नाम : हस्तबहादुर पुन
पद : मेयर, गुर्भाकोट नगरपालिका सुर्खेत
कर्णाली व्यक्तित्व नं. : ३०
वर्षौपछि भएको स्थानीय तहको चुनाव । त्यसमाथि संघीयता आएपछिको पहिलो स्थानीय सरकार । न कानून । न मार्गनिर्देशन । जे थियो, सबै गर्दै, हेर्दै, सिक्दै गर्नुपर्ने काम थियो ।
पहिलो कार्यकाल भएर पनि सुर्खेतको गुर्भाकोट नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाउने क्षमतावान र इमान्दार मेयर हुन्, हस्तबहादुर पुन । नगरपालिकाहरुको नमूनायोग्य कार्यसम्पादन तथा स्वमूल्यांकनका आधारमा गुर्भाकोट नगरपालिका देशकै तेस्रो उत्कृष्ट नगरपालिका बनेको हो । यो मूल्यांकन र उत्कृष्ट घोषणा अरुले होइन, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैँले गरेको हो ।
उत्कृष्टमध्ये पहिलो धादिङको निलकण्ठ नगरपालिका थियो भने दोस्रोमा स्याङ्जाको वालिङ नगरपालिका रह्दा सुर्खेतको गुर्भाकोट नगरपालिका तेस्रो बन्यो । मूल्यांकनलमा तेस्रो भएको गुर्भाकोट नगरपालिकाले ९३ दशमलव २५ प्रतिशत अंक प्राप्त गरेको थियो भने पहिलो हुनेले ९७ प्रतिशत र दोस्रो हुने नगरपालिकाले ९५ प्रतिशत अंक प्राप्त गरेका थिए ।
२०७८ सालमा मन्त्रालयले उत्कृष्ट नगरपालिका घोषणा गर्दा गुर्भाकोट तेस्रोमा परेपछि मेयर हस्तबहादुर पुनको चर्चा चुलिएको थियो । सरकारकै मूल्यांकनमा देशकै उत्कृष्ट तीन नगरपालिकामा पर्नु सानो उपलब्धी थिएन । त्यो सबै मेयर पुनको नेतृत्व, सबैसँग मिलेर काम गर्ने शैली र नागरिकको सेवामा इमान्दार भएर लागेको परिणाम थियो । जबकी उनी आफैँ प्राय मिडिया र पत्रकारबाट परै बस्ने सामान्य जीवनशैली रुचाउने व्यक्ति हुन् ।
कर्णालीमा गुर्भाकोट नगरपालिका पहिलो कार्यकालमा नै देशकै उत्कृष्ट नगरपालिका बन्ने एक मात्रै नगरपालिका हो । पहिलो कार्यकालमै आफ्नो नगरलाई देशकै उत्कृष्ट बनाएपछि मेयर पुन अहिले जनताकै रोजाई तथा चाहनामा दोस्रो कार्यकाल चलाइरहेका छन् ।

गाउँमै स्कुल पढेका पुनले नेपालगञ्ज र काठमाडौँबाट उच्च शिक्षा पूरा गरेका छन् । उच्च शिक्षा प्राप्त गरेपछि उनी सुर्खेत फर्केर गाउँकै सेवा तथा नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए । राजनीतिमा पनि इमान्दार काम गरेपछि उनलाई पार्टीले मेयरको चुनाव लड्न टिकट दिएको थियो । जसलाई न्याय गर्दै उनले पहिलो कार्यकालमै नगरपालिकालाई उत्कृष्ट बनाए । खासगरी गुर्भाकोटदेखि जिल्ला र केन्द्रसम्म सबैसँग सन्तुलित सम्बन्ध र अग्रगामी योजना बनाएर उनले गुर्भाकोटको विकास गरेका हुन् ।
उनको नगरमा उनले दिएको भनेकै नागरिकलाई सेवा हो । नागरिकलाई नगरपालिकाबाट दिइने सेवामा कुनै कन्जुस्याई नगरेका उनले कर्मचारीलाई पनि आफ्नो काममा उत्तरदायी बनाएका छन् । मेयर आफैँ इमान्दार र नागरिकको सेवामैत्री भावना बोकेर काममा लागेपछि सबैबाट साथ सहयोग पाएका छन् ।
सानैदेखि सामाजिक काम र समाजसेवामा मन लगाएका मेयर पुनले त्यसैलाई पेशा बनाएर अगाडि बढाउँदा पहिलो कार्यकालमा नै आफ्नो नगरपालिकालाई देशकै उत्कृष्ट बनाउन सफल भएका हुन् । आफ्नो प्रचार नचाहने उनी नयाँ नयाँ सिर्जनशील काम र सबैको साथ सहयोग लिएर सामूहिक रुपमा अघि बढ्दा मात्रै सफल हुन सकिने बताउँछन् ।
‘सानैदेखि समाजमा केही राम्रो काम गर्न सकौँ भन्ने थियो । पार्टीले विश्वास गरेपछि जनताले आफ्नैँ गाउँठाउँको मेयर बनाए । मेरा लागि त्यो सबैभन्दा ठूलो सम्मान हो’ कर्णालीखबरसँगको कुराकानीमा उनले भने, ‘त्यसका लागि सबैसँग मिलेर काम गर्नुपर्छ । एक्लै कहीँ पुग्न सकिन्न । तर सबै एकसाथ हिँडेपछि केही न केही उपलब्धी हात लाग्छ । मैले सबैसँग मिलेर काम गर्दा नै अहिले दोस्रो कार्यकालमा पनि गुर्भाकोटका जनताले मलाई जिम्मेवारी दिएका हुन् । नगरबासीको सेवामा सदैव लागिरहने प्रण गरेको छु ।’