नाम : प्रा.डा.नन्दबहादुर सिंह
पेशा : अध्यापन
पद : उपकूलपति, मध्यपश्चिम विश्वविद्यालय
कर्णाली व्यक्तित्व नं. : ७९
काठमाडौँ : कर्णालीमा जडिबूटिको अथाह सम्भावना छ । यदि त्यो जडिबुटि सही रुपमा संकलन गर्न थालियो भने त्यसले कर्णालीलाई धनी बनाउन सक्छ । कर्णालीमा अनौठो भौगोलिक अवस्था छ । यदि त्यसलाई उच्च शिक्षाको पाठ्यक्रममा समेटियो भने त्यसले कर्णालीबाट ‘माउन्टेनरिङ’ फस्टाउन सक्छ ।
किनकी सगरमाथा बेसक्याम्प, मुस्ताङभन्दा कर्णालीको जुम्ला, मुगु वा हुम्ला डोल्पामा माउन्टेनरिङ विषयको अध्ययन धेरै माथिल्लो स्तरको उपलब्धी हुनेछ । दलित समुदायको बाहुल्यता रहेको कर्णालीमा रैथाने सीपको सही सिकाई र पाठ्यक्रमबाट विस्तार गर्न सकियो भने त्यसले कर्णालीमा नसोचेको उपलब्धी दिन्छ ।
कर्णालीमा भएका यस्ता सयौँ सम्भावना र योजनाका ‘पायोनियर’ हुन्, मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा.डा.नन्दबहादुर सिंह । त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराएका सिंह अहिले कर्णालीको मध्यपश्चिम विश्वविद्यालयको उपकूलपति पदमा कार्यरत छन् । उनी विश्वविद्यालयका तेस्रो उपकूलपति हुन् ।
कालिकोटमा जन्मेर संघर्ष गर्दै नेपालकै विश्वविद्यालयका अग्रणी व्यक्तित्वमध्येका एक सिंहले नेतृत्व गरेको कर्णालीको मध्यपश्चिम विश्वविद्यालय सुधार गरिरहेका छन् । उनी सुरुमा आएपछि विश्वविद्यालयमा दैनिकजसो तालाबन्दी हुने गरेको थियो । दैनिक विद्यार्थीको आन्दोलन चर्किने गरेको थियो । मध्यपश्चिम विश्वविद्यालयलाई सुरुमा राजनीतिक अखडा बनाउने विद्यार्थी संगठनको भ्रमलाई चिर्दै उनले खराब प्रवृत्तिको डटेर सामाना गरेका थिए ।
उनीमाथि व्यक्तिगत हमला बढ्दा पनि उनले सुधारको काम छाड्न सकेका थिएनन् । निकै खरो स्वभावका उपकूलपति सिंहका कारण पछिल्लो समय मध्यपश्चिम विश्वविद्यालय सुधारको दिशामा अगाडि बढिरहेको छ । उनले सारेका नयाँ योजना र कामले पूर्णता पाउने हो भने उनी कर्णाली विश्वविद्यालयका ‘पायोनियर’ हुनेछन् ।

किनकी अब कर्णालीको नाम र पहिचानका लागि पनि मध्यपश्चिम विश्वविद्यालयको नाम फेरेर कर्णाली राख्नुपर्ने चर्चा र दबाब बढ्दो छ । त्यसका लागि उपकूलपति सिंह सकारात्मक पनि छन् । तर तत्कालै यो वातावरण बनाउन केही चुनौति भने अवश्य छ ।
केही छिटफुट घटना र समस्या बाहेक मध्यपश्चिम विश्वविद्यालयको आन्तरिक सुधार र व्यवस्थापनमा विशेष नेतृत्व गरिरहेका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ७९ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]