नाम : भद्र शर्मा
पेशा : पत्रकारिता
पद : संवाददाता, न्युयोर्क टाइम्स
कर्णाली व्यक्तित्व नं. : ३७
कर्णालीबाट औलामा गन्न सकिने केही व्यक्तित्व छन्, जसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्छन् । त्यसरी प्रतिनिधित्व गर्ने व्यक्ति जो कर्णालीमा जन्मे, हुर्केर लामो संघर्ष गरेका हुन् ।
र, कर्णाली मात्रै होइन सिंगो नेपालले त्यस्ता व्यक्तिमा सदैव गर्व गर्दछ । भद्र शर्मा एक त्यस्ता व्यक्ति हुन्, वर्तमान विश्वको सबैभन्दा शक्तिशाली, चर्चित र ख्यातिप्राप्त पत्रिका न्युयोर्क टाइम्स दैनिकमा नेपालबाट प्रतिनिधित्व गर्छन् । रुकुम पश्चिमको चौरजहारीमा जन्मे हुर्केर अमेरिकाबाट प्रकाशित न्युयोर्क टाइम्स दैनिकमा नेपालबाट दैनिक रिर्पोटिङ गरिरहेका शर्मा पेशाले नेपाली पत्रकारिताका एक चम्किला नक्षेत्र हुन् ।
खोज पत्रकारिता र गम्भीर प्रकृतिका घटनामा श्रृङ्खलाबद्ध रिर्पोटिङ गरिरहेका शर्मा लामो समयदेखि अन्तर्राष्ट्रिय मिडियामा नेपालबाट लेखिरहेका छन् । नेपालको राजनीति, समाज, आर्थिक र पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय चाँसो व्यक्त हुँदा शर्मा खोजी र भरासिला पात्रका रुपमा दरिन्छन् । जसले नेपालको वर्तमान अवस्था र आन्तरिक घटनालाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

उसो त शर्माकै पहलमा धेरै अन्तर्राष्ट्रिय पत्रकारहरुबाट कर्णाली प्रदेशको भ्रमण, प्रदेशभित्रका समस्या र त्यसको अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित गर्ने काममा पनि शर्मा अग्रपंक्तिमा छन् । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त व्यक्तिको कमी हुँदै गर्दा शर्मा एक त्यस्ता पात्र हुन्, जसले ठूलो अन्तर्राष्ट्रिय मिडियामा नेपालको प्रतिनिधित्व मात्रै गर्दैनन्, वास्तविकताको सविस्तार रुपमा चर्चा गर्छन् ।
हल्लै हल्लाले अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पुगेका बेला शर्मा त्यसको गहिराईमा पुगेरै वास्तविकताको खोजी गर्ने गर्छन् । त्यसैले पनि कर्णालीबाट अन्तर्राष्ट्रिय मिडियामा प्रतिनिधित्व गर्ने लगभग एक्ला पत्रकार हन्, शर्मा । जसको नाममा पनि कर्णाली सँदैव गर्व गर्दछ ।