वारेन्टाइनमा उनीहरुका कुरा सुन्दै हसाउने र चनाउने गरिन्, त्यसले राष्ट्रिय चर्चा र संक्रमितका लागि फोक्सोमा नयाँ अक्सिजन भर्ने काम गरिदियो । उनले त्यसबेला सुर्खेतका प्राय अधिकांश क्वारेन्टाइन पुगेर संक्रमितको हौसला तथा आत्मविश्वास बढाएर कोरोनासँगको लडाईमा अतुलनीय युवा जोश भरेकी थिइन् । जसको चर्चा र कभरेज स्थानीय तथा राष्ट्रिय मिडियादेखि अन्तर्राष्ट्रिय मिडिया बिबिसीसम्म पुगेको थियो ।

यसले सजनालाई कलिलै उमेरमा कर्णाली जगाउने जोश भर्न सहयोग पुग्यो । आखिर युवा भनेकै आश, भरोसा र कमजोर भएको बेला नयाँ उत्साह तथा जोश थप्ने क्षमतावान मानिसका रुपमा अथ्र्यान्छ । त्यही अर्थमा सजना कर्णालीका धेरै मानिसलाई संकट परेका बेला नयाँ जोश थपेर जगाउने अभियान्ताका रुपमा परिचित भएकी हुन् ।
पछिल्लो समय उनी कर्णालीका विभिन्न संघ संस्थामा काम गरिरहेकी छन् । खासगरी युवाको मानसिक सोच र सामाजिक अवस्थाअनुसार परिवर्तनका लागि सबैभन्दा पहिले आफैँलाई तयार पार्नुपर्ने आत्मविश्वास र क्षमता बढाउने परियोजनाहरुमा सजनाको सक्रियता छ ।
त्यसैगरी उनी आफ्ना प्रत्येक पाइलामा महसुस गरेका नयाँ विचार तथा काम गर्दा अनुभव पनि सेतोपाटी लगायतका अनलाइन पत्रिकामा युवा सोचले भरिपूर्ण लेख लेख्दै आएकी छन् । त्यसले पनि उनलाई कर्णालीकी जोशिला युवा अभियान्ताका रुपमा परिचित बनाएको छ । संकटमा कर्णाली जगाउने काम गरेकी सजना खेलकुद मन्त्रालयले दिने राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट पनि सम्मानित भइसकेकी छन् ।
सजना केटी जोगाउ, आत्मरक्षा अभियान कर्णाली प्रदेशकी संयोजकसमेत हुन् । सामाजिक युवा अभियान्ताको परिचय बनाएकी सजना अन्याय कहिल्यै नसहने र कोही कसैले खासगरी युवती तथा छोरीमाथि अन्याय गरेको देखेमा तुरुन्तै कदम चाल्ने आक्रामक स्वभावकी युवा हुन् । जसको जति छिटो जिब्रो चल्छ, त्यति नै छिटो सामाजिक रुपमा परिवर्तनका लागि कदम उठाइहाल्ने स्वभाव छ । यसले पनि सजना कर्णालीकी उम्दा सामाजिक युवा अभियान्ता हुन् ।