नाम : देवराज जैसी
पेशा : पर्यटन व्यवसाय
कर्णाली व्यक्तित्व नं. : ४४
नेपाल विकासोन्मुख देशबाट विकासशील देशका रुपमा रुपान्तरण भइरहेको छ । जसरी नेपालले एउटा परिचयबाट अर्को परिचय पाउँदै गएको छ, त्यसरी नेपालीको मुख्य रोजाईको पेशा कृषिबाट पर्यटनतिर पनि आकर्षण बढ्दो छ ।
जसरी गाउँ गाउँमा परम्परागत कृषि प्रणाली आधुनिक व्यवसाय बन्दै गएको छ, त्यसैगरि ग्रामीण क्षेत्रको सुन्दरता र विशेषतालाई आयआर्जनको बाटो बनाएर पर्यटन क्षेत्रमा पनि आकर्षण र आम्दानीको दायरा फराकिलो बन्दै गएको छ ।
ग्रामीण पत्रकारिताबाट नाम कमाएका देवराज जैसी पछिल्लो समयका उदाउँदा पर्यटन व्यवसायी हुन् । भेरी र कर्णालीको संगमस्थल दोभान तथा कर्णाली चिसापानीलाई केन्द्रित गरेर पर्यटन प्रवद्र्धनका साथै व्यवसाय गरिरहेका जैसी ग्रामीण कृषि र पर्यटनका एक नमूना व्यक्तित्व हुन् ।
नेपालको सबैभन्दा लामो नदी कर्णालीमा कहिलेकाँही हुने ¥याफ्टिङ व्यवसायलाई दैनिक रुपमा सञ्चालन गरिरहेका उनले पछिल्लो समय सुर्खेतको जामु, कुइने, घाटगाउँदेखि कैलालीको चिसापानीलाई पर्यटकीय हबका रुपमा परिचय दिन लागि परेका छन् ।

कर्णाली चिसापानीमा उनको व्यवसाय दैनिक रुपमा चलिरहेको भएपनि सुरुका दिनमा विकट मानिने जामु, कुइने, घाटगाउँ लगायतका क्षेत्रमा पनि उनको अहिले ¥याफ्टिङ व्यवसाय फस्टाउँदो छ ।
माओवादी जनयुद्धपछि स्वर्णिम नेपाल साप्ताहिक पत्रिका चलाएर उनले ग्रामीण पत्रकारिताको सुरुवात गरेका थिए । लामो समय ग्रामीण पत्रकारिता गरेका उनी केही समय कैलालीको फूलबारी एफएम र मालिका एफएममा पनि कार्यरत रहे ।
पछिल्लो समय पर्यटन क्षेत्रमा सक्रिय भएर पश्चिम सुर्खेतको एक्सप्लोर गरिरहेका उनी ग्रामीण पर्यटनको परम्परागत मान्यता र लोक संस्कृतिसँगै उपलब्ध स्रोत साधनमार्फत आम्दानीको दायरा फराकिलो बनाउन लागि परेका सिर्जनशील व्यवसायी हुन् ।