नाम : सन्तबहादुर दमाई र राज कुमारी शाही
क्षेत्र : नागरिक समाज
कर्णाली व्यक्तित्व नं. : ५२.
नेपालमा जातीय विभेदको जरा कति गहिरोसँग गाडिएको छ र त्यसकै बलमा कथित उच्च जातका मानिसहरुले जंगली जनावरका शैलीमा दलित समुदायको क्रुरतापूर्वक हत्या गरिरहेका छन् भन्ने ज्वलन्त उदाहरण कर्णाली प्रदेशमा छ्याप्छ्याप्ती छ ।
तर नेपालभर जातीय विभेदको पराकाष्ठा मात्रै नभई, अन्तरजातीय विवाह गर्दा मारिनुपर्ने ठाँउका रुपमा कर्णाली चिरपरिचित छ । जसको सुरुवात दैलेखका सेते दमाई मारिएको घटनाबाट मानिन्छ ।
२०६७ सालमा छोरा सन्तबहादुर परियारले स्थानीय राजकुमारी शाहीसँग प्रेमपछि भागी विवाह गरेपछि बुवा सेते दमाई कर्णालीका कथित उच्च जातीयका शाही थरका मानिसहरुको आक्रमणबाट मारिनुपरेको थियो ।
दैलेखको साबिक तोली गाविसका सन्त र राजकुमारीले अन्तरजातीय विवाह गर्दा सन्तका बुवा सेते दमाई मारिएको घटना सायद जातीय विभेदको इतिहासकै सबैभन्दा चर्चित र दुःखद घटना हो । जसले नेपालसँगै संसारभर चर्चा पाएको थियो ।
यो घटनापछि बीबीसीको तत्कालीन समयको बहुचर्चित साझा सवाल कार्यक्रम दैलेखमा रेकर्ड भएको थियो । जसले जातीय विभेदको मुद्दा खरो बोल्दै विभेदविरुद्ध उभिएका विश्वभक्त दुलाल आहुतीलाई नेताका रुपमा नेपाली राजनीतिमा स्थापित गरेको थियो ।
जसरी कर्णाली प्राकृतिक स्रोत साधन र सम्पदाको खानी मानिन्छ त्यसरी नै जातीय विभेदका कारण क्रुरतापूर्वक दलित समुदायको हत्या गर्ने कथित उपल्लो जातीको बर्बरताका कारण अशिक्षा र अज्ञानी पनि मानिन्छ । जसको पुष्टि २०७७ साल जेठ १० गते रुकुम पश्चिमको सोतीमा अन्तरजातीय विवाह गर्न गएका नवराज बिक लगायत ६ जना युवाको क्रुरर्तापूर्वक भएको हत्याले गरेको थियो ।
जातीय विभेदका कारण सेते दमाईपछि कालिकोटकी मनसरा सुनार, रुकुम पश्चिममा नवराज विक लगायत धेरै जनाको हत्या भएपछि कर्णाली बदनाम बनेको छ । तर पनि जातीय विभेदविरुद्ध जसरी राज्यले एउटा कानून बनाएर अलपत्र पारेको छ, त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गरेर जातीय विद्रोह गरेका सन्त परियार र राजकुमारी शाही अहिलेको समाज र युवाहरुका लागि प्रेरणाका स्रोत हुन् ।

जसले आफ्ना भगवानसरह बुवा गुमाउँदा पनि आफ्नो अमर प्रेममाथि विश्वास गरेर सात जूनि सँगै बिताउने प्रण गर्दै समाजलाई ठाडो चुनौति दिन सके । अनि आफ्ना बुवाको खुकुरी प्रहार गरेर हत्या गर्ने कथित शाही थरका अमानवीय चेत भएका मानिसहरुलाई जेलको चिसो छिडीमा राख्न सफल पनि भए ।
उनीहरुले गरेको निर्णय यो संसारको प्राकृतिक नियम र संवैधानिक अधिकार थियो भनेर प्रमाणित पनि आफैले गरेका छन् । जुन यो समाजका लागि एउटा नयाँ शिराबाट सिर्जनात्मक नभई, व्यवहारिक विरोधको लहर चलाउन बाध्यकारी बन्यो । उनीहरुको प्रेमभन्दा बढी बुवाको हत्याले चर्चित भएको त्यो घटनापछि आज नेपालभर थुप्रै अन्तरजातीय विवाह भएका छन् ।
रुकुमपश्चिम, नवलपरासी, काभ्रे लगायतका जिल्लामा अन्तरजातीय विवाह भएर दुःखद घटना दोहोरिएपनि धेरै जिल्लामा भएका अन्तरजातीय विवाहले मुर्त रुप पाएका छन् । त्यसको धेरैथोरै श्रेय सन्तकुमार र राजकुमारीलाई पनि जान्छ । जसले समाजको ठूलो मानिएको जातीय विभेदको साङ्लो तोड्दै बिवाह गरेर उदाहरणीय बन्ने प्रयास गरिरहे ।
आफ्नो विवाहले बाबु नै गुमाएपनि उनले आफ्नो विद्रोह र राजकुमारीप्रतिको मायामा कुनै कमी नल्याएका सन्त आजको समाजमा एक जिवित विद्रोही चेत भएका युवा हुन् । राजकुमारीले कथित शाही समाजको भ्रामक घेरा तोडेर जातीय विभेदको जरो उखेल्ने साहस गर्नु नै आजको समाजका लागि ठाडो चुनौति दिनु हो ।
आखिर धेरैथोक गुमाएर पनि विद्रोह जारी राख्नु र नयाँ इतिहास बनाउनु नै यो समाजप्रतिको सच्चा देन हो । जुन देन सन्त कुमार र राजकुमारीले गरेका छन् ।
जीवनको एकसाथ बाच्ने निर्णय गरेको दिनदेखि संघर्ष गरिरहेका सन्त परियार र राजकुमारी शाहीको योगदानको कदर गर्दै हामीले उनीहरुलाई संयुक्त रुपमा कर्णालीखबर स्थापना विशेष अवसरमा कर्णालीका १०० व्यक्तित्व सूचिमा समेटेका छौँ ।