नाम : गजेन्द्र राना
पेशा : शिक्षण क्षेत्र
कर्णाली व्यक्तित्व नं. : ६४
कर्णालीमा विद्यार्थी, विद्यालय र शिक्षकका रुपमा चर्चा हुने भनेकै सुर्खेत सदरमुकामको हो । कर्णालीको पनि राजधानी रहेको सुर्खेत सदरमुकामको विद्यालयमा आफ्ना छोराछोरी पढाउन मरिहत्ते गर्ने अभिभावकका कारण विद्यालय चर्चित रहे ।
विद्यार्थी भर्ना हुन लामबद्ध हुने विद्यालयका प्रधानाध्यापक बढी चर्चामा रहने गर्छन् । पछिल्लो समय सदरमुकाम बाहिर रहेर पनि ख्याति कमाएको विद्यालय हो, सुर्खेतको पश्चिम बड्डीचौरमा रहेको जनज्योति मावि । तर यो विद्यालयको नाम प्रधानाध्यक नारायण सिग्देलको काम र कर्मले धेरैको मुखमा झुण्डिएको छ ।
तर गजेन्द्र राना सर अपवाद हुन् । जो विद्यालयका प्रधानाध्यापक होइनन् । त्यस्तो चमत्कार पनि खासै गरेका छैनन् । विद्यार्थीका मन मनमा बसेका उनी एक युट्युव कार्यक्रमको कभरेजमा परेपछि देश विदेशमा चम्किए ।
‘गजेन्द्र सर’ नामले चिनिएका उनलाई चर्चाको शिखरमा पु¥याउने माध्यम हो, हेर्ने कथा टिम । एक समय बीबीसी नेपालीको चर्चित कार्यक्रम साझा सवालकी प्रस्तोतासमेत रहेकी विद्या चापागाईंको ‘म्याजिकल’ प्रस्तुतीबाट पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका १२ गुमीमा रहेको जनसंयुक्त प्राथमिक विद्यालयमा पढाउने गजेन्द्र सर पनि लामो समय चर्चामा रहे ।
२०७१ सालमा स्कुलमा भोलेन्टियर शिक्षकका रुपमा काम थालेका उनले त्यसपछि विद्यार्थीको दैनिकी, स्कुलको भविष्य र समाजको शिक्षाको ज्योति नै चम्किलो बनाइदिए । विद्यार्थी घट्दै जाँदा अर्को स्कुलमा गाभिने तयारीमा रहेको यो विद्यालयले गजेन्द्र सरको आगमनले अस्तित्व जोगिएको छ ।
उनले गणित जस्तो विषय पनि निकै सरल माध्यमबाट विद्यार्थीलाई पढाउँछन् । उनको खास खुबी यही हो । उनको खुबी, मेहनत र मनैदेखिको शैक्षिक कर्मले विद्यार्थी अरु सरकारी र निजी विद्यालयबाट जनसंयुक्त पढ्न आउँछन् । यही शैलीलाई प्रोत्साहन गर्दै भिडियो बनाएको हेर्ने कथाले लाखौँको मन जित्यो र भ्युज पायो ।
सुर्खेतको पुर्वी भेगमा रहेको गुमीबाट चर्चामा आएका उनी धेरैको मुखमा झुण्डिने ‘गजेन्द्र सर’ बने । उनको विद्यालयको नाम धेरैलाई थाहा नहुन सक्छ । तर गजेन्द्र सर भन्नेबित्तिकै धेरैलाई हेर्ने कथाको भिडियोको याद आउँछ । किनकी उनले कुनै औपचारिक तलब, भत्ता वा आर्थिक सहयोग नलिइकनै आफ्नो जीवनको महत्वपूर्ण समय विद्यालय उकास्न र विद्यार्थीको भविष्य उज्यालो बनाउन खर्चिरहेका छन् ।

सानैमा आमाबुवा गुमाएका गजेन्द्र सर अनाथ बच्चाका रुपमा वीरेन्द्रनगरको एसओएस हर्मन माइनर स्कुलमा पढेर मेहनती भए । त्यसपछि उनी काठमाडौँ पनि गए ।
काठमाडौँका ठूला स्कुलमा पढेर उनी फूटबल खेलाडीका रुपमा एन्फा एकेडेमीमा भर्ना पनि भए । तर उनी फूटबल खेलाडी भएनन् । उनी आफू खेलेर हजारौलाई मनोरञ्जन दिनुभन्दा बढी आफूले भोगेको कठिन जीन्दगी अरुले भोग्न नपरोस भनेर शिक्षाको उज्यालो जीवन दिन लागि परेका छन् ।
अधिकांश दलित समुदाय र गरीब घरपरिवारका बालबालिका पढ्ने सोही विद्यालयसँगै गजेन्द्र सरको कथा पनि कुनै फिल्मको भन्दा कम छैन । तर पनि उनले कुनै स्वार्थ नबोकी विद्यालयमा करिब पाँच वर्षसम्म स्वयंमसेवक शिक्षकका रुपमा काम गरेका छन् ।
कर्णालीका धेरै विद्यालयमा हजारौँ गजेन्द्र सर छन् । तर पढाउने गजेन्द्र सरको शैली सबैले सिकून र विद्यार्थीलाई विशाल क्षमतावान बनाएर आ–आफ्नो जीवनको शिक्षक पेशामा लामो उडान भर्ने पाइलटका रुपमा उत्साह थपोस् भन्ने चाहना सबै विद्यार्थी, अभिभावक र नेपालीको छ ।
यो पनि पढ्नुहोस्
‘कर्णालीका १०० व्यक्तित्व’को पूरा सूचि सार्वजनिक