देउखुरीः लुम्बिनी प्रदेशमा एक प्रदेशसभा सदस्य र ७४ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । लुम्बिनीका १०९ पालिकामध्ये उक्त सङ्ख्यामा जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । लुम्बिनी प्रदेशमा एक हजार ५६७ जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिमध्ये ७४ ले समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए।
विसं २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा १२ जिल्लामा एमालेबाट स्थानीय तहका प्रमुख १६, उपप्रमुख १७, गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष ३०, वडाध्यक्ष ३५५, सदस्य ७५१ र महिला सदस्य ३७१ गरी जम्मा एक हजार ५६७ जना निर्वाचित भएका थिए । निर्वाचन आयोगले यही भदौ १५ गतेदेखि २२ गतेसम्म स्थानीय तथा प्रदेशका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो ।
दाङ २१, बाँके – १२ , रुपन्देही– ७, रुकुम पूर्व– ४, रोल्पा – ५, बर्दिया – ६, अर्घाखाँची – ६, प्यूठान– ८ ,पाल्पा –१, नवलपरासी ९पश्चिम०–२, कपिलवस्तुमा १ जना लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) रोज्ने स्थानीय तहका जनप्रतिनिधि रहेको जनाइएको छ । गुल्मीमा कुनै पनि जनप्रतिनिधि सनाखत हुन नआएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका लुम्बिनी प्रदेशमा २० जनाले सनाखत गरेका छन् । जसमध्ये रुपन्देहीमा १९ र कपिलवस्तुमा एक गरी २० जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । रासस