नाम : पुष्प वादी
पद : मेयर, चौरजहारी नगरपालिका, रुकुम पश्चिम
कर्णाली व्यक्तित्व नं. : ३४
कर्णाली दलित समुदायको बाहुल्य रहेको प्रदेश हो । झण्डै ३० लाख दलित समुदायको बाहुल्यता रहेको कर्णाली प्रदेशमा वादी समुदायको पनि बसोबास छ । दलित समुदायभित्र पनि दलित समूदायकै विभेदमा परेका उनीहरु आम मानिसको तारो हुने गरेका छन् । सामाजिक बहिष्करण, जातीय विभेदको दुष्चक्रमा फसेको यो समुदाय प्राय नदी तथा खोला किनारमा गिट्टी कुट्दै गुजारा चलाउने गर्छ ।
सुरुमा सामाजिक बहिष्कारमा परेको यो समुदायमा शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकताबाट पनि धेरै टाढा हुने गरेको थियो । तर पछिल्लो समय भने उनीहरु शिक्षाको पहुँचमा छन् । तर स्वास्थ्य उपचार र जोखिमबाट भने धेरै टाढा छन् ।
आम नागरिक पनि एक शक्तिशाली शासक हुने सुन्दर व्यवस्था गणतन्त्र भएकै कारण वादी समुदायबाट धेरै दुःख संघर्ष गर्दै देशको व्यवस्था फेर्न जीवन समर्पण गरेका पुष्प वादी आज नेपालकै पहिलो मेयर बनेका छन् । खोला तथा नदी किनारमा गिट्टी कुट्ने र बाँकी समय सारंगी रेट्दै गीत गाएर मनोरञ्जन गर्ने वादी समुदायबाट संघर्षमा होमिएका पुष्प वादी नेपालकै पहिलो मेयर बनेर इतिहासमा आफ्नो नाम लेखाएका हुन् ।
कर्णालीमा जातीय विभेदको समस्या ज्युका त्यु रहेका बेला पुष्प वादीले जरैदेखि जातीय विभेद उन्मुलन गर्न सक्ने नेतृत्वको रुपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयरमा पदमा पुगेका हुन् ।
२०७९ सालको चुनावमा मेयर पदमा निर्वाचित भएका उनी माओवादी पृष्ठभूमिका नेता हुन् । केही समय पहिले रुकुम पश्चिमकै सोती गाउँमा भएको जातीय नरसंहारमा माओवादी केन्द्रका नेताहरुको प्रत्यक्ष संलग्नता पुष्टि भएको थियो । वडादेखि केन्द्रसम्म राजनीतिक पहुँच भएका स्थानीय कथित उपल्लो जातका मानिसहरुले जाजरकोटका नवराज विक लगायत ६ जना दलित समुदायका युवाहरुको कुटी कुटी हत्या गरेका थिए ।
असाध्यै क्रुर सोच भएका कथित उपल्लो जातीको बाहुल्यता रहेको क्षेत्रमा सीमान्तकृत समुदायका पुष्प वादीले परिवर्तनको संवाहक बनेको पार्टी कार्यकर्ताका नाताले स्थानीय तहको नेतृत्वमा पुगेका हुन् ।

तर उनको विगत र वर्तमान इतिहास मात्रै नभई आगामी कार्ययोजना, काम गर्ने क्षमता र नागरिकले चाहेको सेवा सुविधामा कति अग्रसर भएर काम गर्न सक्छन् रु त्यसैमा उनको नाम, नायकत्व र परिवर्तनको महसुस जनताले गर्लान । अन्यथा, इतिहास रच्न जति गाह्रो छ त्यो भन्दा बढी त्यसलाई टिकाएर नागरिकसामु निस्वार्थ नेतृत्वका रुपमा टिकिरहनु झन् चुनौति छ ।
एक मेयरका हैसियतले उनको दायित्व अझ धेरै छ । देशैभरी दलित समुदायमा पनि वादी समुदायको संख्या बढ्दो छ । तर राज्य र नागरिक तहबाट बहिष्करणमा परेको समुदायको उद्धार उनले कसरी गर्छन् ? त्यो एक महत्वपूर्ण प्रश्न उनको कार्यकालभरी हुनेछ । यो भन्दा बढी उनी दलित समुदायका भएपनि गैरदलित सबै नागरिकको सेवामा कटिबद्ध भएर जरैदेखि जातीय विभेद अन्त्य गर्ने उनकै पार्टीका अध्यक्ष प्रचण्डको भनाई व्यवहारिक रुपमा लागू गर्न कति सहज वा गाह्रो छ ? त्यो पनि उनकै कार्यशैलीमा निर्भर छ ।
किनकी उनको समुदायबाट स्थानीय सरकारको प्रमुख हुने अवसर उनलाई मिलेपनि अरुलाई नमिल्न सक्छ । किनकी सबैजना पार्टीका क्रियाशील कार्यकर्ता हुँदैनन् ? कार्यकर्ता नै भएपनि राजनीतिक गोटीका रुपमा मेयरको उम्मेद्वार र जनताको भोटले चुनाव जित्ने हैसियत नराख्न सक्छन् । त्यसैले उनी केवल मेयर मात्र होइन, दलित समुदायमा पनि सबैभन्दा धेरै बहिष्करणमा परेको वादी समुदायको उत्थान कसरी सम्भव छ भन्ने ? परिवर्तन र रुपान्तरणको रुपरेखा कोर्ने जिम्मेवारी उनकै काँधमा छ ।
त्यसमाथि कर्णाली यस्तो ठाउँ हो, जहाँ दलित समुदायमाथि सबै किसीमका अपराध क्षणभरमै हुन्छन् । चुल्हो छोइएको निहुँमा मारिनुपर्ने ठाउँमा अन्तरजातीय विवाह गर्न खोज्दा नवराज बिकहरुको कसरी हत्या भयो ? भन्ने कुराको हेक्का उनलाई हुनैपर्छ । यो दृष्टान्त उनका आँखा अगाडि हुँदाहुँदै इतिहास रचेका उनले आफ्नो कार्यशैली कति उत्कृष्ट बनाउँछन् ? त्यसमा सबैकुरा निर्भर छ ।