नाम : मोहनमाया ढकाल
पेशा : राजनीति
पद : पहिलो महिला मेयर, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
कर्णाली व्यक्तित्व नं. : ४८
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । संघीयतापछि कर्णालीका जनताको रगतकै बलिदानबाट स्थापित प्रदेश र राजधानी वीरेन्द्रनगर पञ्चायतदेखि नै तत्कालीन मध्यपश्चिमाञ्चलको पनि क्षेत्रीय सदरमुकाम हो । अर्थात वीरेन्द्रनगर कर्णालीको मुटु हो । त्यही मुटुमा अहिले सुर्खेतकै पहिलो महिला मेयरको शासन छ ।
नेपालको राजधानी काठमाडौँजस्तै अवसरहरु पछयाउन र इतिहास निर्माण गर्न लामो त्याग, तपस्या र बलिदानको खाँचो पर्छ । जुन कर्णालीको राजधानी वीरेन्द्रनगरमा पनि त्यही अवस्था छ । कर्णालीका विभिन्न जिल्ला र गाउँ ठाउँबाट सुर्खेत झरेकाहरुलाई आफ्नो परिचय बनाउन र कर्णालीकै मुटुमा रहेका राजनीतिक, प्रशासनिक र सामाजिक कामको नेतृत्व गर्न वर्षौ लाग्छ ।
कर्णालीको राजनीतिमा उदाएकी मोहनमाया ढकाल पनि लामो त्याग, तपस्या, योगदान र संघर्षपछि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरकी पहिलो मेयरका रुपमा इतिहास रच्न सफल महिला हुन् । संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचन जितेर उपमेयर भएकी उनी त्यसपछि दोस्रो निर्वाचनमा प्रतिष्पर्धी कांग्रेसका उपेन्द्र खड्कालाई हराएर सुर्खेतको पहिलो मेयर बनेकी हुन् ।
उनी वीरेन्द्रनगर मात्रै नभई सुर्खेतका ९ वटै स्थानीय तहमा पहिलो महिला मेयरका रुपमा इतिहास बनाउन सफल राजनीतिक नेतृत्व हुन् । युवा अवस्थामै वीरेन्द्रनगरको उपमेयर र मेयरका रुपमा नेतृत्वदायी महिलाका रुपमा इतिहास रच्न सफल ढकाल एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा होमिएकी हुन् । अनेरास्व
वियु हुँदै एमालेको महिला विभागमा सक्रिय रहँदै उनी केन्द्रीय नेताहरुको विश्वास जितेर पहिलोपटक मेयरको लडाईमा होमिएकी थिइन् ।
उपमेयर हुँदा आंशिक रुपमा सफलता र वृह्त परिचय बनाएकी उनले मेयरको पदमा चुनाव लड्दा राजनीतिक लडाईको फाइदा उठाउँदै सुर्खेतको पहिलो महिला मेयरका रुपमा परिचय बनाइन् । उनले वीरेन्द्रनगरको मेयरमा निर्वाचित भएपछि केही नयाँ कामको सुरुवात गरेकी छन् । जहाँ महिला, बालबालिका र कर्णालीका छोरीहरुलाई केन्द्रविन्दुमा राखेर काम भइरहेको छ ।
उनी आएपछि सुर्खेतको बुलबुले तालले नयाँ जीवन पाएको छ । घण्टाघर परिसर रंगीन भएको छ । केही अघिसम्म घण्टाघरको टुप्पो चढ्नैपर्ने बाध्यता तोडेर अहिले घण्टाघर पुग्नु पनि सुर्खेतको पर्यटकीय गन्तव्यमा हराउनुजस्तै भएको छ ।
वीरेन्दैनगरको पहिलो महिला मेयरका रुपमा उनले इतिहास बनाउँदै गर्दा कम्तीमा सुर्खेत सदरमुकाम वीरेन्द्रनगर सबै मान्छेका लागि सुरक्षित र व्यवस्थित सहर बनोस् भन्ने कर्णालीबासीको चाहना छ । त्यो चाहना र आवश्यकता मेयर ढकालको पनि हो । तर यसका लागि गर्नुपर्ने काम, त्याग देखाउनुपर्ने समय र वर्तमान मात्रै होइन, भविष्य सोचेर दीर्घकालीन योजना तथा कार्यक्रम अघि बढाउने जिम्मेवारी उनकै काँधमा छ ।