नाम : दीपबहादुर शाही
पेशा : व्यापार तथा व्यवसाय
कर्णाली व्यक्तित्व नं. : ४५
भेडापालन कर्णालीका किसानको रोजाईको पेशा हो । कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पाका किसानले माथिल्लो भेगमा भेडापालन गर्दै आएका छन् । भेडापालनबाट आर्थिक आम्दानी गर्ने उद्धेश्यका साथै उनीहरुले भेडाको ऊन उत्पादन गरेर सहर बजार पठाउँदै आएका छन् ।
तर कर्णालीका माथिल्लो भेगमा पालिने भेडाको ऊनबाट गुणस्तरीय कपडा बनाउँदै अन्तर्राष्ट्रिय बजारमा खपत गर्दै आएका छन्, व्यापारी दीपबहादुर शाही । पञ्चायतकालदेखि नै काठमाडौँमा चर्खा कारखाना सञ्चालन गरेर कर्णालीसँगै न्युजिल्याण्डबाट आयातित ऊनबाट उत्पादित महंगा कपडा शाहीले विदेश निर्यात गरिरहेका हुन् ।
मुगुमा जन्मिएका शाही सानैमा आमाबुवाको काठमाडौँ बसाईसराईका कारण उतै हुर्किए । शिक्षादिक्षा पनि उनले काठमाडौँमै गरे । तर व्यवसायका क्रममा उनले कर्णालीको भेडाको ऊनमा विशेष गुणस्तर र विदेशी व्यापारी तथा विज्ञहरुले त्यसको पुष्टि गरेपछि उनले ‘गोर्खा ट्वीड’ नामको कम्पनी र ब्राण्ड स्थापना गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिरहेका हुन् ।
काठमाडौँको लाजिम्पाटस्थित त्रिसरा भवनमा शोरुम नै खोलेर उनले कर्णालीको भेडाको ऊनबाट निर्मित गुणस्तरीय कोट, ज्याकेट लगायत महंगा कपडाहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएका हुन् । नेपाल आएका धेरै पर्यटक र विदेशमा पनि गुणस्तरीय कपडा खोज्ने ग्राहकको माग उनले पूरा गर्दै आइरहेका छन् ।

उनले भेडाको ऊनबाट बनेको महंगा ज्याकेट, बख्खु लगायत नेपालका भीआइपी र विदेशी पाहुनालाई पनि बेचेका छन् । कतिपयलाई भने उनले उपहार दिएका छन् । विदेशी पाहुनाहरु पनि महंगो अर्गानिक उपहार लिनु वा दिनु परे व्यापारी शाहीलाई सम्झिने गरेका छन् ।
आर्थिक समृद्धिका रुपमा कृषि तथा पशुपालनका रुपमा भेडापालन व्यवसाय फस्टाउनुका साथै त्यसबाट उत्पादित ऊनका विभिन्न उत्पादन विश्व बजारमा पुर्याउन कर्णालीबासीका लागि सुखद संयोग र सफलताका सुचक हुन् ।
तर यसका लागि निजी क्षेत्रसँगै सरकारी तववरबाट पनि आवश्यक लगानी र थप विस्तृत योजनाको आवश्यकता छ । तर शाहीले काठमाडौ बसेर जसरी कर्णालीको सम्भावना र कृषि व्यवसायलाई अन्तर्राष्ट्रियकरण गर्न जसरी महत्वपूर्ण भूमिका खेलेका छन्, त्यसले अन्तर्राष्ट्रिय बजारमा कर्णालीको अर्गानिक उत्पादन बजारीकरण गर्ने ढोका भने खोलेको छ ।