काठमाडौंः जतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार घुडा टेक्ने अवस्थामा पुगेको थियो । त्यतिबेला सुर्खेती एमाले नेताहरुमा एउटा तरंग आयो, माधव नेपाल खेमाका ध्रुव शाही ओली गुटमा प्रवेश गरे ।
त्यतिबेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीमा माध नेपाल, भीम रावलसहितका नेताहरुलार्इृ कारबाही गरिसकेका थिए । अनि माधव नेपाल गुटमा रहेका नेताहरुलाई बालुवाटार बोलाउँदै स्पष्टीकरण सोध्न थाले ।
एमालेमा निरन्तर अपमानित भएका र सत्ताको बलमा विकास गर्नुको साटो अहंकारमा फसेका ओलीकै कारण दुई तिहाई बहुमतको सरकार डगमगाएको थियो । त्यतिबेला ओली नेतृत्वको सरकार सत्ताच्युत हुन लागेका बेला एमालेमा माधव नेपाल गुट र ओली गुट सतहमा आएको थियो ।
खासगरी ओलीबाट निरन्तर चेपुवामा परेका माधव नेपालले पार्टी फुटाएर नयाँ पार्टी बनाउने विषयमा परामर्श थालेपछि उनलाई वर्षौदेखि साथ दिँदै आएका नेताहरु झस्किए । त्यसरी झस्किनेमा सुर्खेती नेता तथा प्रतिनिधिसभा सदस्य धु्रव शाही पनि एक हुन् ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई हराएर प्रतिनिधि सभा सांसद भएका शाही एमालेभित्र बौद्धिक र अग्रगामी विचारधाराका नेता मानिन्छन् । तर एमालेभित्रको आन्तरिक संघर्ष चर्किदा उनी गुट परिवर्तन गर्ने निष्कर्षमा पुगे । उनले वर्षौदेखि आदर्श मानेका माधव नेपाललाई छाडेर एमाले एकताको पक्षमा उभिने निर्णय गर्दा यसलाई धेरैले ओली गुटमा प्रवेश गरेको भनेर बुझे । जुन अहिले पनि कायमै छ ।
तर वास्तविकता भने फरक छ । उनी ओली गुटमा होइन, एमाले विभाजन गर्न नहुने पक्षमा उभिएको बताउँछन् ।
ओली गुटमा होइन, एमालेमा छु
गएको बैशाखमै तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले शाहीलाई बालुवाटारमा बोलाएर सांसद शाहीलाई सोधेका थिए, कित्ता क्लियर गर्नुपर्दा कता लाग्नुहुन्छ ?
जवाफमा शाहीले भने, 'म एमालेमा छु । एमालेमै रहन्छु ।'
ओलीले प्रतिप्रश्न गर्दै भने, 'माधव नेपालसँगै पार्टी फुटाएर जाने त होइन ?'
शाहीले ढुक्कता प्रकट गर्दै भने, 'म एमालेमा रहन्छु । पार्टीको निर्णयमा अडिग छु ।'
उनको यही निर्णय ओली गुटका लागि खुशीको कुरा थियो । माधव नेपालका लागि चिन्ताको । त्यति मात्रै होइन, उनको निर्णयले कर्णालीमा तरंग ल्यायो । जहाँ ध्रुव शाही र मोहन बडुवालको बलियो एकता थियो । शाहीको यो निर्णयले सुर्खेतमा धेरै तरंग ल्यायो ।
शाही संस्थापन पक्षतिर लागे । बडुवाल माधव नेपाल गुटमै रहे । तर उनी ओली गुटमा नभई एमालेको रहेको स्पष्ट रहेको धारणा दिन्छन् । कारण उनी यसबीचमा मन्त्री बन्ने दौडमा लागेनन् । बरु सुर्खेत गएर बसे । पार्टीको निर्णय माने । ओलीको न चाकरी गरे । न त प्रचार नै । बरु आफ्नै क्षेत्रको विकासमा ध्यान दिए ।
'मलाई त्यतिबेला देखि नै ओली गुटमा लाग्यो भने । तर म एमालेमा छु । एमालेको एकतामा छु,' उनले कर्णाली खबरसँग राजनीतिक रस्साकस्सीको रहस्य खोल्दै भने, 'माधव नेपालले पार्टी फुटाउँछु भनेपछि एमाले एकतामा रहने निर्णय गरेको हुँ ।'
माधव नेपालले ढिलोचाँडो पार्टी फुटाउँछन् !
एमाले बौद्धिक नेताका रुपमा चिनिने शाहीले अहिले पनि ढुक्कताका साथ भनिरहेका छन्, माधव नेपालले पार्टी फुटाउँछन् । वर्षौदेखि उनलाई नेता मानेर हिडेका शाहीले पार्टी फुटाउने माधव नेपालको उद्घोषबाटै टाढिएर बस्ने निर्णय लिए ।
उनले माधव नेपालको साथै छाडे । यद्यपी उनले ओलीको प्रतिगमन, अंहकारको विरोध गरिरहे । तर पनि पार्टी फुटाउने माधव नेपालको निर्णय राजनीतिक करियर सक्काउने मेसो भएको उनको भनाइ छ ।
माधव नेपालले पार्टी फुटाउँछु भनेदेखि तयारी त्यही देखिन्छ । मैले उहाँको साथ छाडे । तर हेर्दै जानुस माधव नेपालले पार्टी फुटाएरै छाड्छन, उनले ठोकुवा गर्दै भने ।
ओलीसँग नमिल्ने, ओली पनि मिल्न नचाहने र ओलीकै निरन्तर चेपुवाका कारण माधव नेपालले पार्टी फुटाउने उनको दाबी छ ।
यसकारण कर्णालीमा एमालेको सरकार बनेन
कर्णालीका एमाले नेता, कार्यकर्ता र सांसदलाई जस्तै ध्रुव शाहीलाई पनि बहुमत भएर पनि प्रतिपक्षमा बस्नु परेको पीडा छ । कर्णालीमा एमालेको २० जना सांसदको बहुमत छ । तर प्रतिपक्षमा बेन्चमा सीमित छ । अल्पमतमा रहेका माओवादी र कांग्रेसले सरकार चलाइरहेका छन् ।
त्यो पनि एमालेकै तीन जना सांसद चोरेर मन्त्री बनाएर सरकार चलेको छ । यो सुन्दा अचम्म लाग्ने खालको छ । नेपालमै पहिलोपटक प्रदेशमा कर्णालीमै फ्लोर क्रस भएको थियो । जुन प्m्लोर क्रसले कर्णालीमा एमालेको सरकार बन्न सकेन । मुख्यमन्त्री बन्ने चाहना राखेका यामलाल कँडेलको सपना सपनामै सीमित रह्यो ।
यसमा यामलाल स्वयंम चुकेको उनको भनाइ छ । यामलाल जिम्मेवार र भलाद्मी नेता भएर कदम चालेको भए एमालेकै सरकार बन्ने सम्भावना बलियो बनेपनि त्यो अहिले सम्भावनामा सीमित रहेको उनको भनाइ छ ।
यामलालले जिम्मेवार भएर निर्णय लिएनन् । उनले ओलीकै शैलीबाट कदम चाले । जुन उनको र एमालेको लागि घातक बन्यो, नेकपा एमाले सुर्खेतका अध्यक्ष समेत रहेका शाही भन्छन्, यसले एमालेको सरकार बन्ने सम्भावना धेरै पर धकेलियो । अहिले त यो विषयमा छलफल पनि चलेको छैन ।
उनका अनुसार फ्लोर क्रस गरेका एमाले नेता तथा मन्त्री बनेका सांसदले नैतिकता र राजनीतिक करियर गुमाएका छन् । जसको नेतृत्व प्रकाश ज्वालाले गरे, त्यो एक किसीमको राजनीतिक अपराध सरह हो ।
हामीले अन्तिममा सोध्यौ, 'तपाईका साथी मोहन बडुवाल अहिले एक्लै भएपनि ओलीको प्रतिगमनविरुद्ध माधव नेपाल गुटमा छन् । के भन्नुहुन्छ ?'
'हामी अहिले पनि साथी छौँ । तर उनले मानेनन् । पार्टी फुटाउने पक्षमा लाग्नु राम्रो होइन । यो व्यक्तिगत निर्णय हो । समय अनुसार आफूलाई परिवर्तन गर्न सक्नुपर्छ' बडुवाललाई लक्षित गर्दै उनले भने ।