काठमाडौं : विहिबार नेकपा एमाले वैधानिक रुपमै फुट्यो । यसको असर सातवटै प्रदेशमा पर्यो । एमाले उथलपुथल भने कर्णालीबाटै भएको थियो ।
ओरालो लागेको माओवादी सरकारलाई तत्कालिन एमाले माधव समूहका चारजनाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी जोगाइदिएका थिए ।
केही त्यसको असर, केही केपी शर्मा ओलीको दम्भ र अहंकारले बलियो एमाले फुटेको मात्रै होइन् टुक्रैटुक्रा हुन पुग्यो । अन्ततः माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी बन्यो ।
कर्णाली प्रदेशमा एमाले समाजवादी बलियो देखिन्छ । नेकपा एमाले दसौं महाधिवेशनबाट निर्वाचित १० जिल्लाका अध्यक्षमध्ये ७ जना माधव समूहका थिए (हालको एमाले समाजवादी) ।
अहिले मुगु, जुम्ला र रुकुमका अध्यक्ष समाजवादीमा खुलेको देखिन्छ । माधव समूहमा देखिएका डोल्पाका जिल्ला अध्यक्ष दत्तबहादुर रोकायाको मृत्यु भइसकेको छ ।
यद्यपी एमाले समाजवादीले आफ्नो सम्पूर्ण शक्ति लिन नसकेको देखिन्छ । यस विषयमा माधव नेपाल समूहका नेताले धारणा बनाएको देखिदैन ।
विगत नेपाल पक्षकै संघीय सांसद सुर्खेतका ध्रुवकुमार शाही, प्रदेश सांसद जाजरकोटका करवीर शाही र प्रदेश सांसद हुम्लाका दल रावल संस्थापनमा नै रहेका छन् ।
केही महिनाअघिसम्म माधव गुटमा रहेका सुर्खेतका जिल्ला अध्यक्ष शाहीले पार्टीभित्र समूह छुट्टिए पनि विभाजनपछि भने एमालेमै रहेको बताए ।
एमाले विभाजनपछि केही तटस्थ बसेका छन् । भने, माधव समूहका केही प्रदेशसभा सदस्य ओलीतिर टाँसिएको देखिन्छ ।
एमालेबाट निर्वाचित २० सांसद मध्ये कर्णालीमा माधव समूहमा ९ र ओली समूहमा ११ जना रहेका थिए । उक्त मध्ये चार जनालाई एमालेले यसअघि पार्टीबाट निष्कासन गरिसकेको छ ।
रहेका १६ सांसदमध्ये मुगुका चन्द्रबहादुर शाही र रुकुम पश्चिमकी देवी ओलीलाई एमाले समाजवादीको केन्द्रीय कमिटीमा राखिएको छ । शाहीले तटस्थ नै रहेको बताइएको छ ।
माधव समूहमा रहेका सांसद सुर्खेतकी पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापनमै रहेका छन् । कर्णाली प्रदेशसभामा एमालेमा स्पष्टतस् १४ सांसद देखिएका छन् ।