नाम : दिनेश खड्का
पेशा : व्यवसाय
कर्णाली व्यक्तित्व नं. : ४६
जुम्लाको स्याऊ कर्णालीको अर्गानिक कृषिको विशेष परिचय हो । भौगोलिक बनावटका रुपमा जुम्ला विकट सुनिएपनि उत्पादन र इतिहासका हिसाबले अमूल्य छ । विश्वकै सबैभन्दा अग्लो ठाउँमा उत्पादन हुने मार्सी चामलदेखि जुम्लाको स्याऊ प्रख्यात छ । बजारीकरणका लागि यसबारेमा धेरै बहस, छलफल र चिन्तन गरिन्छ ।
तर जुम्लाको स्याऊ बजारमा लिएर ग्राहकको घर घरमा पुर्याउनका लागि बहस र छलफल होइन, जुम्लाबाट झोलामा बोकेर काठमाडौँबासीलाई अर्गानिक स्याऊ खुवाउने स्कुले केटो थिए, जुम्लाका दिनेश खड्का । अहिले उनी परिपक्व छन् । काठमाडौँको व्यस्त सहरमा आफ्नै व्यवसाय बढाइरहेका छन् । तर एक समय यस्तो थियो, यार्सागुम्बा बेचेर आएको पैँसाले काठमाडौँमा पढ्न लाग्दा खर्च अभाव भएपछि जुम्लाकै स्याऊ बेच्ने आइडिया उनले फुराएका थिए ।
अनि जुम्ला गएको बेला झोला र बोरामा स्याऊ लिएर काठमाडौँ फर्किन्थे । अनि समय मिलेको बेला बानेश्वर, बल्खु, कलंकी र कोटेश्वर चोकमा ‘जुम्लाको अर्गानिक स्याऊ’ भन्दै बेचेका छन् । अहिले जुम्लाको स्याऊ कार्टुनमा आउँछ । प्रशोधन भएर मात्रे बजार जान्छ । तर आजभन्दा १५ वर्ष पहिले दिनेशले आफ्नै बारीको स्याऊ टिपेर झोला तथा बोरामा हालेर काठमाडौँका चोक चोकमा लिएर बेचेका छन् ।
त्यही कामले उनलाई व्यवसायी बनायो । त्यसरी चोकमा बेच्दा केही स्याऊ बिक्री भयो । केही बिक्री भएन । अनि त्यो समस्या लिएर काठमाडौँका एफएम रेडियोहरुमा पुग्थे । आफ्नो गुनासो पोख्थे । समस्या भन्दा जुम्लाको अर्गानिक स्याऊको महत्व बुझाइदिन आग्रह गर्थे । यसरी संघर्ष गर्दै सानैदेखि काठमाडौँमा जुम्लाको अर्गानिक स्याऊका ‘ब्राण्ड एम्बास्डर’ भएर दिनेशले देशको राजधानीमा युवा व्यवसायीका रुपमा परिचय बनाएका हुन् ।

चीन र भारतबाट आउने रसायनयुक्त स्याऊको विकल्पमा केही तर निरन्तर जुम्लाको स्याऊ बेचिरहेका दिनेश पछिल्लो समय संघर्षपूर्ण तर आफ्नै अन्य व्यापारमा सक्रिय छन् । उनलाई अहिले पनि नाम दिइरहेको पेशा र प्यासन हो, जुम्ली स्याऊको बिक्री वितरण ।
उनले जुम्लाबाट बोकेर धेरैपटक काठमाडौँमा स्याऊ बेचेका छन् । पछिल्लो समय ट्रक र हवाईजहाजबाट पनि नेपालगञ्ज तथा सुर्खेत हुँदै स्याऊ काठमाडौँ पु¥याइने गरिएको छ । सुरुमा फूटपाथ र तरकारी बजार तथा कालिमाटीमा स्याऊ बेचेका दिनेशले सत्तरीको दशकमा काठमाडौँको मीनभवन नजिक गोदाम लिएर बानेश्वरमा सटर खोलेर स्याऊ बेचेका थिए ।
पछिल्लो समय जुम्लाको स्याऊ बेच्ने धेरै व्यापारी छन् । धेरै युवाहरु जुम्लाको स्याऊ व्यवसायमा लागेका छन् । तर जुम्लाको स्याऊ बेच्न सुर्खेतमा बेच्न हम्मेहम्मे भएका बेला दिनेश काठमाडौँमा जुम्लाको स्याऊको ब्राण्डिङ गर्दै बिक्री वितरण गरिरहेका थिए ।
असीको दशकमा दिनेशले आफ्नो व्यापार व्यवसाय धेरै फैलाएका छन् । तर जुम्लाको स्याऊ बेच्दाको संघर्ष र थोरै भएपनि सफलता उनले काठमाडौँका मिडियालाई पनि सुनाएका छन् ।
जुम्लाको स्याऊ फलेकोदेखि गलेकोसम्म समाचार सुनिने मिडियामा दिनेशले जुम्लाको स्याऊको बजार प्रवद्र्धन र मिडिया पब्लिसिटीमा पनि उत्तिकै सक्रियता देखाएका छन् । जसले जुम्लाको स्याऊलाई आजको विश्व बजार ब्राण्डिङमा आफ्नो सानै भएपनि अमूल्य योगदान दिएका छन् ।
अहिले जुम्लाको स्याउ करोडौँमा बिक्छ । बोटमा फल्ने बित्तिकै बिक्रीका लागि ठेक्का लाग्छ । तर त्यो समयदेखि जुम्लको स्याऊ बिक्री गरेर बजारमा प्रवर्द्धनमा लागेका खड्का धेरै युवा व्यवसायीका लागि प्रेरणाका पात्र हुन् ।