नाम : अकबर खान
पेशा : सञ्चार र व्यवसाय
कर्णाली व्यक्तित्व नं. : ३८
एक व्यक्तिका अनेक परिचय हुन्छन् । ती अनेक परिचय भएका एक युवा व्यक्तित्व हुन्, अकबर खान । जो पेशाले कुनै बेला रेडियो कर्ममा थिएँ । रेडियो कर्ममा उनले लामो समय बिताउँदा केही समय कला क्षेत्रमा पनि सक्रिय रहे । रेडियो कर्म र कला कर्मबाट उनले मनग्य नाम कमाए । नामभन्दा बढी आत्मसन्तुष्टि पाएँ ।
त्यसपछि उनले केही समय युवाहरुलाई सचेतना फैलाउने काम पनि गरे । परदेशी लगायत केही फिल्ममा अभिनयसमेत गरे । केही सर्ट फिल्म पनि बनाए । रेडियो र टेलिभिजन जिंगल त कति कति ? तर ती सबै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बजे, गुञ्जिए ।
परदेशी फिल्ममा अभिनयसमेत गरेका अकबर सञ्चार कर्ममा रेडियो जागरण एफएमको म्यानेजरसमेत बने । जसले रेडियोकर्मीलाई प्रोत्साहन गर्नुका साथै युवा सशक्तिकरण कार्यक्रममार्फत धेरै युवालाई रेडियो पत्रकारिता तालिमसमेत प्रदान गरेर कतिलाई एफएम रेडियोमा ‘ब्रेक’ दिए ।
आज धेरै युवाहरु उनको रचनात्मक काम र पहलकै कारण पत्रकार तथा सञ्चारकर्मी छन् । युवाहरुलाई प्रेरणा दिनकै लागि उनले थुप्रै कार्यक्रमको सिर्जना गरेका थिए । एक समय कर्णालीमा गायन क्षमता भएका युवाहरुको खोजी तथा प्रोत्साहनका लागि जागरण आइडलका पनि निर्माता तथा संस्थापक हुन्, अकबर ।
भनिन्छ, नि कुनै पनि काम गर्नका लागि लगानीभन्दा बढी समर्पण र आत्मविश्वास चाहिन्छ । हो, त्यही आत्मविश्वास र समर्पणले गर्दा उनले थेरै सिर्जनात्मक कामको थालनी गरेका थिए ।

तर सँधै एउटै काम र कर्मले मात्रै मानिसहरुलाई बाँधिरहन सक्दैन । सायद, समयक्रमसँगै उनको पनि रुचि र रोजाई फेरिएको हुनुपर्छ, रेडियो तथा कलाकर्म चटक्कै छाँडेर व्यवसायमा होमिए ।
सुर्खेतमै उनले सानो तिनो व्यवसायबाट आफ्नो आर्थिक समृद्धिको जग बसाले । अहिले पनि उनी आफ्नो व्यवसायमै रमाएका छन् । उनले सञ्चारकर्म छाडेसँगै गायन क्षमता भएका युवाहरुको प्रतिभा जहाँको त्यही छ, यद्यपी नेपाल आइडल तथा भोइस अफ नेपाल जस्ता कार्यक्रमले केही प्रतिभालाई समेटेपनि त्यो कर्णालीको माटोबाट सम्भव देखिदैन ।
त्यसैले एक युवाको रचनात्मक कामले कति धेरै युवाहरुलाई प्रेरित गर्छ भन्ने एक उदाहरणीय युवा हुन्, अकबर खान । जसले रेडियो कर्मदेखि सञ्चार कर्म र सामाजिक काममा आफ्नो दिलोज्यान दिएर कर्णालीमा धेरै प्रतिभाहरुको उजागर गरेका छन् ।