नाम : नरबहादुर कार्की
पेशा : मोटिभेस्नल स्पीकर तथा सामाजिक अभियान्ता
कर्णाली व्यक्तित्व नं. : ३५
मानिसहरु भन्छन्, बोल्न त जसले पनि सक्छ । तर धेरै तथ्य र अनुसन्धानले भन्छ, ‘जसले शब्दहरुको शक्तिमा बोली मिसाएर बोल्छ, उसले दूनियाँ परिवर्तन गरिदिन्छ ।’ हो, यही दूनियाँ परिवर्तन गराउन सक्ने प्रेरणा दिने व्यक्तिमा पर्छन्, नरबहादुर कार्की ।
जाजरकोट घर भएका कार्की मध्यमवर्गीय घरमा जन्मिएका हुन् । उनले आधारभूत शिक्षा मुश्किकले पाएका हुन् । तर पनि उनी संसारका शक्तिशाली ‘मोटिभेस्नल स्पीकर’मा पर्छन् ।
गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने अवसर पाएका कार्कीले विश्वका धेरै देशमा पुगेर काम गरेका छन् । जहाँ उनले काम गरे, त्यहाँ उनले सिके, सिकाउने तरिका पनि सिके । कसलाई कसरी सिकाउँदा त्यसको प्रभाव कसरी पर्छ भनेर पनि सिके । त्यही भएर उनी आज धेरैका लागि प्रेरणाका स्रोत बनेका छन् ।

संयुक्त राष्ट्रसंघीय संघ संस्थामा बसेर काम गरेका उनी जति राम्रोसँग बोल्न सक्छन्, त्यसलाई फरक तरिकाले आम मानिसलाई बुझाउन सक्छन् । उनले जसरी बुझाउँछन्, त्यसले मानिसहरुमा जीवन, जिउने, संघर्ष गर्ने र एक मानिसका रुपमा उत्कृष्ट व्यावहारिक भएर समय बिताउने कुरा उनले बोध गराउन सक्छन् । उनी हाल युनिसेफ अफ्रिकामा कार्यरत छन् ।
एक अमेरिकी मिडियाका अनुसार उनी संसारका प्रभावशाली प्रेरणादायक बोली बोल्ने व्यक्तिमा पर्छन् । जसलाई अंग्रेजीमा ‘मोटिभेस्नल स्पीकर’ भनिन्छ । उनी आफैँले संसारमा धेरै काम गरेका छैनन । जति गरेका छन्, त्यसलाई फरक तरिकाले बुझेका छन्, र आम मानिसलाई बुझाउने कुरामा पोख्त छन् ।
त्यसकारण पनि उनी संसारकै प्रभावशाली मोटिभेस्नल स्पीकरमा पर्छन् । यसबाहेक उनी सामाजिक अभियान्ता र रचनात्मक व्यक्तित्व हुन् । उनले केही वर्ष पहिले नायिका रेखा थापासँग मिलेर मालती चलचित्र निर्माण गरेका थिएँ ।
कर्णाली र काठमाडौँमा उनले पनि राम्रो परिचय र व्यक्तित्व बनाएका छन् ।