नाम : लक्ष्मण कँडेल
पेशा : व्यवसाय
कर्णाली व्यक्तित्व नं. : ६३
कर्णाली । भनिन्छ, मानिस जे बन्छ त्यो उसको कर्मले हो । कामबाटै मानिसले आफ्नो नामलाई धेरैसामू फैलाउँछ । त्यसको लागि भूगोल, बनावट, नजिक टाढाले फरक पार्दैन् ।
जसको ज्वलन्त उदाहरण हुन्, लक्ष्मण कँडेल । गुल्मीबाट व्यापारकै शिलशिलामा कर्णाली आएका उनले सुर्खेतमा डेरा जमाए । दुई पांग्रे गाडीमा यामहाको बजार व्यवस्थापन तथा मार्केटिङबाट उदाएको उनको व्यापार अहिले बजाजमा गएर आकाशिएको छ ।
बजाज मोटरसाइकलका लागि कर्णाली तथा सुर्खेतको आधिकारिक बिक्रेता बनेका उनी कर्णालीमा धेरैको रोजाईमा पर्ने बाइक बेच्ने व्यापारी हुन् । दुई पांग्रे गाडी बाइक बेचेरै सुर्खेतमा जग्गा र तीन तले घर बनाएका उनी सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्षसमेत भइसकेका छन् ।
सुर्खेतको व्यापारिक संगठनमा काम गरिरहेका उनले व्यापारीलाई एकत्रित गर्ने र विभिन्न माध्यमबाट कर्णालीको प्रवद्र्धन गर्ने भूमिकाको अग्रस्थानमा आफूलाई उभ्याएका छन् ।

दुई दशक अगाडि गुल्मीबाट सुर्खेत आइपुगेका उनी अहिले कर्णालीमा जमेर बसेका व्यापारी हुन् । जसले दर्जनौँलाई रोजगारी दिइरहेका छन् भने लाखौँ रकम बराबरको राजस्व सरकारलाई बुझाएका छन् ।
कर्णालीमा रोजगारी सिर्जना गरेर आफूलाई उदाहरणीय बनाएका उनले जुनसूकै क्षेत्रका मानिसका लागि पनि कर्णाली नयाँ अवसरको गन्तव्य हो भन्ने पाठ सिकाईरहेका छन् । व्यापारिक माध्यमबाट रोजगारी सिर्जना गरिरहेका उनी सुर्खेत उद्योग वाणिज्य संघको नेतृत्वमार्फत कर्णालीलाई विकासको दृष्टिकोणमा अगाडि लैजान पनि राजनीतिक तथा सामाजिक लबिङलाई तिब्रता दिइरहेका छन् ।
कर्णालीको पर्यटन प्रवद्र्धन र व्यापारिक वातावरणलाई मुटुमा राखेर अघि बढेका कँडेल कर्णाली विकासको सुत्रधारमा हातमा हात मिलाएर अघि बढ्ने चाहनाका व्यापारी हुन् । युवाहरुलाई कर्णालीमै अवसर सिर्जना गर्न प्रेरित गर्ने लक्ष्मण कँडेललाई हामीले कर्णालीखबर स्थापनाको विशेष अवसरमा कर्णालीका १०० औँ व्यक्तित्वमा समेटेका छौँ ।
यो पनि पढ्नुहोस्ः
‘कर्णालीका १०० व्यक्तित्व’को पूरा सूचि सार्वजनिक