(सरकारले अन्ततः कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई हटाएको छ । एमालेनिकट कलौनीलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार पदबाट हटाएर उनको ठाउँमा माओवादी केन्द्रका नेता तिलक परियारलाई पठाएको हो । देउवा सरकार आएदेखि नै कलौनीको पद धरापमा थियो । तर पनि उनलाई अरु प्रदेश प्रमुखको तुलनामा थप केही महिना कायमै राखियो । एक समय देउवाका प्रत्यासी भएर चुनाव लडेका कलौनीलाई फेरि देउवाले हटाएका छन् । प्रधानमन्त्री देउवा, कलौनी र उनीहरु दुई जनाबीचको लामो समयदेखिको राजनीतिक घटनाक्रमबारे हामीले केही समयअघि एक फरक सामग्री प्रस्तुत गरेका थियौँ । मंगलबार कलौनी पदबाट बर्खास्त भएपछि यो सामग्री फेरि प्रकाशित गरिएको छ । यो सामग्री पहिलोपटक गएको साउन २४ गते प्रकाशित भएको थियो – सम्पादक)
काठमाडौँ : सर्वोच्च अदालतको परमादेशबाट सरकार परिवर्तन भएसँगै प्रदेश प्रमुखहरुको पद धरापमा परेको छ । नेकपाबाट एमालेको अध्यक्षमा सीमित केपी शर्मा ओलीको सरकार ढलेसँगै त्यतिबेला नियुक्त भएका प्रदेश प्रमुखको पद धरापमा परेको हो ।
त्यसमध्ये गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन भइसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै लुम्बिनी र गण्डकीमा प्रदेश प्रमुख परिवर्तन गरेका हुन् । अब कर्णाली र प्रदेश २ को प्रदेश प्रमुख फेर्ने तयारी छ ।
देउवा सरकार आएदेखि नै कर्णालीका प्रदेश प्रमुखको पद पनि धरापमा परेको हो । २०७६ कात्तिक १८ गतेको मन्त्रिपरिषद बैठकले कलौनीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । त्यसको केही समयमै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
त्यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकारले देउवाले सरकारले गरेका नियुक्ती खारेज गर्दै कर्णालीमा कलौनीलाई प्रदेश प्रमुख बनाएको थियो । नियुक्त भएयता प्रदेश प्रमुख कलौनीले धेरै हदसम्म सन्तुलित र पदीय मार्यादाका काम गरे ।
तर सरकार परिवर्तन भएसँगै उनको पद धरापमा पर्नुका साथै परिवर्तन हुने हल्ला चल्न थालेको छ । ढिलाचाँडो कांग्रेस र माओवादी केन्द्रको सरकारले कलौनीलाइृ हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेकै छन् ।
सुदूरपश्चिमका व्यक्ति कर्णालीमा प्रदेश प्रमुख
कर्णालीका प्रदेश प्रमुख कलौनी सुदूरपश्चिमका हुन् । उनको पुख्यौली घर डडेल्धुरा हो । उनी सुरुमा प्रदेश प्रमुखमा सिफारिस हुँदा सुदूरपश्चिमका लागि भएका थिए । तर तत्कालिन प्रधानमन्त्री ओलीले उनलाई कर्णालीमा पठाए । उनी अहिले कञ्चनपुरमा बस्छन् ।
शिक्षण पेसा छोडेर राजनीतिमा आएका कलौनी पटक पटक चुनाव लड्दा पनि सांसद हुन नसकेका अभागी नेता हुन् । तर समयले उनलाई नेता र सरकारभन्दा पनि माथि राखेर प्रदेश प्रमुखले जिम्मेवारी र सफलतामा पुर्यायो ।
२०५१ सालको मध्यावधि चुनावमा कलौनीले चुनाव लडेका थिए । तर अहिलेका प्रधानमन्त्री एवं त्यतिबेलाका प्रत्यासी शेरबहादुर देउवासँग पराजित भए । त्यतिबेला देउवा गृहमन्त्री थिए । कांग्रेसी देउवा डडेल्धुरामा कहिल्यै नहार्ने नेतामा पर्छन ।
तर एमाले पृष्ठभूमिका कलौनी त्यतिबेला पराजित भए । त्यसपछि पनि उनले राजनीति गर्न छाडेनन् । २०५६ सालको चुनावमा कलौनी छिमेकी जिल्ला बैतडीबाट लडे। त्यतिबेला पनि उनी पराजित भए ।
त्यस्तै उनले २०६४ सालको संविधान सभा चुनावमा पनि उम्मेद्वारी दिए । तर त्यतिबेला माओवादी रापचापका कारण उनी कञ्चनपुरबाट पराजित भए । त्यसपछि उनले सक्रिय राजनीति छाडे । उनी नेताहरुमा पनि बौद्धिक र केही गरौँ भन्ने स्वभावका व्यक्ति हुन् ।
फेरि पनि देउवाबाटै प्रताडित
कलौनी र देउवाको प्रतिष्पर्धा २८ वर्षदेखि जारी छ । पहिलोपटक चुनाव लड्दा कलौनीले देउवासँग हारेका थिए । फेरि पनि यतिबेला हार्ने पालो कलौनीको छ । जतिबेला उनी कर्णाली प्रदेशमा राम्रो काम गरेर बसिरहेका छन् ।
प्रदेश सरकारलाई सहयोग गरिरहेकै छन् । उनको सचिवालयको काम हेर्दा स्मार्ट छ । प्रदेश प्रमुखका हरेक गतिविधि उनले आफ्नो सचिवालयमार्फत सार्वजनिक गरिरहेका छन् । भित्र जे जस्तो भएपनि बाहिरबाट प्रदेश प्रमुखको सचिवालयले राम्रो काम गरिरहेको देखिन्छ ।
तर पनि उनी राजनीतिक नियुक्ती कारण पदबाट हात धुनुपर्ने अवस्थामा पुगेका छन् । यद्यपी उनले कर्णाली प्रदेश प्रमुख हुँदा गरेका काम भने सराहनीय मानिनेछन् । तर राजनीति फोहोरी खेल भएका कारण निरन्तर अन्यायमा परेका कलौनी यतिबेला पनि देउवाबाटै हटाइने निश्चित छ ।