नाम : पूर्णबहादुर खड्का
पेशा : राजनीति
पद : उपसभापति, नेपाली कांग्रेस
कर्णाली व्यक्तित्व नं. : ६०
उनी मन्त्री होइनन् । कर्णाली प्रदेशको स्थापनार्थ मुख्यमन्त्री पनि होइनन् । कर्णाली प्रदेश स्थापना गर्दा सडक आन्दोलन गर्ने नेता पनि होइनन् । बरु कर्णाली प्रदेश सुरुमा संघीयतामा प्रदेश बन्दा सुदूरपश्चिममा गाभिदाका असन्तोषी साक्षी हुन् ।
तर जब कर्णाली प्रदेशको माग गर्दै सुर्खेतमा आन्दोलनको आगो बल्यो, त्यतिबेला काठमाडौँमा राजनीतिक उचाईमा बसेका नेता भएर शीर्ष नेताहरुलाई कर्णाली प्रदेश नदिए आन्दोलन रोक्न सकिदैन भन्ने सर्वोच्च नेता हुन् ।
कर्णाली प्रदेश स्थापनाकालमा उनी नेपाली कांग्रेसको सहमहामन्त्री थिए । सहमहामन्त्री नै भएपनि उनी त्यतिबेला कुनै पनि पार्टीको पदाधिकारी बन्ने पहिलो नेता थिएँ । त्यसपछि महामन्त्री हुँदै अहिले कांग्रेसको उपसभापति तथा सरकारमा गृहमन्त्री हुँदै उपप्रधानमन्त्री भइसकेका नेता हुन् ।
कर्णालीबाट अहिलेसम्म कुनै पनि पार्टीको उपसभापति र सरकारमा उपप्रधानमन्त्री हुने पहिलो नेताको नाम हो, पूर्णबहादुर खड्का । जो नेपाली कांग्रेसको राजनीतिमा बिपी कोइरालाको पालादेखि होमिएका हुन् । सुरुदेखि नै शेरबहादुर देउवा गुटमा सक्रिय रहेका खड्का कर्णालीबाट पार्टी र सरकारको नेतृत्वमा पुग्ने पहिलो सर्वोच्च नेता हुन् ।

आगामी कांग्रेस महाधिवेशनमा देउवाको साथ र सहयोगमा उनी सम्भवतः पहिलोपटक सभापति र त्यसकै बलमा प्रधानमन्त्री पनि बन्न सक्छन् । जुन असाध्यै कठिन र उनका लागि प्रतिकूल पनि हुन सक्छ ।
तर कर्णालीको माटोमा जन्मिएर कर्णालीलाई राजनीतिक रुपमा प्रतिनिधित्व गर्दै उचाईमा लैजाने राजनीतिक एक्लो नाम पूर्णबहादुर खड्का हुन् । जो साठीको सत्तरीको दशकपछि लगातार कांग्रेसको पदाधिकारी रहँदै अहिले नेतृत्वको होडबाजीमा छन् । राजनीतिक रुपमा कर्णाली चिनाउनुमा उनको ठूलो भूमिका छ ।
नेपाली राजनीतिक इतिहासमा कर्णालीबाट एक्लो वृह्स्पतिका रुपमा रहँदै आएका खड्काले कर्णालीको समृद्धिमा त्यति ठूलो योगदान दिएका छैनन् । तर जुन उचाई उनले लिएका छन्, त्यो अहिलेसम्म अरु कुनै पनि पार्टीका नेताले साहस पनि गर्नै सकेका छैनन् ।