नाम : भद्रबहादुर सार्की
पेशा : व्यवसाय
कर्णाली व्यक्तित्व नं. : ५१
यदि तपाईले देशको प्रमुख कार्यकारी अर्थात प्रधानमन्त्रीलाई उपहार दिने अवसर पाउनुभयो भने के दिनुहुन्छ ? यसको जवाफ पाउनै मुश्किल हुन्छ । किनकी आम मान्छेसँग देशको सबैभन्दा प्रमुख कार्यकारी व्यक्तिलाई दिन सक्ने उपहार हामी निर्माण गर्न, खरिद गर्न वा भएकै उपहार पनि सहजै भेटेरै दिन सक्ने पहुँच हुँदैन ।
तर तपाईलाई पत्यार नलाग्न सक्छ, एक समय आफ्नै हातले बनाएको नेपाली जुत्ता कर्णालीका एक स्वभिमानी व्यापारी भद्रबहादुर सार्कीले यो देशका धेरै प्रधानमन्त्रीलाई उपहार दिन्थे ।
कर्णालीमा मात्रै होइन, नेपालमा के बन्छ र ? भन्ने अत्युक्तिलाई पनि अवसरमा बदलेर नेपालकै एक महंगो जुत्ता ब्राण्ड बनाएका सार्कीले देशका धेरै प्रधानमन्त्रीलाई आफ्नै हातले जुत्ता बनाएर लगाउन दिएका छन् । अझ भनौँ, दैलेख माटोलाई उनले यो देशको सर्वोच्च प्रशासकीय स्थान सिंहदरबारलाई चिनाएका छन् ।
बाबु बाजेको सीपलाई आर्जन गरेर आफ्नो पुख्र्यौली पेशाको बिडो थामेका सार्की त्यति धनी थिएनन्, तर यो देशका धनी व्यक्तिले पनि आफैँले बनाएर दिन नसक्ने गरी सीपका धनी र बहुचर्चित व्यक्ति हुन्, भद्रबहादुर सार्की । जसले दैलेखमा आफ्नै घरमा निर्माण गरेको बलियो, भरपर्दो र महंगो जुत्ता यो देशका प्रधानमन्त्रीहरुलाई लगातार दश वर्षसम्म उपहार दिइरहे ।

उनले हातैले निर्माण गर्ने चर्चित नेपाली ब्राण्डको जुत्ता हो, सावर जुत्ता । जुन मरेका वा शिकार गरिएका गाई, गोरु, भैँसी, राँगा, मृग वा रतुवाको छालालाई प्रशोधन गरेर निर्माण गरिन्छ ।
आजका दिनमा नेपाल र कर्णाली प्रदेशमा आयात हुने करोडौँ रुपैयाँका जुत्ताभन्दा आफ्नै ब्राण्ड स्थापित गरेर बहुचर्चित बनाएका सार्कीले सुर्खेतमा शोरुम खोलेका छन् । कर्णालीको आफ्नोपन र उत्पादन हराउँदै गर्दा भद्रबहादुर सार्कीले अझै कर्णालीको अस्तित्व जिवित राखेका छन् ।
एक समय कर्णालीबाट काठमाडौँ हुँदै देश विदेश निर्यात गरेर लाखौँको कारोबार गरेका भद्रबहादुर सार्की अहिले पनि कर्णालीका आत्मनिर्भर र उत्पादनमुखी व्यवसायी हुन् । कर्णाली र दैलेखको विशुद्ध नेपाली उत्पादनलाई देशको राजधानी काठमाडौँ तथा देशविदेशमा चिनाउन सफल भएका भद्रबहादुर सार्कीलाई हामीले कर्णालीखबरको स्थापना विशेष कर्णालीका १०० व्यक्तित्व सूचिमा समेटेका छौँ ।