काठमाडौँ : 'संघीय सरकार र गण्डकी प्रदेश सरकार विस्तारमा पार्टी भित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रुपमा पाठ सिकी यो ऐतिहासिक अवसरमा हामीले देश एवं आम नागरिकप्रतिको कर्तव्य पालना गर्न र आशा जागृत राख्न तत्काल सच्चिन तथा भविष्यमा कम्तीमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प गर्न जरुरि छ,' सरकार सञ्चालन कार्यदलका संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामी बीचबाट जस जसको कारणले यो कमजोरी भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले आम नागरिक र सम्बन्धित सबैसँग म क्षमा याचना गर्दछु ।'
प्रधानमन्त्री शेरबहादुर देउवा सरकार सञ्चालनको मुख्य जिम्मेवारी सम्हालेका महामन्त्री खड्काको यो प्रतिक्रियाबाट धेरैले कांग्रेसी प्रवृत्तिमाथि फेरि आक्रोश जनाएका छन् । संघीय सरकारमा प्रधानमन्त्री देउवाले विवादित र शैक्षिक माफियाका रुपमा चिनिएका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि यो आलोचना चुलिएको हो ।
अनि गण्डकी प्रदेश सरकार समावेशी बनाउन खोज्दा दोबाटे विश्वकर्मालाई बाटैबाट मन्त्रीको शपथग्रहण गराउन बञ्चित गरेपछि नेपाली कांग्रेस फेरि पनि पूजीपति र दलालीहरुको सरकार हो भन्ने भान आम स्वतन्त्र नागरिकमा परेको छ । जसको कडा आलोचना र टिकाटिप्पणी आइतबारदेखि नै सामाजिक सञ्जालमा भइरहेको हो ।
गठबन्धनको बैठकमा प्रधानमन्त्रीको कुर्सी छाडेर सोफामा बसेपछि देउवा एकाएक सामाजिक सञ्जालमा लोकप्रिय बन्दै भाइरल बनेका थिए । तर चौबिस घण्टा पनि नबित्दै देउवाको त्यो लोकप्रियता धुलिसात भयो । कारण उनले फेरि विवादित व्यक्तिलाई मन्त्री बनाए । अनि गण्डकीमा फेरि पनि दलित नेतामाथि जातीय विभेदकै शैलीबाट मन्त्री बन्न बञ्चित गराए ।
भलै यो दुवै काममा उनको कदम निर्णायक नहुन सक्छ । तर आम नागरिकमा कांग्रेसप्रति हेर्ने पुरानो दृष्टिकोण एकपटक फेरि उदांगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अंहकारपूर्ण राजनीतिले दिक्क भएका जनतालाई देउवाले फेरि निराश बनाउने कदम चालेपछि महामन्त्री खड्काले तत्कालै माफी माग्नुपरेको हो ।
जबकी उनी देउवा सरकार सञ्चालनको कार्यदलका प्रमुख हुन् । देउवा सरकार थोरै तलमाथि भएमा त्यसको सिधा दोष प्रधानमन्त्रीलाई पर्छ । तर त्यसलाई व्यवस्थित बनाउन र अहिलेको आलोचित अवस्था ल्याउन नदिन पूर्ण बहादुर खड्कालाई देउवाले नै कार्यदलको संयोजक तोकेका हुन् ।
तर श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा र दोबाटेलाई मन्त्री बन्न नदिँदा महामन्त्री खड्का आलोचित बने । यसका पछाडि कसको हात छ ? कसले देउवालाई कन्भिन्स गरिदियो ? वा देउवा आफैले यस्तो निर्णय लिएका हुन् ? त्यो खुलेको छैन । तर अहिले जे भइरहेको छ, त्यो ओली सरकारकै जस्तो प्रवृत्ति दोहोरिएको भन्दै देउवा आलोचित छन् । जसको सिधा असर महामन्त्री खड्कामाथि पनि परिरहेको छ ।
कार्यदलको संयोजक बनेको एक हप्तामै आफ्नै कार्यक्षमता र निर्णयमाथि प्रश्न उठ्ने अवस्था आएपछि महामन्त्री खड्काले सार्वजनिक रुपमै सामाजिक सञ्जालमा माफी मागेका हुन् । तर सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री भएका देउवाले यस्ता गम्भीर विषयम किन गाम्भीर्यता देखाउँदैनन् ? यसअघि पटक पटक यस्तै पटके निर्णयबाट आलोचित भएर राजनीतिक व्यक्तित्व निर्माण गर्न चुक्दा पनि किन चेत्दैनन् ? यदि यस्तै निर्णय र कार्यशैली जारी राखे देउवा पनि प्रतिगमनका नायक ओली सरकार जस्तै निकम्मा हुनेछ ।