काठमाडौँ : शनिबार कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाको उत्तरी सीमा हिल्साको भ्रमण रोकियो । उनको यो भ्रमण पर्यटकीय हिसाबले महत्वपूर्ण थियो । तर तय भइसकेको कार्यक्रम अन्तिममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा रोकिदा यसबारे चाँसो बढेको छ ।
हिल्सामा नेपालतर्फ प्रवेशद्धार बनाइएको छ । जसको उद्घाटनका लागि मन्त्री बुढा हुम्ला जाने कार्यक्रम थियो । उनी सुर्खेतबाट हेलिकोप्टर चढेर जाने कार्यक्रम भएपनि अनुमति पाउन सकेनन ।
पछिल्लो समय हेलिकोप्टर चढेर हुम्ला पुग्ने नेताहरुको ताँती लाग्दा मन्त्री बुढा पनि त्यसमा थपिएका थिए । डोल्पाका निर्वाचित सांसद समेत रहेका मन्त्री बुढाले हुम्ला यात्रालाई विशेष रुपमा लिएका थिए ।
केही समयअघि मुख्यमन्त्री शाही, कांग्रेस नेता जीवन शाही र सामाजिक विकासमन्त्री सीता नेपाली हुम्ला पुगेका थिए ।
उनीहरु आ आफ्ना कामका लागि हुम्ला पुगेका थिए । त्यसमध्ये मुख्यमन्त्री शाही र कांग्रेस नेता जीवन शाहीको भ्रमण हिल्सा, लिमी लगायत क्षेत्रको निरीक्षणमा केन्द्रित थियो । जसले विवाद निम्त्यायो ।
मन्त्री नेपाली भने पत्रकारहरुको कार्यक्रमका लागि सिमकोट पुगेकी थिइन् ।
किन रोकियो मन्त्री बुढाको भ्रमण ?
अचानक हुम्ला भ्रमण रोकिएपछि मन्त्री बुढा असन्तुष्ट छन् । खासगरी आफ्नो भ्रमण अचानक रोकिने मुख्यमन्त्रीप्रति उनी क्रुद्ध छन् । कर्णाली खबरलाई प्राप्त जानकारी अनुसार यो माओवादी केन्द्र र एमाले माधव नेपाल पक्षबीचको सहमति विपरित पनि रहेको पनि दाबी गरिएको छ ।
यसरी हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिइरहेका नेताहरुले पछिल्लो समय टकरावकै अवस्था सिर्जना गरेका छन् । त्यसमाथि आफै हुम्ला पुग्दा विवादमा परेपछि मूख्यमन्त्री शाहीले मन्त्री बुढाको भ्रमण रोकेको स्रोतको भनाइ छ ।
त्यसका लागि यसअघि सहजै पाइने उडान अनुमति पनि यसपटक मन्त्रीले पाएनन् । सीमानाकामा बनाइएका प्रवेशद्धार उद्घाटन गर्ने विषय मन्त्रीको पनि होइन । यो संघीय सरकार, सम्बन्धित पालिका र अनुमतिको विषय हो ।
पर्यटन, परराष्ट्र र गृह मन्त्रालयको अनिवार्य स्वीकृति चाहिन्छ । जुन स्वीकृति मन्त्री बुढालाई प्राप्त थिएन । सोही कारण मुख्यमन्त्रीले उनको भ्रमण रोकिदिएको स्रोतले जनाएको छ । यसबाट माधव नेपाल पक्षका मन्त्री मुख्यमन्त्रीसँग असन्तुष्ट देखिएका छन् ।
विवादमा परेपछि हलचल
यसअघि हुम्लाको उत्तरी सीमानामा मुख्यमन्त्री आफै हेलिकोप्टर लिएर पुगेका थिए । तर उनको यो भ्रमण निकै विवादमा परेको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले यसमा कडा आपत्ति जनाएको थियो । परराष्ट्र र गृह मन्त्रालयको अनुमति नलिएरै उत्तरी सीमामा पुगेर सीमास्तम्भको निरीक्षण गरेर मुर्खता देखाएका मुख्यमन्त्री शाहीले यसपटक भने संयमित भए ।
सोही कारण उनले मन्त्री बुढाको भ्रमण रोकिदिए । प्रदेश सरकारकै प्रतिनिधित्व हुने र फेरि विवादमा पर्ने डरले उनले मन्त्री बुढाको हुम्ला भ्रमण रोकिएका दिएका हुन् । उसो त मुख्यमन्त्री शाही पछिल्लो समय एकपछि अर्को विवादमा पर्दै गएपछि कर्णालीमा हलचल छ ।
सरकारका नीति तथा कार्यक्रम र बजेट राम्ररी ल्याउन नसकेर आत्तिएका उनी हुम्ला भ्रमणका कारण थप विवादमा परेका थिए । प्रतिपक्षीले बजेट पारित गर्न नदिएपछि अल्पमतको सरकारको नेतृत्व गरिरहेका उनीमाथि अनेक दबाब छ ।
यसकारण पनि उनले मन्त्रीलाई आफुखुशी भ्रमणमा जान दिएका छैनन् । यद्यपी विवादरहित काममा भने उनले कसैलाई रोकटोक नगरेको पनि पाइन्छ । तर सीमाका विषयमा पछिल्लो समय मुख्यमन्त्री, मन्त्री र प्रमुख प्रतिपक्षीको जुन लडाई छ, यो स्वभाविक नभई अस्वभाविक र अध्ययन, अनुसन्धान तथा चिन्तनको कमीको द्योतक हो । नेताहरुले यसलाई समयमै गम्भीर रुपमा मनन गर्न जरुरी छ ।