काठमाडौँ : प्रहरीको काम के हो ? उत्तर सजिलो छ, कानूनको पालना गर्ने । अनि किटानी जाहेरी आयो भने के गर्ने ? प्रहरीकै अधिकारी उत्तर दिन्छन्, पक्राउ गरेर अनुसन्धान अघि बढाउने ।
तर केही समयअघि जुम्लामा एक युवामाथि वडाध्यक्ष र उनकै छोराले कुटपिट गरे । जातीय विभेद गर्दै वडाक्षले गरेको कुटपिटविरुद्ध स्थानीय युवा विवेन्द्र नेपालीले वडाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी दिए । तर प्रहरीले जाहेरी नै लिन मानेन ।
कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीको दबाबमा प्रहरीले जाहेरी त लियो । तर कारबाही गर्न मानेनन् । बरु वडाध्यक्षलाई फरार गराएर मुद्दा कमजोर बनायो । केही दिनअघि वडाध्यक्षका छोरालाई प्रहरीले पक्राउ गरेको समाचार आयो ।
तर त्यो समाचार आउन नपाउँदै जाजरकोटमा वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि वडा कार्यालय अगाडि नै सेवाग्राहीमाथि कुटपिट गरेको आरोप छ । डोरीले बाँधेर आफ्नै भतिज सर्पेमाथि उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।
त्यही भाइरल भिडियोकै कारण प्रहरीले जाहेरी, उजुरी विना नै वडाध्यक्ष नेपालीलाई पक्राउ गरेर हिराशतमा राखेको छ । पीडित नै वडाध्यक्ष निर्दोष रहेको दाबी गरिरहेका छन् । तर प्रहरीले भिडियोकै आधारमा वडाध्यक्षलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
जबकी जुम्लामा किटानी जाहेरी दिँदा प्रहरी उजुरी लिन मान्दैन । अनि जाजरकोटमा पीडित नै रक्सीको तालमा कुटाई खाएको स्वीकार गर्दै वडाध्यक्ष निर्दोष रहेको दाबी गर्दा प्रहरी हिराशतमा हालेर मुद्दा चलाउँछ ? यी घटना स्वभाविक हुन् या प्रहरीको मानसिकतामा भर पर्ने उदाहरण ?
दलितमाथि दमनमा उत्रिएको प्रहरी
काठमाडौँमा बलात्कार गरेको आरोपसहितको भिडियो बाहिरिएपछि सभामुख कृष्णबहादुर महराको पद नै गुम्यो । भिडियोकै आधारमा प्रहरीले महरा जस्ता भीआईपीलाई पक्राउ गरेर जेल हाल्यो । त्यो घटनामा पनि प्रहरीले पहिले बलात्कारको आरोप लगाएर पछि बयान फेर्ने रोशनी शाहीको आग्रह केही लागेन ।
नेपालको सन्दर्भमा यो सबैभन्दा अनौठो घटना हो । पीडित र पीडकको कुरा बाझिएपनि अपराधको प्रमाण बाहिरिनेवित्तिकै प्रहरी आफ्नो कानुन कार्यान्वयमा उत्रिन्छ । यो स्भाविक हो । तर जाजरकोट र जुम्लाको अवस्था फरक छ ।
जुम्लामा मन्त्रीकै दबाबमा उजुरी दर्ता गर्न प्रहरी तयार भयो । तर कारबाही गर्न अघि बढेन । किनकी प्रहरीले जातीय विभेद देख्दैन । जाजरकोटमा आफ्नै भतिज कुटेर हिराशतमा पुगेका वडाध्यक्षलाई केही समयअघि स्थानीय युवाले मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
त्यतिबेला उनी झण्डै मृत्युकै मुखमा पुगेका थिए । कोहलपुर लिएर उनको उपचार गरिएको थियो । तर प्रहरी कुनै कुनै हालतमा अघि बढेन । उनले उजुरी दिएपनि प्रहरीले अनुसन्धान गरेर कुटपिट गर्नेलाई पक्राउ गर्न सकेन् ।
अहिले स्थानीय केही युवाहरु जो वडाध्यक्षलाई फसाएर पुरानो रिसइबी फेर्न उनकै भतिजलाई प्रयोग गरेर वडाध्यक्षको कर्तुत भन्दै भिडियो भाइरल बनाइयो । यो प्रहरीका लागि नितान्तै अनुसन्धानको विषय हो ।
पीडितले उजुरी नदिईकनै, रक्सीको तालमा घटेको घटनालाई केही शक्तिकेन्द्रकै दबाबमा कारबाही अघि बढाउनु कतै दलितमाथिको दमन त होइन ? जुम्लामा भने जातीय विभेदको घटनामा प्रहरी अहिलेसम्म पनि कारबाही प्रक्रियामा अघि बढेको छैन ।
केही समयअघि रुकुमको सोतीमा ६ जना युवा (४ जना दलित)को विभत्स हत्या हुँदा पनि प्रहरीले वडाध्यक्षलाई पक्राउ गर्न लामै समय लगाएको थियो । यसअघि दैलेखमा सेते दमाइृ, कालिकोटमा मनवीर सुनार, मना सार्कीको हत्या हुँदा पनि प्रहरीले समयमै कदम चाल्न सकेको थिएन ।
प्रहरी आफै दलितमाथि भइरहेको अपराध र विभेदको बारेमा खुलेर अनुसनधान गर्न चाहिरहेको देखिदैन । त्यसमाथि दलितको प्रतिनिधित्व गर्दै गृहमन्त्रीको उपमा पाइने आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीको मौनता झन् रहस्यमय छ ।
यस्ता घटना आवश्यक रुपमा बुझेर वास्तविकता पत्ता लगाउने र दोषीलाई कारबाही गर्नुपर्ने बेलामा उनी आफै सम्पर्कविहीन हुने गरेकी छन् । जसकारण कर्णालीमा जातीय विभेद अन्त्य हुनुको साटो नियत र पहुँच हेरेर बढ्दो छ ।