नाम : तर्कबहादुर शाही
पेशा : होटल व्यवसायी
कर्णाली व्यक्तित्व नं : २९
स्कूल पढ्दादेखिको धेरैको सपना हुन्छ, डाक्टर, इन्जिनियर वा पाइलट बन्ने । तर सानो बेला भन्ने सपना हुन्छ, खास बन्ने वा करियर बनाउने आफ्नो रुचिअनुसार हो । तर्कबहादुर शाही एक यस्ता व्यवसायी हुन्, जो स्कुल पढ्ने बेलादेखि क्याम्पस पढ्ने बेलासम्म होटल व्यवसायी बनिसकेका थिए ।
सरकारी तथा गैरसरकारी संघ संस्थाको हब बनेको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शाहीले धेरैभन्दा धेरै संघ संस्थाका कार्यक्रमहरुलाई व्यवस्थापन गर्नका लागि एउटा नयाँ चुनौतिलाई अवसरमा परिणत गरे ।
दाई पदमबहादुर शाहीको छत्रछायामा हुर्केका शाहीले उनकै सिकोमा आफूलाई अब्बल होटल व्यवसायीका रुपमा उभ्याए । क्याम्पस पढ्ने बेलामा उनले सुर्खेतमा हुने विभिन्न कार्यक्रममा सहभागी पाहुना तथा सहभागीलाई खाना र बस्नको कुशल व्यवस्थापन गरेकै भरमा होटल व्यवसायीको जग बसाले ।
जुन कामले उनलाई एक जुझारु व्यवसायीका रुपमा होटल भ्याली भ्युको संस्थापक बनायो । राजतन्त्रदेखि गणतन्त्र र संघीयतासम्म उनले हजारौँ संघ संस्थाका कार्यक्रम आफ्नो होटलमा ल्याउन भ्याएँ । उनले कुशल व्यवस्थापन गर्न सकेकै कारण उनको पछाडि संघ संस्थाका प्रतिनिधि हुन्थे ।
उनीहरुकै आग्रहमा शाहीले भ्याली भ्यु होटललाई विभिन्न तालिम तथा गोष्ठी कार्यक्रमको हब नै बनाए । सुर्खेतमा धेरै होटल छन्, तर ब्राण्डका रुपमा भ्याली भ्यु अगाडि आयो । काठमाडौँबाट आउने पाहुना पनि पहिलो प्राथमिकता भ्याली भ्यु होटललाई दिएर आउँथे । सुर्खेत बजारको मुटुमा भएका कारण पनि धेरै पाहुनाको रोजाई भ्याली भ्यु होटल बन्यो ।
संघीयतापछि आम मानिसको सोच, जीवनशैली र पर्यटकीय चेत बढेपछि उनले भ्याली भ्यु होटललाई सुर्खेतको पर्यटकीय केन्द्र गोठीकाँडामा बिस्तार गरे । ‘स्टे भ्याली भ्यु’ रिसोर्टका रुपमा गोठीकाँडामा उनले स्थापना गरेको होटल अहिले धेरै पर्यटक तथा काठमाडौँका पाहुनाहरुको रोजाईमा छ ।

अनि कर्णालीका धेरै स्थानीय सरकार तथा संघ संस्थाका तालिम तथा गोष्ठी पनि अहिले बजारको होटलबाट सरेर सुर्खेतको नगरकोटका रुपमा परिचित गोठीकाँडामा सरेका छन् । जहाँबाट तालिम तथा गोष्ठीमा आएका प्रशिक्षक तथा सहभागिको सोच, शैली र फूर्सदिलो समय आनन्दमय बन्ने गरेको छ ।
अनि सुन्दर सुर्खेत उपत्यका नियाल्न स्टे भ्याली भ्यु होटल महत्वपूर्ण कोशेढुंगा साबित छ । आखिर युवा होटल व्यवसायीले सोच्ने भनेकै आधुनिक युवापुस्ता र उनीहरुको रोजाईअनुसारको सेवा हो । जुन सुर्खेतमै संघर्ष गरेर जमेका युवा होटल व्यवसायी तर्कबहादुर शाहीले पूरा गरिरहेका छन् ।
कर्णालीका होटल व्यवसायीको पक्षमा आवाज उठाउँदै आएका उनी होटल एशोसिएसन अफ नेपाल (हान) कर्णाली प्रदेशका अध्यक्षसमेत भइसकेका छन् । युवा उमेरमै होटल व्यवसायमा असिमित सम्भावना बोकेर क्षमता तिखारेका शाही सुर्खेतको हस्पिटालिटी क्षेत्रमा एक अब्बल नाम बनेको छ ।