काठमाडौं : बैशाख ३ गते कर्णालीमा भएको ‘फ्लोर क्रस’ गेमका क्याप्टेन हुन् प्रकाश ज्वाला । तत्कालिन (माओवादीको सत्ता संकटमा थियो) मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन उनको ठुलो भुमिका रह्यो ।
एमाले यतिबेला चिरैचिरा पर्नुको एक हिस्सा त्यो पनि हो । केन्द्रमा केपी ओली र माधव नेपालको लडाइँ जस्तै कर्णाली प्रदेशमा पनि यामलाल कँडेल र प्रकाश ज्वालाको थियो । कँडेललाई ओली, ज्वालालाई माधव भनेर चिन्ने गरेका थिए ।
सत्तामा पुग्नका लागि कँडेलले सानो कसरत गरेका होइनन् । त्यो, कसरत ज्वालाले माटोमै मिलाइ दिए । कँडेल पनि के कम, ज्वालासहित चार जनालाई सांसदबाट पदमुक्त पारिदिए । यसबीचमा थुप्रै घटनाहरु घटेका छन् । एमाले फुट्यो । माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता भयो । जसको नाम नेकपा एकीकृत समाजवादी रह्यो ।
जसको नेतृत्व गर्ने जिम्ममा कर्णालीमा प्रकाश ज्वालाले पाएका छन् । उनलाई एकीकृत समाजवादी पार्टीको कर्णाली प्रदेश इन्चार्ज तोकिएको छ । ज्वालाले खेलेको त्यो गेम, जुन गेमले इतिहास नै रच्यो । ओरालो लागेको माओवादी सत्ता जोगियो । ओली शैलीका यामलालको मुख्यमन्त्री बन्ने सपना चकनाचूर भयो ।
तत्कालिन नेता ज्वालासहित चार जनाले ‘फ्लोर क्रस’ गरे । जसमा, नन्दसिंह बुढा अम्मरबहादुर थापा, कुर्मराज शाहीले मन्त्री पद उपहार पाए । त्यो पनि ज्वालाकै सिफारिसमा । तर, सत्ता बाहिर बसेर यामलाल कँडेलसँग गेम खेलिरहेका थिए । त्यो गेम निकै चाखलाग्दो बन्यो । जुन, गेमले गर्दा यामलालको ओली शैली भुईँमै रह्यो । माधव नेपालले ओलीलाई बालुवाटारबाट बार्दली पुर्याए जस्तै ज्वालाले यामलाललाई भुईँमै झारे ।
अब उनीहरु आफ्नै सिद्धान्तमा छन् । यामलाल ओली नेतृत्वको सिद्धान्तमा छन् । भने, ज्वाला नेतृत्वको माधव सिद्धान्तमा । अब यामलालसँग ज्वालाको गेम कस्तो रहन्छ ? कर्णालीमा एमाले बलियो हुन्छ, कि समाजवादी । त्यो, फाइनल गेम पनि हेर्न बाँकी नै छ ।
विभिन्न जिल्लाहरुमा नेकपा (एस)को प्रभाव पनि बढ्दै गएको छ । शनिबार मात्रै एमाले जुम्ला जिल्ला कार्यसमिति नै समाजवादीमा लागेका छन् । सबै जिल्लातिर समाजवादीमा नेता कार्यकर्ताहरु आइरहेका छन् । अझ् समाजबादी बलियो, एमालेलाई कमजोर बनाउने हात प्रकाश ज्वालाकै छ । उनी कुर्सीमा नभएपनि कुर्सीमा कसलाई पठाउने कसलाई झार्ने उनकै हातमा छ ।
केन्द्रमा कांग्रेस, माओवादी, नेकपा एस मिलेर सत्ता सहकार्य गरिरहेका छन् । कर्णालीमा पनि अवस्थामा त्यहीं रहन्छ । केही दिन भित्र माओवादी नेतृत्वको कांग्रेसलाई सत्ता हस्तान्तरण हुँदैछ । कांग्रेसको नेतृत्वमा बनेको कर्णाली सरकारमा बाहिरबाट ज्वालाको भुमिका पनि उत्तिकै रहनेछ ।
पछिल्लो अवस्था हेर्दा कर्णालीमा नेकपा (एकीकृत समाजवादी) बलियो बन्दै गएको छ । आइतबार मात्रै दैलेखमा थप ३२ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् ।
सबै जिल्लाको अवस्था हेर्दा एस बलियो बन्दै आएको छ । दैलेखका ११ स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा एमालेले जितेको छ । उक्त मध्ये आइतबार सनाखत गर्ने भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल हुन् ।
उनीहरुसँगै ५ वडाध्यक्षले सनाखत गरेका छन् । एकीकृत समाजवादीमा सनाखत गर्नेको संख्या दैलेखमा ५७ पुगेको छ । अन्य जनप्रतिनिधिले सनाखत गर्ने क्रम जारी छ । यता एमाले पनि गाउँ गाउँमा गएर कार्यक्रम गरिरहेको छ ।