काठमाडौँ : दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर डटकमले कर्णालीका १०० मध्ये ५० व्यक्तित्वको सूचि सार्वजनिक गरेको छ । कर्णालीखबरले पाँच वर्षको मूल्यांकलनमा ‘कर्णालीका ५० व्यक्तित्व’को सूचि सार्वजनिक गरेको हो । यसअघि कर्णालीखबरले ‘कर्णालीका ३० व्यक्तित्व’को सूचि सार्वजनिक गरेको थियो ।
कर्णालीखबर सञ्चालन भएको पाँच वर्षमा कर्णालीका ५० व्यक्तित्वको सूचि सार्वजनिक गरिएको दोभान मल्टिमिडियाले जनाएको छ । कर्णालीखबर सञ्चालन भएको पहिलो एक वर्षको अवसर पारेर कर्णालीका १०० व्यक्तित्वको सूचि सार्वजनिक गर्न थालिएको थियो । त्यसमध्ये कर्णालीका ३० व्यक्तित्वको सूचि सार्वजनिक गरेपछि प्राविधिक, आर्थिक र व्यवस्थापकीय समस्याका कारण कर्णालीखबर बन्द भएको थियो ।
झण्डै दुई वर्षको अन्तरालमा कर्णालीखबर गएको चैतदेखि पुनःप्रकाशन तथा सञ्चालन गरिएको हो । कर्णालीखबर पून प्रकाशन तथा सञ्चालन भएको तीन महिनापछि ‘कर्णालीका ५० व्यक्तित्व’को सूचि सार्वजनिक गरिएको दोभान मल्टिमिडियाले जनाएको छ ।
कर्णालीका ५० व्यक्तित्वको सूचिमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, चर्चित नेपाली साहित्यकार बुद्धिसागरसम्मका व्यक्तित्व समेटिएका छन् । यस्तै कर्णालीको पहिलो महिला पाइलट सिर्जना राउत, कर्णालीकै पहिलो महिला मन्त्री बिमला केसी, कर्णालीका पहिलो दलित समुदायका मेयर गगन सुनार र दैलेखमा साबर जुत्ता उत्पादन गरेर देशका प्रधानमन्त्री तथा राष्ट्रपतिलाई उपहार दिने कर्णालीका रैथाने व्यवसायी भद्रबहादुर सार्की लगायत कर्णालीका ५० व्यक्तित्वको सूचिमा समावेश छन् ।

कर्णालीमा विभिन्न पेशा तथा क्षेत्रमा रहेर कर्णालीमा योगदान गरेका कर्णालीका १०० व्यक्तित्वको सूचि कर्णालीखबरले तीन वर्षअघिदेखि सार्वजनिक गर्न थालेको हो । यो सूचि कुनै पद, शक्ति, वरियता वा प्रभावशाली व्यक्तित्वका आधारमा तय गरिएको नभई कर्णालीमा उनीहरुको काम, कर्तव्य र योगदानमा समर्पित रहेको दोभान मल्टिमिडियाले जनाएको छ ।
कर्णालीका व्यक्तित्वलाई चिन्न र सूचिमा समेट्दा सहजताका लागि नम्बर राखिएपनि त्यो प्रभावशाली व्यक्तित्वको आधारमा तय नगरिएको पनि दोभान मल्टिमिडियाले जनाएको छ ।
बाँकी रहेका व्यक्तित्वको नाम क्रमशः सार्वजनिक गर्दै जाने दोभान मल्टिमिडियाले जनाएको छ । १०० जनामध्येबाट उत्कृष्ट १० जना कर्णाली हिरोका लागि मनोनित हुनेछन् ।
१० जनामध्येबाट कर्णालीका व्यक्तिगत र संस्थागत भोटिङका आधारमा उत्कृष्ट एक जनालाई कर्णाली हिरो घोषणा गरिनेछ । कर्णाली हिरो बन्ने व्यक्तिलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिने दोभान मल्टिमिडियाले जनाएको छ ।