नाम : हिमा उपाध्याय
पेशा : व्यवसाय
कर्णाली व्यक्तित्व नं. : ५४
आत्मविश्वास एउटा यस्तो शक्तिशाली हतियार हो, जसले जतिसूकै कठिन परिस्थितीमा पनि आफ्नो अगाडिको बाटोलाई सहज अवस्थामा पूरा गर्न सक्छ । अनि मानिसले जे सोचेको हो, त्यो सपना पूरा गर्न भरपुर मदत गर्छ ।
सुर्खेतकी हिमा उपाध्यायका हकमा पनि यो लागू हुन्छ । बाल क्लबबाट सामाजिक अभियान्ताका रुपमा स्थापित उनलाई बिस्तारै रेडियो पत्रकारिताबाट व्यवसायिक क्षेत्रमा हात हाल्ने अवसर मिल्यो ।
यद्यपी बाल क्लबदेखि नै उनका साथी तथा श्रीमान दीपक बुढामगरको दरिलो साथ भएकै कारण उनले वर्तमान परिवेशमा कर्णाली प्रदेशकै महिला उद्यमीको छबि बनाउन सफल भएकी हुन् । यसका लागि उनले पहिलो शक्तिका रुपमा आफ्नो आत्मविश्वास प्रयोग गरेकी हुन् ।
बालक्लब, पत्रकारिता र व्यवसाय । हिमाका लागि सफलता हात पार्ने यी चरणबद्ध खुड्किला बनेका हुन् । तत्कालीन वीरेन्द्रनगर सुर्खेतमा रहेको जिल्ला बाल मञ्चमार्फत विभिन्न गाउँ गाउँमा पुगेर बालबालिकाहरुलाई प्रशिक्षित गर्ने, तालिम दिने र सामाजिक काम तथा साक्षरताका लागि संगठित गर्ने काममा हिमा सक्रिय थिइन् ।

त्यसपछि उनले बढ्दो उमेरसँगै पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय भइन् । पेशाबाट व्यवसायमा हात हालेपछि उनले आफ्ना श्रीमान दीपक बुढामगरको साथ सहयोग लिएर सुर्खेतमा भवानी छापाखाना सञ्चालन गर्ने निर्णय गरिन् ।
जुन निर्णयले उनलाई आज सफल महिला उद्यमीका रुपमा परिचित गरेको छ । श्रीमान दीपक बुढामगरको साथ सहयोगकै कारण उनी कर्णाली प्रदेशमा युवा महिला उद्यमीका रुपमा परिचित छिन् । सुर्खेतबाट प्रकाशित हुने युगआह्वान दैनिक पत्रिका पनि प्रकाशित गर्ने उनीहरुले पत्रकारिता पेशालाई व्यवसायमा रुपान्तरण गर्दा अहिले ठूलो फड्को मारिरहेका छन् ।
युवा उद्यमी महिलाका रुपमा परिचय फराकिलो बनाउँदै हिमाले सन् २०२१ मा ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दी इयर अवार्ड’ लगायत विभिन्न सम्मान समेत पाएकी छन् । युवा महिलालाई चुलो चौकोबाट केही माथि उठेर आत्मविश्वासका साथ आत्मनिर्भर बन्न प्रेरणा दिँदै आएकी हिमा पछिल्लो समय सामाजिक उदाहरण बन्दै आएकी छन् ।