नाम : डा.नवराज केसी
पेशा : चिकित्सा तथा समाजसेवा
कर्णाली व्यक्तित्व नं. : ८१
काठमाडौँ : कर्णालीमा सुनिएको नाम हो, डा.नवराज केसी । कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा.केसी कर्णालीमा धेरै परिचय जोडिएका चिकित्सक हुन् । चिकित्सक पेशा भएपनि नेपाली समाजसँग उनको गहिरो परिचय छ ।
सुर्खेत हिलेखालीमा जन्मिएर डाक्टरी पढ्दै आफ्नै जन्मथलो क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरिरहेका डा.केसी समाजसेवीदेखि पर्यावरण अभियान्ताका रुपमा पनि सक्रिय छन् । बाल रोग विशेषज्ञ डा.केसी बिग्रदो वातावरणले निम्त्याउने समस्या र त्यसबाट बालबालिका जोगाउने उपायदेखि केही समयअघि भयावह बनेको कोरोना महामारीमा ‘फ्रण्टलाइनमै’ खटेर संक्रमितको सेवा गर्ने डाक्टर हुन् ।
चिकित्सक पेशासँगै डा.केसीले ‘ग्रीन सुर्खेत, क्लिन सुर्खेत’ अभियान पनि सञ्चालन गरिरहेका छन् । यो अभियानमा उनले कर्णालीका मुख्यमन्त्रीदेखि नेता, कर्मचारी, व्यापारी लगायत सबै सरोकारवालालाई अभियानमा जोडेका छन् ।

सुर्खेतमा सरसफाई अभियान १०० औँ हप्ता पार गरेका डा.केसी कर्णालीको स्वास्थ्य क्षेत्रका रोलमोडल मानिन्छन् । त्यससँगै उनी राम्रो फोटोग्राफी पनि गर्छन् । कहिलेकाँही घुमघाममा जाँदा क्यामेरा पनि सँगसँगै लैजाने डा.केसीले खिचेका फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दा कतिपय समाचार पनि बन्ने गरेका छन् । यसकारण डा.केसी एक चिकित्सक मात्रै होइनन्, त्यो भन्दा बढी उनी समाजसेवी र सेलिब्रेटी हुन् ।
कर्णालीमा समस्या देखाउने, गुनासो गर्नेभन्दा त्यसको समाधानका लागि आफैँबाट सुरुवात गर्ने एक समाज सुधारकका रुपमा पनि डा.केसी परिचित छन् । कर्णालीको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न अग्रसर सामाजिक सेवामा निरन्तर सक्रिय बालरोग विशेषज्ञ डा.नवराज केसीलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ८१ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]