नाम : विमल डाँगी
क्षेत्र : लोक तथा दोहोरी गायन
कर्णाली व्यक्तित्व नं. : २७
लोकगित नेपालको राष्ट्रिय भाका मानिन्छ । अनि लोकगितलाई दोहोरीमा गाउने प्रचलन ल्याएपछि लोक तथा दोहोरी गीत सबैको जिब्रोमा झुण्डिने गीत बने । कर्णालीबाट लोक तथा दोहोरीमा पहिलो राष्ट्रिय गायकको परिचय बनाएका कलाकार हुन्, विमल डाँगी ।
डोल्पाबाट २०५७ सालमा काठमाडौँ पुगेका डाँगीको संघर्ष उच्च शिक्षा पढ्नका लागि सुरु भएको थियो । त्यतिबेला कर्णालीमा उत्कर्षमा पुगेको जनयुद्धबाट बच्नका लागि उनी उच्च शिक्षाका लागि काठमाडौँ हानिएका थिए ।
काठमाडौँमा संघर्ष गर्दै गीत रेकर्ड गराउन केही समय लाग्यो । ठूलो संघर्ष भयो । त्यतिबेला दैनिक हजारौँ गीत रेकर्ड हुन्थे । त्यसरी रेकर्ड भएका गीत क्यासेट र डिभीडीमार्फत गाउँ गाउँ पुग्थे । केही चल्थे । केही त्यत्तिकै क्यासेटमै थन्किन्थे । तर डाँगीले आफ्नो पहिलो गीत रेकर्ड गराउँदा नै राष्ट्रिय चर्चा तथा स्रोताको माया पाएँ ।
उनले गाएको ‘पानसमा बत्ती बालेको .....’ गीत दर्शक स्रोताको जिब्रोमा झुण्डिएको छ । पृथक स्वर र मौलिक लयमा गाउन सक्ने उनको यो गीतले उनलाई बजारमा चर्चित बनाएको थियो ।
त्यसपछि उनले अरु थुप्रै गीत पनि गाएँ । तर धेरै पछि ‘फापरको पिठो पठाइदेउ आमा....’ भन्ने गीत पनि धेरै चर्चित बनेको थियो । काठमाडौँ सहरको बसाईमा विद्यार्थी र जेनतेन संघर्ष गरिरहेकाहरुलाई महंगीले ढाड सेकाएपछि उनले यो गीत बजारमा ल्याएका थिएँ ।
यसले पनि धेरैको मन मुटमा विमल डाँगीलाई राख्न सफल भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपालीमाझ लोकप्रिय भएपछि उनले थुप्रै देशमा गएर नेपालीमाझ गाए र रमाए । यही क्रममा उनी कार्यक्रमकै २०६७ सालमा अमेरिकाको न्युयोर्क पुगे । जहाँ पुगेपछि उनको यात्रा राष्ट्रियबाट अन्तर्राष्ट्रिय बन्यो ।'

नेपालमा हुँदा नै दर्जन बढी चर्चित गीत बजारमा ल्याएका उनले अमेरिकामा पाइला टेकेको १२ वर्षसम्म त्यो संख्या तेब्बर बनाएका छन् । तर अहिले पनि उनी पहिलेकै गीतले चर्चित बनिरहेका छन् । अझ भनौँ, त्यसको ब्याज खाइरहेका छन् ।
धेरै कलाकारजस्तै डाँगी अहिले पनि अमेरिकाको चर्चित सहर न्युयोर्कमा आफ्नै घर किनेर बसेका छन् । पचासको दशकको अन्त्यतिर काठमाडौँ गएर गीत रेकर्ड गराएर चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक बनेका उनको पलायनले कर्णालीमा अझै पनि त्यो बेला नै शिखरमा पुगेको गायकको अभाव पूर्ति गर्न सकेको छैन ।
कर्णालीबाट चर्चित गायक अमेरिका पलायन हुँदा पनि उनले गीत संगीतलाई माया मारेका छैनन् । समय दिन नसकेर नयाँ नयाँ गीत ल्याउन नसकेपनि पुरानै गीतको रि–रेकर्ड तथा भिडियोहरु उनले बजारमा ल्याइरहेका छन् । जसले उनका गीतहरुलाई त जिवन्त तुल्याएको छ नै । दर्शक श्रोतामाझ पनि कर्णालीका त्यो बेलामा एक्ला सुपरहिट गायक आधुनिक प्रविधिमार्फत ‘अप टू डेट’ भइरहेका छन् ।
त्यो बेलाकै चर्चित तथा राष्ट्रिय गायकको परिचय बनाइसकेका डाँगीले अमेरिकाको कोलोराडोमा कर्णालीखबरसँगको संक्षिप्त भेटमा भनेका थिए, ‘एउटा सामान्य गाउँले केटो पढ्नका लागि भनेर काठमाडौँ गएको थियो । देशभरी लडाई चल्दा भाईलाई जोगाउन दाईहरुले सहर पठाएका थिए । तर रहरै रहरमा गीत संगीतमा लागियो । सुरुको बेलामा रेकर्ड गराएका केही गीत नै चर्चित भइदिएँ । दर्शक स्रोताले माया गरेर मनमा राखिदिए । त्यही मायाले मलाई सफलता दिलायो । देशभरी चर्चा दिलायो । विदेशमा कार्यक्रम गर्दागर्दै अमेरिका आउन सफल भइयो । अमेरिकामा फरक काम, फरक परिवेशमा पनि नेपालको एक समयको चर्चित गायकका रुपमा परिचय बनाइराखिएकै छ । त्यही खुशीको कुरा हो । आफू जन्मिएको कर्णालीबाट प्रतिनिधित्व गर्न पाउँदा त झन् गर्वले छाती चौँडा हुन्छ ।’
यो पनि पढ्नुहोस्ः
‘कर्णालीका १०० व्यक्तित्व’को पूरा सूचि सार्वजनिक
सपना देख्नेहरुको सूचि ‘कर्णाली १००’