नाम : चिन्तामणि शर्मा
पेशा : होटल तथा पर्यटन व्यवसाय
कर्णाली व्यक्तित्व नं. : ४२
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुँदा तत्कालीन समयका क्षेत्रीय सहरहरुमा एक किसीमको उत्साह भएपनि अन्यौलता थियो । केन्द्रीय राज्यसत्ताकै भरमा स्थानीय र क्षेत्रीय विकास भइरहेका बेला संघीयता कस्तो हुने र यसले क्षेत्रीय तथा स्थानीय विकासमा कसरी महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने अन्यौलता थियो ।
त्यसमध्येको महत्वपूर्ण कुरा नेपालको पर्यटनमा राज्यको नजर काठमाडौँसहित पोखरा र चितवनमा मात्रै केन्द्रित थियो । कहिलेकाँही ठूलो अभियान र अन्तर्राष्ट्रिय चर्चा भएको खण्डमा सगरमाथा र लुम्बिनीसम्म नजर राखेपनि जुनसूकै मन्त्री र सरकार आउँदा पर्यटन काठमाडौँ, पोखरा र चितवन वरीपरी मात्रै घुमिरहेको थियो ।
यस्तो बेलामा त्यतिबेला पनि कर्णालीको राजधानी मानिने सुर्खेतमा चिन्तामणि शर्माले पर्यटन प्रवद्र्धनका अभियानहरु सुरुवात गरेका थिए । सत्तरीको दशकमा उनले सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, देउतीबज्यैका साथै घण्टाघरको व्यवस्थित गुरुयोजनाका निर्माण तथा कार्यान्वयनका लागि पटक पटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका थिए ।
सुर्खेत पर्यटन मञ्च संस्था नै गठन गरेर उनले कर्णालीको पर्यटनमा थोरै भएपनि महत्वपूर्ण कदमहरु अघि बढाएका थिए । अलपत्र घण्टाघरलाई सार्वजनिक निजी साझेदारी अन्तर्गत पीपीपी मोडलमा आफैँले सञ्चालन तथा व्यवस्थित गरेर सुरु गरेका उनले तत्कालीन समयमा मध्यपश्चिमाञ्चल महोत्सवको प्रथम राष्ट्रपति डा।रामवरण यावदबाट उद्घाटन गरेका थिए ।
त्यसपछि उनले सुर्खेतबाटै रारा र शे–फोक्सुन्डो तालको भ्रमणका लागि महोत्सवस्थलमा हेलिकोप्टरको व्यवस्थापन गरेका थिए । जसले गर्दा रारा र फोक्सुन्डो ताल भ्रमणका लागि एक नयाँ अवसर तथा योजना ल्याएका थिए । त्यसबाहेक उनले कर्णालीका पर्यटकीय क्षेत्रहरुको भ्रमण तथा व्यवस्थापनका लागि पटक पटक नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ तथा पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । यसका लागि उनी कैयौँपटक डेलिगेसन लिएर काठमाडौँ पुगेका छन् ।

कर्णालीको पर्यटन विकासका लागि उनले आर्थिक तथा पर्यटकीय रुपमा थुप्रै योजना सञ्चालन गरेका थिए । सुर्खेतको वीरेन्द्रनगरमा होटल अशोका सञ्चालन गरेर पर्यटककै सेवामा रहेका उनी कर्णालीको पर्यटन विकासका लागि निरन्तर सक्रिय व्यक्तित्व हुन् ।
पछिल्लो समय सुर्खेतमै अशोका अर्गानिक होटल समेत सञ्चालन गरेका उनी कर्णालीमा गुणस्तरीय पर्यटकको आगमन र आकर्षणका लागि योजनाबद्ध रुपमा सक्रिय भइरहेका छन् । यसर्थ कर्णालीको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासको कुरा गर्दा छुट्नै नहुने नाम अर्थात कर्णाली पर्यटनको पर्यायका रुपमा चिन्तामणि शर्मा परिचित छन् । जो केही न केही गरिहालौँ भन्ने हुटहुटी पालेका व्यवसायी हुन् ।
समाजका जल्दाबल्दा घटनामा तिखो टिप्पणी गर्ने टिप्पणीकारका रुपमा आफूलाई परिचित बनाएका उनले सुर्खेत वीरेन्द्रनगरमा व्यवसायीका साथै केही नयाँ सुरुवातका लागि पहलकदमी लिने सरोकारवाला भूमिकामा पनि शर्मा सक्रिय छन् ।