रामपुरः नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यतिखेर वडा तहमा निर्वाचन भइरहेको छ । महाधिवेशनको चर्चा जिल्ला सदरमुकाम हुँदै गाउँ–गाउँमा पुगेपछि पाल्पाका युवा पनि नेतृत्वका लागि जुर्मुराएका छन् ।
अवको महाधिवेशनमा युवापुस्ताको सक्रियता बढ्दो देखिएकाले नयाँ विचार, केही गर्छु भन्ने जोस जाँगर भएका युवापुस्ता नेतृत्वमा आउनुपर्ने नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा केन्द्रीय सदस्य राजनप्रसाद पन्त बताउछन ।
उनि भन्छन, “पार्टीलाई सशक्त रुपमा अगाडि बढाउन सबै क्षेत्र मिलाएर लैजान सक्ने, अभिभावकको भूमिका निर्वाह गर्नसक्ने जुझारु युवा नेतृत्वको खाँचो छ” । अबको महाधिवेशनले गाउँ, नगर र मुलुकको नेतृत्व युवाले गर्न पाएको खण्डमा पार्टीमा केही नयाँ परिवर्तन आउने युवावर्गको सोच छ । वडा तहदेखि केन्द्रसम्म नै सबै पङ्क्तिलाई मिलाएर पार्टी चलाउन सक्ने युवाको नेतृत्व अवको महाधिवेशनमा चुनिएर आउनुपर्ने महासमिति सदस्य कृष्णप्रसाद बस्यालको भनाइ छ ।
नेपाली कांग्रेस पार्टीको नीति, सिद्धान्तमा रहेर अनुशासनपूर्वक काम गर्ने युवाको खाँचो रहेको महिला नेत्री सरस्वती डोटेल बताउछन । महाधिवेशन नजिकिएसँगै वडा, गाउँ, नगर, जिल्ला, केन्द्र तहमा युवावर्गको नेतृत्व हुनुपर्ने चर्चा चलेको पाइन्छ भने पुराना नेतृत्वले पनि पाकापुस्तालाई नेतृत्वमा पुर्याउनुपर्ने मत मतान्तर चलिरहेको छ ।
पुरानो पुस्तालाई समेट्दै अग्रज राजनीतिज्ञ अगुवालाई सम्मान गर्दै अबको महाधिवेशनमा वडा, गाउँ, नगर, जिल्ला तथा केन्द्र तहमा युवाको नेतृत्व हुनुपर्ने रामपुर नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराई बताउछन ।
पार्टीभित्र गुटको नेतृत्व मौलाएको हुँदै यसपटक गुटको राजनीति अन्त्य गराउन युवाको नेतृत्व, समाजको आवश्यकतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने नेतृत्व नै आवश्यक रहेको धेरैको ठम्याइ छ । पार्टीमा देखिने गुटको राजनीति अन्त्य गरी अबको महाधिवेशनमा नयाँ इतिहास रच्न युवावर्गको नेतृत्व आवश्यक रहेको युवा विश्वनाथ कँडेल (सुन्दर) बताउछन ।
“लोकतान्त्रिक पार्टीभित्र अहिले गुट उपगुटले पार्टीमा नराम्रो छाप पारेको छ, यसभन्दा अगाडिका महाधिवेशनमा लगातारजसो नै पुराना नेताको मात्रै नेतृत्व देखिन्छ तर नेतृत्व अनुसारको काम हुन सकेन, गुटले गर्दा पार्टीभित्र विकृित मौलाएको छ, अबको नेतृत्व युवालाई नै दिनुपर्छ” उनले भने । पार्टीभित्रको गुटले आन्तरिक द्वन्द्व र कलह निम्त्याएको हुँदा अब गुटगत राजनीति अन्त्य गर्न युवा नेतृत्वको खाँचो रहेको उनको भनाइ छ ।
युवा सङ्गठनलाई बलियो बनाउने, सबै वर्गका नागरिकको समस्याको समाधान, शिक्षा, स्वास्थ्य, रोजगारीमा विशेष पहल गर्ने नेतृत्व पार्टीमा आवश्यक रहेको युवा दुर्गाप्रसाद पोखरेल बताउछन । महाधिवेशनमा युवापुस्ताको सरगर्मी बढेका बेला पुराना नेतृत्व पनि चुनावी मैदानमा उत्रने पार्टीमा चर्चा छ । जीवन नै राजनीति र सामाजिक सेवामा बिताउनुभएका पाल्पाका पार्टी उपसभापति देवराज ढकाल यस पटकको महाधिवेशनमा सभापति पदमै लड्ने बताउछन ।“राजनीति गर्न उमेरले छेक्दैन, सक्दासम्म पार्टीमै बसेर काम गर्ने प्रचलन छ, ७० वर्ष हुदैमा विश्राम लिन मन छैन, जिल्ला सभापति लड्ने तयारी गरेको छु तर सबै वर्ग, पङ्क्ती, क्षेत्रलाई मिलाएर जानुपर्छ” उपसभापति ढकालले भने । रासस