धरानः प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने दाबी गरेका छन । धरान–८ स्थित औद्योगिक क्षेत्रमा रु ३७ करोडको लगानीमा शुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन कार्यक्रममा उनले शनिबार यस्तो बताएका हुन ।
“सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भए पनि म विश्वासको मत लिन्छु, यो सरकार सत्तालिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकाले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो”, उनले भने । मुख्यमन्त्री आचार्यले प्रदेश नं १ को सरकार टिकाउन दलहरूबीच कुराकानी भइरहेकोसमेत बताएका छन । “राजनीतिमा जे पनि हुन्छ”, उनले भने, “नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरूसँग छलफल भइरहेकै छ ।”
आचार्यले विकास निर्माणको काममा तीव्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति–सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको पनि बताएका छन । आफू केन्द्रबाट तल झरेर प्रदेश १ मा केही गर्छु भनेर झरेको हुनाले आफूसँग विकासको योजना रहेको बताएका छन । मुख्यमन्त्री भएपछि पहिलोपटक निर्वाचन क्षेत्रमा पुगेका मुख्यमन्त्री आचार्यले स्वदेशमा सञ्चालन हुने उद्योग व्यवसायलाई प्रोत्साहान गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता भएकाले आफू धरान आएको बताए ।
प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानलाई असाध्यै समस्या भइरहेका कारण आफूहरूले उद्योग सञ्चालनमा ल्याएको बताउनुभएको छ । उनका अनुसार लामो समयदेखि पशुपक्षीपालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद् तथा पशु चिकित्सकलगायत २० जनाको समूह मिलेर उद्योग खुलेको हो । श्रेष्ठले उद्योगबाट प्रतिदिन २०० मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता रहेको र बजार विस्तार गर्न उद्योगले थप रु २० करोड लगानी गर्ने योजना बनाएको बताए । प्रालिमा ५० जनाले प्रत्यक्ष, २०० ले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए । देशभरका छ हजार किसान लाभान्वित हुने उनको भनाइ छ । रासस