बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट देशभर जनप्रतिनिधि निर्वाचित हुने क्रम जारी छ । कतै मतगणना जारी छ त कतै जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । यसबीच हुम्लाको खार्पुनाथ गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । रावलले ८ सय १० मत प्राप्त गरेर विजयी भएका हुन् । खार्पुनाथमा रावलकोे दोस्रो कार्यकाल हो । ०७४ को निर्वाचनमा पनि कांग्रेसबाट खार्पुनाथको अध्यक्षमा विजयी भएका थिए । रावल नेतृत्वको पहिलो कार्यकाल सफल भयो । फलस्वरुप दोस्रो कार्यकालका लागि उनी नै निर्वाचित भएका छन् । उनको आगामी कार्यकाल कस्तो रहने ? खार्पुलाई विकास र समृद्धिको बाटोतर्फ लिन अजेण्डा के-के छन् ? लगायतका विषयमा निर्वाचित अध्यक्ष कर्णबहादुर रावलसँग कर्णालीखबर डटकमका राजन रावतले गरेको कुराकानी :
दोस्रो पटक निर्वाचित हुनुभएको छ । हजुरको पहिलो कार्यकालभन्दा यो कार्यकाल कस्तो रहला ?
हजुर, अब निर्वाचन सम्पन्न भएर पनि परिणाम सार्वजनिक भइसकेको छ । दोस्रो पटक पनि पार्टीले विश्वास गरेर मलाई नै टिकट दियो । निर्वाचित हुन सफल भएको छु । अवश्य पनि हर्षसँगै जिम्मेवारी थपिएको छ । पहिलो कार्यकालमा पुरा गर्न नसकेका कामहरु पुरा हुने नै भए । त्यसभन्दा पनि जनताको पक्षमा उभिएर काम गर्नु मेरो जिम्मेवारी हुनेछ । मेरो पहिलोे कार्यकाल संघीयताबारे बुझ्दै जान्दै बित्यो । संघीयताको अभ्यास मै रह्यो । अघिल्लो कार्यकालमा धेरै कुरा व्यवस्थापन गर्नु पर्यो । यद्यपी केही भएका थिएनन भन्ने पनि होइन । धेरै कुरा गरेका पनि छौं । अब बाँकी रहेका कामकारबाहीलाई पुरा गर्न फेरि जनताले मलाई विश्वास गर्नुभएको छ । अब, सबैसँग छलफल गरेर । सहकार्य गरेर । सुझाव लिएर । अगाडी बढ्ने छु ।
तपाईंहरुले निर्वाचनमा जनतालाई दिएका प्रतिवद्धता कसरी पुरा गर्नतर्फ लाग्नु हुन्छ ?
निश्चय पनि निर्वाचनमा धेरै उम्मेदवारले धेरै किसिमका आश्वासन दिने कार्य गर्छन् । र, गर्दै आएका छन् तर मैले गर्न सक्ने र सम्भव हुने कुरालाई मात्र निर्वाचनका बेला जनतासामु राखेको छु । जनतालाई प्रतिवद्धता जनाएको छु । खार्थुमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आयआर्जन, सीप विकास, पूर्वाधारसँगै रोजगारी मूलक कार्यक्रमहरु सञ्चालन गर्ने कुरा जनता सामु बताएको छु । उक्त कुरालाई कार्यान्वयन गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ । यसअघि समन्वयको पाटोमा कमी रह्यो । अब त्यसलाई सुधार गरेर खार्थुको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरालाई ध्यान दिएर अगाडी बढ्ने छु ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेत प्रस्तुत गर्ने बेला पनि आएको छ । केही सोच्नु भएको छ ?
सबै बस्ती र वडालाई समेट्ने गरि योजना तर्जुमा गर्नुपर्ने छ । तर, त्यो छरिएर होईन त्यो कुुरा बजेट सिलिङ अनुुसार गर्नुपर्ने छ । केही वडामा सडक निर्माण कार्य सुरुवात भएको छ । अब, यो कार्यकालमा सबै वडामा सडक सञ्जाल जोड्नुपर्ने छ । त्यसका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको समन्वय गर्ने कामलाई प्राथमिकतामा रहनेछ । त्यसैगरियसअघिको कार्यकालमा सुुरु भएका तर पुरा नभएका कामलाई निरन्तरता दिनुपर्ने छ । अघिल्लो कार्यकालमा स्वास्थ्य क्षेत्रमा धेरै सुधार गरिएको छ । अब, त्यसलाई गुणस्तरीय सेवा प्रदान गर्ने कसरी गर्ने भन्ने विषयमा सोच्नुपर्ने छ । यस्तै शिक्षाका क्षेत्रमा पनि काम गर्न बाँकी छ । यसतर्फ ध्यान दिइनेछ ।
अबको नीति तथा कार्यक्रमका प्राथमिकताहरु के-के हुनसक्छन् ?
पहिलो कुरा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने छ । अर्को वडा नम्बर ४ र ५ को वडा कार्यालय भवन निर्माण हुन सकेको छैन । ती भवन निर्माण हुनेछन् । वडा नम्बर २ मा विद्युतीकरण हुन बाँकी छ । त्यो पनि आगामी आर्थिक वर्षको बजेटले समेट्नु पर्नेछ । खानेपानी र सिंचाइलाई पनि प्राथमिकतामा राखिने छ । यो भन्दैमा शिक्षालाई कम गर्ने भनिएको होइन । हजुरहरुले यसरी पनि नबुझ्नु होला । शिक्षालाई समेत प्राथमिकतामा राख्ने छौं । त्यति मात्रै नभइ कृषि, खानेपानी, सिंचाइ प्राथमिकतामा राखेर अन्य उत्पादनको पनि वृद्धिमा जोड दिइने छ । अन्य राजेगारीका कुरालाई पनि समेटेर दलित, महिला लगायत समावेशिताका कुरालाई समेत ध्यानमा राखिने छ ।
प्राथमिकता अनुसार बजेटको व्यवस्था के हुन्छ ?
हजुर बजेटको सीमा न्यूनै छ । यो मेरो अघिल्लो अनुभव पनि हो । अहिले पनि यो समस्याबाट मुक्ति मिल्ला भन्ने आधार भने छैन । तर, साधन श्रोतको खोजीका लागि समन्वयमा भने कमी आउने छैन । कुल गाउँपालिकामा आउने बजेट मध्ये निशर्तको बजेट झन् थोरै छ । तर, पनि भएकै बजेट सीमालाई ध्यानमा राखेर कार्यक्रम ल्याउने तर्फ लाग्ने छौं । अर्को लगानी कम तर प्रतिफल बढी आउने कार्यक्रमलाई ध्यान दिइने छ । साझेदारीका कार्यक्रमलाई पनि ध्यानदिनु आवश्यक छ । यसक ालागि समन्वय पनि गरिनेछ । प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमलाई ध्यानमा राखिनेछ ।
प्रत्यक्ष लाभान्वित कार्यक्रम भन्नु भएको छ ? ती कार्यक्रमहरु कस्ता हुनसक्छन् ?
कम लगानी गरेर फाइदा बढी हुने कार्यक्रमलाई प्राथमिकतामा राखिने छ । जस्तै फलफूल खेती, तरकारी खेती, आयआर्जनका कार्यक्रमहरु यसभित्र पर्नेछन् । सम्भावना भएका क्षेत्रका लागि आयआर्जनको नयाँ कार्यक्रम यसमा पर्छन् । न्यून आय भएका जनतालाई समेट्नुपर्ने छ ।
अघिल्लो कार्यकालको छोटकरीमा अनुभव बताउनु पर्दा यहाँले कसरी बताउनु हुन्छ ?
यसमा मुख्य कुरा भुगोल र अवस्थाले गर्दा बजेट सिमा मुख्य चुनौती रहेको छ । हाम्रो जस्तो महंगी रहेको ठाउँका लागि अहिलेको बजेट निकै समस्या रहेको छ । यसलाई व्यवस्थापन गर्न मुख्य चुनौती हो । अरु आफ्नै स्रोत नभएका बेला संघ र प्रदेशको मुखताक्नुको अन्य विकल्प छैन पनि । यो समस्या कै रुप हुन्छ । यसका लागि अहिलेको बजेट विनियोजन गर्ने प्रणाली सुधार गर्नु आवश्यक छ । अब, साधन स्रोतले साथ दिएसम्म अघिल्लो कार्यकालभन्दा राम्रो गरेर देखाउने छु । यसतर्फ मेरो ध्यान हुनेछ । अघिल्लो कार्यकाल पनि मेरो संघीयताको अभ्यासमै बितेको छ । यतिबेला काम गरेर देखाउने छु ।