नाम : गोविन्दबहादुर सिंह
पेशा : प्रकृति संरक्षक
कर्णाली व्यक्तित्व नं. : ४१
अहिलेको जमानामा तपाईंले सरकारी जागिर पाउनुभयो । अर्थात आफ्नो जीवनको लक्ष्य नै सरकारी जागिर बनाएर समाजमा स्थापित भएर बाच्नुभयो भने तपाई के गर्नुहुन्छ ?
सरकारी तलब आफ्नो छोराछोरी पढाउन अनि आफ्नो जीवन चलाउन खर्चिनुहुन्छ होला । त्यो भन्दा बढी तपाई अलि अलि पैँसा बचत गर्नुहुन्छ, आफ्नो जीवनका आवश्यकता बिस्तारै पूरा गर्नुहुन्छ होला ।
अनि अलिकति पैँसा कमाउनुभयो भने भोलिका सन्ततीका लागि सहरबजारमा घर घडेरी मात्रै होइन, आफ्नै गाउँको घर पनि ठूलो बनाउनुहुन्छ होला । तर जाजरकोटको बारेकोट गाउँपालिकामा कार्यरत सरकारी जागिरे गोविन्द सिंह अपवाद हुन् ।
जसलाई भोलिका लागि आप्mना सन्ततिको चिन्ता छैन । चिन्ता छ त केवल यो प्रकृति र कर्णाली र जाजरकोटको छ । जहाँ असङ्ख्य लोपोन्मुख वन्जयन्तु, चराचुरुंगी र जडिबुटी तथा वनस्पति छन् ।
बारेकोट गाउँपालिकामा भेटेनरी अधिकृतका रुपमा कार्यरत उनी एक समय बाध्यता आइलागेपछि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए । तर गाउँपालिकाको हाकिम भएर काम गर्दा बन्धक भएको महसुस गरेपछि गाउँपालिका अध्यक्षसँग अर्को हाकिम ल्याउन आग्रह गर्दै उनी बारेकोटका वनजंगल र पाटनतिर लागे ।
जहाँ उनले अहिलेसम्मद र्जनौँ चराहरुको फोटो खिचेका छन् । जुन लोपोन्मुख छन् । लोपोन्मुख रेडपाण्डा, झारलको संरक्षणका लागि जनचेतना फैलाइरहेका छन् । अनि बारेकोटमै उनले नेपालबाट लोप भइसकेको भनिएको स्तनधारी जनावर ओत भेटाएर नेपालमा उसको अस्तित्व जिवित रहेको प्रमणित गरेका छन् ।

सरकारी सेवाबापत आफूले पाएको तलबको आधा हिस्सा उनी अहिले पनि वन जंगलका लोपोन्मुख चराचुरुंगी, वन्यजन्तुको फोटो खिचेर संरक्षण र प्रचारप्रसार गर्न लगानी गरिरहेका छन् । उनी विरलै भेटिने चरा, सर्प मात्रै होइन, जाजरकोटमा पाइने रेडपाण्डा, भालु, मृगदेखि झारल तथा घोरलसम्मको संरक्षणमा लागि परेका छन् । वन्यजन्तु, पंन्क्षी र वनस्पतिको फोटो खिच्दै हिड्ने उनी पाटन, पर्वत र घरदेखि पहरासम्मको यात्रा गरिरहन्छन् ।
जाजरकोट बारेकोटका स्थायी बासिन्दा सिंह वन्यजन्तु तथा चराचुरुंगी बिरामी भएमा घरमै ल्याएर औषधि उपचार गरेर पुरानै वासस्थानमा फर्काउँछन् । प्रकृतिको मायाले मात्रै होइन, प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण कर्णालीको अस्तित्व जोगाउने वर्तमान समयका सबैभन्दा ठूला नायक हुन्, गोविन्द सिंह ।
जसलाई कुनै धन, सम्पति, र सन्ततिको माया मोह छैन । केवल वन जंगल, चराचुरुंगी र वन्यजन्तुको पारिस्थितक पद्धतिलाई सन्तुलनमा राखिरहने चुनौति पूर्ण जिम्मेवारीका साथ पूरा गर्नुपर्ने दायित्व छ ।
प्रकृतिका साथी नामक संस्थाबाट संरक्षण पुरस्कार (२०२३), बर्ड लाइफ इन्टरनेसनल बाट बर्ड नेचर हिरो पुरस्कार (२०२४), बाट सम्मानित भएका भइसकेका छन् । पछिल्लो समय कर्णालीका एक मात्रै संरक्षणकर्मीका रुपमा चरा समाज नेपाल र डब्लुडब्लुएफ अवार्ड पुरस्कारबाट सम्मानित भइसकेका उनी कर्णालीको पर्यावरण संरक्षणका नायकका रुपमा हामीले कर्णालीखबरको स्थापना विशेष अवसरमा कर्णालीका १०० व्यक्तित्वको सूचिमा समेटेका छौँ ।