नाम : डा.गोविन्द नेपाली
पेशा : अध्येता तथा संस्कृति संरक्षक
कर्णाली व्यक्तित्व नं. : ४८
देशमा गणतन्त्र, संघीयता र नयाँ संविधान लागू भएपनि कर्णालीका कैयौँ वर्तमान अहिले पनि परापूर्वकालकै निरन्तरता छन् । त्यसमध्येको एउटा महत्वपूर्ण पाटो हो, शिक्षा । अभाव र गरिबीले गाँजेको कर्णालीमा अहिले पनि दलित समुदायका बालबालिकालाई शिक्षाको उज्यालो ज्योति छर्न मुश्किल छ ।
बाल शिक्षा र विद्यालय शिक्षा मुश्किलले पूरा गरेपछि उच्च शिक्षा हासिल गर्ने दलित समुदायका बालबालिका र विद्यार्थी कमै छन् । ‘ड्रपआउट’ समस्या भयावह भएको कर्णालीमा उच्च शिक्षा र विश्वविद्यालय तहमा नेतृत्व गर्ने जेहेन्दार विद्यार्थीको संख्या धेरै पातलो छ ।
यही पातलो संख्याबाट उदाएर दलित समुदायबाट पीएचडी गर्ने पहिलो व्यक्तिका रुपमा गोविन्द नेपाली चिनिएका छन् । जुम्लामा जन्मेर लामो समय संघर्ष गर्दै हुर्किएका गोविन्द अहिले काठमाडौँको रैथाने हुन् । काठमाडौँमै बसेर लामो समय संघर्ष गर्दै उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् ।
शिक्षाविद् डा.विद्यानाथ कोइरालाको छत्रछायामा बसेर उनले कर्णालीबाटै दलित समुदायको प्रतिनिधित्व गर्दै पहिलो विद्यावारिधि गर्ने व्यक्तिको रुपमा इतिहास बनाएका हुन् । उसो त उनको परिचय कर्णालीबाट दलित समुदायको प्रतिनिधित्वका रुपमा पीएचडी गर्ने पहिलो व्यक्ति मात्रै होइन, देशभर घुमेर कला संस्कृतिको जगेर्ना गर्ने व्यक्तिका रुपमा चिनिदै गएका छन् ।

पछिल्लो समय काठमाडौँमा चर्चित बन्दै गएको कर्णाली म्युजियमका संस्थापक तथा प्रमुख रहेका उनी कर्णाली चिनाउने एक महत्वपूर्ण व्यक्तिका रुपमा परिचित छन् । कर्णालीका कला र संस्कृति चिनाउने बाजा, घरेलु उत्पादन, परम्परागत जीवन शैलीका सर–सामानहरु संकलन गर्दै संग्रहालयमा राखिरहेका उनी यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै आएका व्यक्तित्व हुन् ।
कर्णालीका विभिन्न गाउँ ठाउँमा रहेका परम्परागत सामान, जीवन शैली चनाउने पाटपूर्जादेखि विभिन्न समुदायले बजाउने बाजाको संकलन गरेर पूरा कर्णालीकै कला र संस्कृति उनले काठमाडौँमा संग्रह गर्दै प्रवद्र्धन गर्दै पनि आइरहेका छन् । यसर्थ गोविन्द नेपाली पछिल्लो समय कर्णालीको पुरै सामाजिक, आर्थिक, र ऐतिहासिक महत्वपूर्ण कला संस्कृतिको जगेर्ना गर्ने सर्जक तथा इतिहासकारका रुपमा आफ्नो परिचय बनाइरहेका छन् ।
उनले पछिल्लो समय दलित समुदायको सामाजिक मुद्दा, ऐतिहासिक दस्तावेज संकलन गरेर लेखेका पूस्तक पनि प्रकाशित छन् ।