नाम : उपेन्द्र विश्वकर्मा
पद : उपप्राध्यापक, मध्यपश्चिम विश्वविद्यालय
कर्णाली व्यक्तित्व नं. : ३६
एक समय थियो, जहाँ दलित समुदायका बालबालिकालाई पढ्न, स्कुल जान बञ्चित गरिन्थ्यो । विभेदको सबैभन्दा ठूलो मारमा परेका दलित समुदायका बालबालिका सम्भवतः प्रजातन्त्रपछि मात्रै खुला रुपमा स्कुल जान पाए । त्यसअगाडि ब्राह्मण समुदायको अतिवादी धार्मिक प्रवृत्तिले स्कुल जान र पढलेखबाट बञ्चित रहेका थिए ।
तर त्यतिबेलादेखि नै पढाईका लागि संघर्ष गरेका दलित समुदायका व्यक्ति अहिले मध्यपश्चिम विश्वविद्यालय (एमयू)को उपप्राध्यापक छन् । उनी एमयूमा अहिले राजनीतिशास्त्रको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषय प्राध्यापन गराउँछन् । मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ लको विभागीय पूर्वप्रमुखका रुपमा उनले नेतृत्व गरेका थिए ।
कर्णालीको राजनीतिक, सामाजिक र कानुनी क्षेत्रमा राम्रो दखल राख्ने उपप्राध्यापक विश्वकर्माले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र कानून विषयमा स्नात्तकोत्तर गरेका छन् । कर्णालीमा लामो समयदेखि प्राध्यापन पेशामा रहेका विश्वकर्मा नेकपा माओवादीको जनयुद्धदेखि, लोकतन्त्र स्थापनाका लागि भएको १९ दिने जनआन्दोलन, गणतन्त्र स्थापना र संघीयताको कार्यान्वयनका प्रत्यक्षदर्शी हुन् । यसर्थ उनी समयको विभिन्न कालखण्डको सटिक टिप्पणी गर्न पनि रुचाउँछन् ।

यसले उनी नेपालको राजनीतिक र सामाजिक परिवर्तनलाई नजिकबाट नियाल्ने अवसरका रुपमा पनि लिन्छन् । प्राध्यापन पेशा केवल विद्यार्थीलाई पढाउने मात्रै होइन, सामाजिक रुपमा त्यसलाई आम रुपमा विश्लेषण गरेर वास्तविकता नागरिकसामु लैजाने भरपर्दो सञ्चारकर्ता पनि हो ।
२०३३ सालमा दैलेख हाँडकोटमा जन्मिएका विश्वकर्माले यसअघि हेल्भेटास र डिएनएफ संस्थामा अध्येता तथा सल्लाहकारका रुपमा काम गरिसकेका छन् । राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धको विशेष ज्ञान भएका विश्वकर्मा नेपाल भारतको खुला सिमाना, विदेश सम्बन्ध, मानवअधिकारका दृष्टिकोणमा दलित समुदायको समस्या र समाधानका लागि गर्न सकिने प्रयास तथा अन्तर्राष्ट्रिय राजनीतिका विषयमा पनि चाँसो राख्छन् ।
बेला बेला विभिन्न पत्रिकामा लेख लेख्ने उनी प्राय नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बाह्य राजनीतिका विषयमा टिप्पणी गरिरहेका हुन्छन् । बेला बेला सुर्खेत तथा काठमाडौँमा हुने विभिन्न कार्यक्रममा उनी विषयविज्ञ तथा वक्ताका रुपमा पनि बोलाइन्छन् । कर्णालीको समाजलाई समुन्नत समावेशी विकास गर्नका लागि आवश्यक आन्तरिक तथा बाह्य राजनीतिका विषयमा गर्नुपर्ने चिन्तन तथा छलफलका विषयमा उनको धारणा धेरै सुनिन्छ ।
यद्यपी, राजनीतिक र आर्थिक अवस्था अझै असन्तुलित तथा दिगो विकास भइनसकेकाले कर्णालीमा राजनीतिक चिन्तकको सोच, विचार र धारणालाई गहिरो रुपमा लिइँदैन् । तर उनी कर्णालीको समुन्नत समाज निर्माण तथा विकासका लागि आवश्यक राजनीतिक चिन्तनमा अग्रसर भइरहेका छन् ।