काठमाडौँ : नेपाली कांग्रेस र माओवादी केन्द्रको सत्ता समीकरणबाट कर्णाली प्रदेशले प्रत्यक्ष राहत पाउने भएको छ । दैनिक धरापमा परिरहेको कर्णाली प्रदेश सरकारले केन्द्रमा माओवादी र कांग्रेसको सत्ता समीकरण पाएपछि आफूलाई सुरक्षित ठानेको हो ।
यद्यपी अहिले नै माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार खुशी भइहाल्नुपर्ने कारण छैन । न त आगामी दिनमा कांग्रेस नेता जीवन शाही सहजै रुपमा मुख्यमन्त्रीको कुर्सी पाउनेछन् ।
एमालेको हातमा कर्णाली प्रदेशको चाबी रहेकाले कतिबेला एमालेकै लागि सत्ताको ढोका खुल्ने हो, टुगो छैन । तर यत्ति चाँही निश्चित हो, एमालेको आन्तरिक विवाद नमिलेसम्म कर्णालीमा माओवादी र कांग्रेसको राज चलिरहनेछ ।
जसरी तीन वर्षदेखि माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको राज्यसत्ता चलिरहेको छ । विगतमा एमालेका यामलाल कँडेल सत्ता सहयात्री रहेकामा अहिले मुख्यमन्त्रीका सत्ता सहयात्री जीवन शाही बनेका छन् । जुन संयोग मात्रै होइन, केन्द्र सरकारको पहिलो प्रयोगको सफल प्रयास पनि हो ।
कर्णालीमा माओवादी केन्द्रको सरकार जोगाउने सूचीमा कांग्रेस थपिएको थियो । कांग्रेसले काँध हालेको सरकारमा पछि एमालेकै सासदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको थियो । तर अहिले परिस्थिती फेरिएको छ ।
कर्णालीमा जस्तै काठमाडौमा पनि सत्ता परिवर्तन भएको छ । केपी ओलीको प्रतिगमन समाप्त भएको छ । माओवादी केन्द्रको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । देउवा प्रधानमन्त्री बनेको सरकारमा कर्णाली प्रदेशका माओवादी केन्द्रका इन्चार्ज जनार्दन शर्मा अर्थमन्त्री भएका छन् ।
माओवादी केन्द्रका शक्तिशाली नेता शर्मा अर्थमन्त्री बन्नुमा प्रचण्डको प्रत्यक्ष हात र विश्वास छ । जनार्दन शर्मा अर्थमन्त्री बन्दा कर्णालीबाट कांग्रेसका शक्तिशाली नेता पूर्णबहादुर खड्का देउवाका दाहिने हात छन् ।
देउवाका हरेक मोड र निर्णयमा पूर्ण बहादुर खड्काको हात हुन्छ । पूर्णबहादुर खड्काकै सल्लाहमा देउवा पार्टी र सरकारमा रणनीति चाल्ने गर्छन । पूर्णबहादुरको जुन शक्ति कांग्रेस सरकारमा छ, त्यसैगरी जनार्दन शर्माको शक्ति पनि माओवादी केन्द्रमा देखिन्छ ।
अर्थमन्त्रीको बागडोर नै सम्हालेका जनार्दन शर्माले कर्णालीका लागि गर्न सक्ने निर्णायक समय आएको छ । नेपालकै सबैभन्दा पछाडि परेको, पिल्सिएको, गरीबीले गाँजेको, अभावले चिनिएको कर्णाली प्रदेशको नक्सा र हेर्ने दृष्टिकोण नै समेत परिवर्तन गर्नुपर्ने दबाब छ ।
यो दबाबलाई अवसरमा परिणत गरेको खण्डमा कर्णालीमा कायालपट हुनेछ । त्यसपछि केन्द्र र प्रदेश सरकारको तालमेल र एउटै सत्ता समीकरण मिलेका कारण पनि कर्णालीमा यतिबेला नयाँ माेडलकाे विकास आवश्यक छ ।
मन, तन र भेगीय हिसाबले महत्वपूर्ण मानिएका ठाउँको नेता सत्तामा गएको बेला यति पनि गर्न नसकेमा भने उनीहरुकै भूमिकामाथि प्रश्न उठ्नेछ ।