काठमाडौंः नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग आज साँझ भएको हार्दिकतापूर्ण टेलिफोन वार्तामा थप खोप सहयोगका लागि अनुरोध गरेका हुन् ।
अमेरिकी विदेशमन्त्रीले श्री देउवालाई टेलिफोन गरेर उनी प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै त्यस अवसरमा उनीहरुबीच नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहयोगका विषयका साथै कोभिड १९ खोप सहयोग तथा औषधि उपकरण र स्वास्थ्य सामग्रीको आपूर्तिजस्ता अहिलेको प्राथमिकताका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ विरुद्ध १५ लाखमात्रा खोप सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले महामारीको तेस्रो लहरको व्यापक आशङ्का भएको सन्दर्भमा बालबालिका र युवा जनसङ्ख्यालाई पुग्नेगरी उपयुक्त खोपको थप व्यवस्थाका लागि आग्रह गरेका हुन् ।
साथै उनले अमेरिकी सरकारबाट नेपालको सामाजिक एवं आर्थिक विकासका निम्ति निरन्तररुपमा प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए । कुराकानीका क्रममा नेपालको विकासका विविध क्षेत्रका प्राथमिकता, अमेरिकी सहयोग र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे पनि विचारविमर्श भएको मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तन र नेपालजस्तो अतिसंवेदनशील पर्वतीय देशको अर्थतन्त्रमा विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनबाट पर्ने प्रभावबारे दुवै पक्षले छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक परिचय, विधिको शासन एवं मानव अधिकारप्रतिको प्रतिबद्धतामा जोड दिए ।
प्रधानमन्त्री देउवाले राष्ट्रपति जोसेफ बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससमक्ष आफ्नो अभिवादन एवं शुभकामना सम्प्रेषण गर्न विदेशमन्त्री ब्लिङ्केनलाई आग्रह गर्दै बाइडेन प्रशासनसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताए । रासस