नाम : यामलाल कँडेल
पेशा : राजनीति
पद : मुख्यमन्त्री, कर्णाली प्रदेश सरकार ।
कर्णाली व्यक्तित्व नं. : ८०
(विशेष नोट : हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेषअनुसार २०७९ असोजदेखि ‘कर्णाली १००’ श्रृङ्खला सुरु गरेका थियौँ । त्यतिबेला यामलाल कँडेल कर्णालीका प्रमुख प्रतिपक्षी दलका नेता थिए । कर्णालीको राजनीतिमा प्रभाव पारिरहने कँडेललाई हामीले त्यतिबेला नै ‘कर्णालीका १०० व्यक्तित्व’मा समेटेका थियौँ । र, हेडलाइन राखेका थियौँ, ‘कर्णालीका सदाबहार प्रतिपक्षी’ । तर अपसोच ! हामीले सोही समयमा यो पूरा सूचि सार्वजनिक गर्न सकेनौँ । अतः २०८२ सालमा हामीले ‘कर्णालीका १०० व्यक्तित्व’को पूरा सूचि सार्वजनिक गर्दा यामलाल कँडेल कर्णालीका मुख्यमन्त्री छन् । सोहीअनुसार हामीले यसअघि प्रकाशित सामग्रीमा केही अपडेट गर्दै नयाँ हेडलाइन राखेका छौँ, ‘लामो प्रतिक्षापछि प्रतिपक्षीबाट मुख्यमन्त्री ।’ यो समयको कथा पनि हो । त्यसैले हामीले यो सामग्रीको हेडलाइन परिवर्तन गरेका छौँ :-सम्पादक ।)
काठमाडौँ : कर्णालीको राजनीतिमा परिचित नाम हो, यामलाल कँडेल । सुरुवातदेखि नै नेकपा एमालेको राजनीतिमा सक्रिय कँडेल सुर्खेत बजार वीरेन्द्रनगरबासी हुन् । सुर्खेतमा बहुदलपछिको राजनीतिमा यामलाल कँडेलले कम्युनिष्ट राजनीतिको जग बसालेको बुझाई एमाले नेताहरुमा छ ।
सुर्खेत बजारदेखि काठमाडौँको सिंहदरबारसम्म पहुँच बनाएका कँडेल बोलीमा धेरै अगाडिका नेता हुन् । कार्यकर्तादेखि केन्द्रका नेताहरुसँग बोलीमा बलशाली नेता कँडेल व्यावहारिक राजनीतिमा भने बोलीअनुसार अगाडि छैनन् । बरु पछाडि परिरहेका छन् ।
नेकपा एमालेको कर्णाली प्रदेश इन्चार्ज रहेका कँडेल स्थायी कमिटी सदस्य समेत हुन् । यसअघि संघीय सरकारमा पर्यटनमन्त्री हुँदा उनले कर्णालीबाट कम्युनिष्ट राजनीतिमा धेरै अगाडि अवसरको ढोका खोलेका थिए ।
केन्द्रीय सरकारमा पर्यटनमन्त्री हुँदा उनले लामो समय संसदीय राजनीति गरे । तर विस्तारै उनी केन्द्रबाट प्रदेशको राजनीतिमा होमिए । त्यसमा दुई वटा कारण प्रधान छन् । दोस्रो संविधानसभा चुनावमा उनी पराजित भएपछि सुर्खेत केन्द्रित बनेका हुन् ।
त्यसपछि प्रादेशिक व्यवस्थाअनुसार उनी कर्णाली प्रदेशमा एमालेको प्रमुख नेता बनेर राजनीतिमा होमिए । कर्णालीको मुख्यमन्त्री बन्नैका लागि प्रदेश राजनीतिमा लागेका उनले थुप्रैपटक मुख्यमन्त्री बन्छु भन्ने भाषण गरे । तर मुखैमा आएको अवसर पनि उनले सदुपयोग गर्न सकेनन् ।
बोलीमा धेरै अगाडि रहेका नेता कँडेल त्यसलाई व्यवहारमा उतार्न पछाडि परिरहने नेतामध्ये एक हुन् । कर्णालीको राजनीतिमा सँधै चर्चामा रहिरहने उनी एमालेभित्रको राजनीतिका प्रमुख खेलाडी हुन् । जुन हिजोआज कर्णालीमा सीमित बनेको छ ।
कर्णालीमा दुईतिहाई बहुमत हुँदा पनि मुख्यमन्त्री बन्न नसकेका नेता कँडेल हुन् । आफ्नै सांसदले फ्लोर क्रस गरेपछि सत्तापक्ष र सरकार आफ्नो बनाउने बेला उनी प्रतिपक्षीमा खुम्चिएका नेता हुन् । सत्तापक्ष हुँदा विरोध गर्ने बोली बोल्न नडराउने यामलाल कँडेल प्रतिपक्षी हुँदा संसदमा गर्जन हाल्ने नेता पनि हुन् ।

सुर्खेत बजारमै घर भएका कारण सुविधासम्पन्न भएकाले पनि हुन सक्छ, कर्णालीको ठूलो विकासमा कँडेलको खास योगदान देखिदैन । त्यसकारण बोलीमा धेरै अगाडि रहने नेता कँडेल व्यवहारमा पछाडि परिरहेका नेता हुन् । जुन कर्णालीको स्वभाविक प्रवृत्ति हो ।
कर्णाली प्रदेश सभाको पहिलो कार्यकालभरी प्रतिपक्षमा बसेका नेता कँडेल दोस्रो प्रदेशसभा कार्यकालमा भने छोटो समयमै नै मुख्यमन्त्री हुन सफल भए । सुरुमा एमाले र माओवादीको तालमेल मिलेको केन्द्रीय राजनीतिमा एकाएक बदलाव आएर एमाले र कांग्रेस मिलेपछि कर्णालीमा कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । अहिले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको कुर्सीमा बसेका कँडेल गतिशिल भएर विकासका काममा लागेका पनि छन् ।
तर लामो समय प्रतिपक्षमा बसेको र मुख्यमन्त्री बन्ने बेलामा राजनीतिले नै कोल्टो फेरेपनि फेरि समयको प्रतिक्षा गर्दा उनी अहिले मुख्यमन्त्री बनेका छन् । कर्णालीको राजनीति तरंगित बनाउन प्रमुख भूमिका खेल्नेमध्ये एक कँडेलले बाँकी कार्यकाल कसरी पूरा गर्छन्, त्यो भने धेरैको चाँसोको विषय छ ।
कर्णालीको राजनीतिमा आफ्नो छ्ट्टै प्रभाव जमाएका एमाले नेता यामलाल कँडेललाई हामीले कर्णालीखबरको वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ८० औँ स्थानमा समेटेका छौँ ।
(यो समाचारमा पद, हेडलाइन र केही शब्द तथा सामग्री थपिएको छ । तीन वर्षअघि प्रकाशित यो समाचारमा पछिल्लो अवस्थाअनुसार अपडेट गरिएको हो :- सम्पादक ।)
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]