काठमाडौँ : पहिलोपटक कर्णालीका एक सय व्यक्तिको नाम र छोटो परिचयसहितको विवरण ‘कर्णाली १००’ सूचि कर्णालीखबरमा प्रकाशित गरिने भएको छ । कर्णाली चिन्ने, चिनाउने, कर्णालीमा राजनीतिक, आर्थिक, सामाजिक लगायत विभिन्न विधामा रहेर उत्कृष्ट योगदान गर्ने व्यक्तिको नाम छोटो विवरणसहित ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा प्रकाशित गरिने भएको हो ।
दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा कर्णालीका विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्ति सम्मिलित एक सय जनाको सूचि सार्वजनिक गरिने भएको हो ।
कर्णालीमा विभिन्न क्षेत्रका कर्मठ, साहसी, सफल, संघर्षरत तथा सम्झनामा रहेका १०० व्यक्तिको सूचि पहिलोपटक सार्वजनिक गर्न लागिएको हो । यो सूचिमा कर्णालीमा जन्मेर लामो संघर्ष गरेर सफलता हासिल गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिको नाम पनि समेटिनेछ । साथै कर्णालीको नाम जोडिएका तर संघर्षका दौरान दिवंगत भएका केही व्यक्तिको नाम पनि सूचिमा समेटिनेछ ।
कर्णालीमै सघर्ष गरेका, सफलता पाएका र कर्णालीको राजनीतिक, आर्थिक, सामाजिक लगायत विभिन्न विधामा क्रियाशील व्यक्तिको नामलाई पहिलो प्राथमिकताका साथ ‘कर्णाली १००’ सूचि सार्वजनिक हुनेछ । १०० नम्बरबाट सुरु हुने सूचि १ नम्बरमा टुंगिनेछ ।
व्यक्ति छनौटका मूख्य १० आधार तथा योगदानमा आधारिता प्राथमिकता
‘कर्णालीका १०० व्यक्तित्व’को सूचि सार्वजनिक गर्दा मुख्यगरी १० वटा विषयलाई प्राथमिकता दिइनेछ । जसले कर्णालीबाटै प्रतिनिधित्व गरेर कर्णालीमै केही गरेका, सिर्जनशील गरेर अरुका लागि प्रेरणाका स्रोत बनेका, आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा र सफलता पाएका व्यक्ति कर्णाली १०० सूचिमा समेटिनेछन् ।
उनीहरुको संघर्ष, सफलता र सफल बन्दै गर्दा कर्णालीका मानिसहरुमा थपेको प्रेरणा पनि महत्वपूर्ण हुनेछ । व्यक्ति छनौटका मुख्य १० आधार यसप्रकार छन्ः
१. कर्णालीको भूगोलमा बसेर राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, चिकित्सा, खेलकुद लगायत आफ्नो पेशागत क्षेत्रमा सिर्जनशील काम गरेका ।
२. कर्णालीबाट प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आफ्नो विधामा सिर्जनशील तथा उत्कृष्ट काम गरेका ।
३. बाहिरी जिल्ला तथा भूगोल तथा विदेशबाट आएर कर्णालीको माटोमा उत्कृष्ट काम गर्दै इतिहास रचेका ।
४. आफ्ना लागिभन्दा अरुका लागि केही गरेका, प्रेरणा बनेका, आफ्नो पेशागत क्षेत्रमा उत्कृष्ट काम गरेका र अरुको सुन्दर भविष्य बनाउन आफ्नो जीवन समर्पण गरेका व्यक्तित्व ।
५. पहिलोपटक संघीयता कार्यान्वयनका क्रममा कर्णाली प्रदेशमा आ–आफ्नो क्षेत्रबाट इतिहास रचेका मुख्यमन्त्री, सभामुख, उपसभामुख लगायत विधागत क्षेत्रमा मन्त्री बनेर इतिहास रचेका व्यक्तित्व ।
६. कर्णालीको राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रका विविध व्यक्तित्वलाई एउटै ठाउँमा ल्याएर कर्णालीको विगत, वर्तमान तथा भविष्यलाई केलाउँदै कर्णाली विकासको लागि बहस, छलफल तथा श्रृङ्खलाबद्ध कार्यक्रम सञ्चालन गरेका व्यक्तित्व ।
७. कर्णालीको महिला, बालबालिका, युवा तथा सामाजिक रुपमा निरन्तर अभियान तथा कार्यक्रम सञ्चालन गरेका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख, प्रतिनिधि तथा अभियान्ता ।
८. कर्णालीमा जन्मेर अन्तर्राष्ट्रिय विधाका विभिन्न क्षेत्रमा प्रतिष्पर्धा गरेर उपाधि जितेका, देशलाई जिताएका र आफूले जितेर कर्णालीको नाम राखेका व्यक्तित्व ।
९. कर्णालीको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र साहित्य क्षेत्रमा विशेष योगदान गरेका व्यक्तित्व ।
१०. कर्णालीको साहित्य, पर्यटन, पत्रकारिता, फोटो पत्रकारिता, संरक्षण लगायत सार्वजनिक क्षेत्रमा योगदान दिएका तथा कर्णालीबाट प्रतिनिधित्व गरेका व्यक्तित्व ।
सूचि प्रकाशनको प्रक्रिया र कर्णाली हिरोको घोषणा
१०० जनाको नाम सार्वजनिक गर्दा व्यक्तिको नाम, पद, पेशा, छोटो परिचय र कर्णालीमा योगदानको चर्चा गरिनेछ । त्यसरी लिइएको नाम र लेखिएका विवरण कर्णाली खबर लगायत विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, प्रोफाइल स्टोरीलाई आधार मानिनेछ ।
तर यसरी सार्वजनिक गरिएका व्यक्तिको नाम कुनै शक्ति, प्रभाव वा मापदण्डका आधारमा तय हुने छैन । आफ्नो क्षेत्रमा उनीहरुले गरेको काम, कर्णालीमा योगदान, काम गर्दै गर्दा भएका समाचार कभरेज र कर्णालीमा उनीहरुले गरेको योगदानलाई कर्णाली खबरको दृष्टिकोणबाट नियालेर १०० जनाको सूचि सार्वजनिक गरिनेछ । जसको १०० नम्बरमा कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाम रहनेछ । बाँकी नाम क्रमशः प्रकाशित गरिने छ ।
आफ्नो क्षेत्रमा आफ्नै क्षमता, उत्कृष्ट प्रदर्शनका आधारमा स्थापित १० जना व्यक्तिलाई कर्णाली हिरोको सूचिमा मनोनित गरिनेछ । त्यसरी मनोनित व्यक्ति विभिन्न छनौट तथा भोटिङ चरण पार गरेर विजयी भएमा एक लाख रुपैयाँ नगदसहित ‘कर्णाली हिरो’ घोषणा गर्दै सम्मान गरिनेछ ।
[समाचारमा केही संशोधनसहित सच्याइएको छ* : सम्पादक]