काठमाडौं : मन्त्रिमण्डल विस्तारको विषयमा छलफलका लागि सत्तारुढ गठबन्धनले छलफललाई निरन्तरता दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध शीर्ष नेताहरु छन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सजपाका नेता डा.बाबुराम भट्टराई, उपेन्द्र यादवसहितको बैठक बसिरहेको देउबाका स्वकीय सचिव भानु देउबाले जानकारी दिए ।
५ दलको समर्थनमा बनेको वर्तमान देउवा सरकारमा राष्ट्रिय जनमोर्चा बाहेक अन्य ४ दलको सहभागिता हुनेछ । हाल आफूसहित प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएका छन् । सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि अहिलेसम्म देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
सोमबार मात्रै पनि बिहान र साँझ गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुईपटक बैठक बसेको थियो । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका नेताहरू सहभागी थिए ।
बैठकमा गठबन्धन आबद्ध दलले लिने मन्त्रालयका विषयमा कुरा नमिल्दा आज फेरि बैठक बस्ने भन्दै नेताहरू बैठक स्थलबाट उठेका थिए ।
जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादी दल पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ। सबै दललाई मन्त्रालय भागबन्डा गरेर मात्रै देउवाले मन्त्रिमन्डल विस्तार गर्न लागेका छन्।