नाम : युवराज शर्मा
पेशा : पत्रकारिता प्रशिक्षक र उपप्राध्यापक
कर्णाली व्यक्तित्व नंं. : ३९
संसारमा निकै कम मान्छे हुन्छन्, जो आफू बाचेर आफूँ मात्रै बाच्दैनन्, अरु धेरैलाई बाँच्न सिकाउँछन् । सम्झाउँछन् । सम्झनामा रहने गरि धेरैलाई सामाजिक कामका लागि उत्प्रेरणा दिन्छन् । तीमध्येका एक व्यक्ति हुन्, युवराज शर्मा ।
जसले जीवनको सुरुवाती युवा उमेरमा दरिएर पत्रकारिता गरे । सुर्खेतदेखि काठमाडौँका गल्लीहरुसम्म उनले रिर्पोटिङका लामा फेहरिस्त तयार पारे । तर उनको मन काठमाडौँको गल्लीमा रमाउन सकेन । आफैँ जन्मे हुर्केको भूमिमा फर्के । त्यतिबेला उनले सुरु गरेका थिए, युगआह्वान दैनिक ।
केही अग्रज व्यक्तिको सुझाव, सल्लाहमा उनले सुरु गरेको पत्रकारितमा सुरुमा सम्पादकीय नेतृत्व गरे । केही पछि उनले त्यसमा सम्पादकीय र प्रकाशकीय दुवै भूमिका निर्वाह गरे । तर त्यसमा पनि उनको चित्त बुझेन । उनलाई चित्त बुझ्ने काम सुरुदेखि गरिरहेका थिए, त्यो हो शिक्षण पेशा । मर्यादित शिक्षण पेशालाई यदि कसैले निरन्तरता दिइरहेको छ भने त्यो एक नाम हुन सक्छ, युवराज शर्मा ।
उनले पत्रकारिता पढेर बनेको पत्रकारकै परिचय बिर्सिदिए, सिर्जना र साहित्यमा रुचि राख्ने उनी गजलका पनि अम्मली हुन् । उनी आफैँले जति गजल लेखे, त्यो भन्दा बढी समकालीन गजलकारका पनि एक अग्रज व्यक्तित्वका रुपमा उनी क्रियाशील छन् ।
पत्रपत्रिकासँगै रेडियो पत्रकारिताका पनि अब्बल उनले साहित्य कार्यक्रम स्थापना गर्नुका साथै सञ्चालन गरेका छन् । रेडियो भेरी एफएम, जागरण एफएम लगायतमा पनि उनले थुप्रै कार्यक्रम चलाएका छन् ।

तर त्यसभन्दा बढी उनले पछिल्लो समय सुर्खेतमा उदाएका सयौँ पत्रकारहरुको उत्पादन श्रेय शर्मालाई जान्छ । जुनसूकै विषय पढेको विद्यार्थीलाई आफूले भेटेसम्म वा प्रशिक्षण दिएसम्म उनले पत्रकार बनाई छाड्छन् । प्रध्यापन र प्रशिक्षण भूमिकामा उनी जति अब्बल छन, आफ्ना विद्यार्थीको मनोभावना बुझेर त्यसलाई मार्गनिर्देशन गर्न पनि उनी उत्तिकै निपूर्ण छन् ।
सुरुमा पत्रकारिता, रेडियो पत्रकारिताको प्रशिक्षणमा लामो समय बिताएका शर्मा अहिले मध्यपश्चिम विश्वविद्यालयमा पत्रकारिता विभागको नेतृत्वमा छन् । उसो त कर्णाली प्रदेशमै उनले पत्रकारिता तथा आमसञ्चार विषयको स्नात्तकोत्तर तह पनि भित्र्याएका हुन् । जसले स्नात्तक पछि काठमाडौँ जानुपर्ने धेरै विद्यार्थीको बाध्यतालाई अन्त्य गरेर कर्णालीमै पत्रकारितमा स्नात्तकोत्तर गरेर दक्ष पत्रकार बन्न सकिने अवस्था पनि सिर्जना गरेका छन् ।
शर्मा कर्णालीको पत्रकारिताका विषयमा विद्यावारिधी पनि गर्दैछन् । उनी कर्णालीमा पत्रकारिताको उद्गम बिन्दुदेखि अहिलेको आधुनिक पत्रकारिताका विषयमा खोज तथा अध्ययन पनि गरिरहेका छन् । उनको सो खोज तथा अध्ययन पूरा भएमा सम्भवतः कर्णालीको पत्रकारितामा एउटा महत्वपूर्ण ऐतिहासिक दस्तावेज थपिनेछ ।