काठमाडौँ : इतिहासमै लज्जास्पद हार व्यहोरेको कांग्रेस यतिबेला सरकारको नेतृत्वमा छ । सभापति शेरबहादुर देउवाकै नेतृत्वमा गएको चुनावमा लज्जास्पद हार व्यहोरेको कांग्रेसले राजनीतिक इतिहासलाई बिर्साउँदै सरकारको नेतृत्व गरिरहेको छ ।
देउवाकै नेतृत्वमा चुनाव हारेका बेला देउवा नै देशको प्रधानमन्त्री छन् । केन्द्रीय सत्ता मात्रै होइन, कांग्रेसले कर्णाली प्रदेश सरकारको पनि नेतृत्व गर्दैछ । जीवन शाही कर्णाली प्रदेश सरकारका नयाँ मुख्यमन्त्री बन्ने चर्चा सुरु भइसकेको छ ।
माओवादीले सहजै रुपमा सत्ता हस्तान्तरण गर्ने भएपछि कांग्रेस ६ सिट ल्याएर पनि सत्ताको नेतृत्व गर्न लागेको हो । गएको चुनावमा बहुमत ल्याएको एमाले केन्द्रमा प्रतिपक्षमा खुम्चिदा कर्णालीमा पनि आफ्नै गल्तीका कारण प्रतिपक्षी बन्नुपर्यो ।
हारेर पनि फेरि चुनाव आउन लागेका बेला सत्तामा पुगेको कांग्रेसका सामू धेरै ऐतिहासिक अवसर र चुनौति छन् । जुन सायदैले प्राप्त गर्छन् । अनिश्चित र असम्भवको खेल भनेर पनि चिनिने राजनीतिमा यस्तो हुनु स्वभाविक मानिन्छ ।
तर सत्तामा रहेको कांग्रेस यतिबेला आफ्नै महापर्वमा छ । आगामी १४ आँै महाधिवेशन वडा वडामा सुरु भइसकेको छ । यसले कांग्रेसलाई फेरि शक्तिमा पुर्याउने सुवर्ण अवसर दिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई फेरि एकपटक सर्वशक्तिमान बन्ने अवसर प्राप्त छ ।
तर त्यसका लागि कांग्रेसले महाधिवेशन कसरी व्यवस्थित गर्छ भन्नेमा निर्भर छ । यदि कांग्रेसले महाधिवेशन सफल रुपमा सम्पन्न गर्न सकेको खण्डमा सत्तालाई समेत प्रयोग गर्दै नम्बर एक पार्टी बनाउने सम्भावना छ । तर यसका लागि नेताहरुको मेहनत र सामूहिक एकता कत्तिको बलियो बनाउँछन् भन्नेमा भर पर्छ ।
कर्णालीमा के होला ?
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको रौनक कर्णालीमा पनि छ । कर्णालीका वडा वडा समेत अधिवेशन चलिरहेको छ । यसले कांग्रेसमा लामो समयदेखिको कार्यकर्ता भेटघाटलाई तीव्र पारेको छ । ढिलै भएपनि कांग्रेस फेरि एकपटक शक्ति केन्द्रीत गर्ने पार्टी बनेको छ ।
तर मात्रै ६ सिट ल्याएर तीन वर्ष प्रतिपक्षमा बसेको कांग्रेस यतिबेला सत्ता यात्राको बाटोमा छ । गएको बैशाखमा माओवादीको सत्ता जोगाउँदा काँध थापेको कांग्रेसले यतिबेला सत्ताको नेतृत्व गर्न लागेको हो । मुख्यमन्त्री बन्न लागेका जीवन शाहीका सामू अब सत्ता मात्रै होइन, पार्टीलाई पनि आगामी चुनावमा पहिलो बनाउने चुनौति छ ।
कांग्रेस केन्द्रीय नेतृत्वकै प्रभावशाली नेताहरु कर्णालीदेखि केन्द्रसम्म भएकाले अब एमालेलाई पछि पार्दै कांग्रेसलाई विरासत फर्काउने अवसर छ । त्यसमाथि पार्टीभित्रको आन्तरिक नेतृत्व सुदृढ गरेर कांग्रेसले विरासत फर्काउने गरी आन्तरिक पार्टी र बाह्य सत्ताको संघर्षलाई मजबुत बनाउनुपर्ने बेला आएको छ ।