काठमाडौंः नेकपा एमालेको आजको स्थायी कमिटीले पार्टीको विवाद समाधान कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा गठित कार्यदलले गत असार २७ गते आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति अनुमोदन गर्दै कार्यन्वयन गर्ने निर्णय गरेको हो ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यान्वयन गर्ने जानकारी दिए । बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदलसमेत भङ्ग गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा रहेको सरकारले देश विकासमा ऐतिहासिक कार्य गरेको निर्णय गरेको छ ।
बैठकले पार्टी अध्यक्ष ओलीले संविधान कार्यन्वयन, राष्ट्रियताको सम्बद्र्धन गर्ने, मुुलुकको आर्थिक र सामाजिक रुपान्तरण गर्ने, दिगो शान्तिको स्थापना गर्ने, पुनःनिर्माण सम्पन्न गर्ने, समृद्ध नेपाल र सुखी नेपाली अभियानमार्फत मुलुकलाई अगाडि बढाउने काम गरेको निष्कर्ष निकालेको ज्ञवालीले जानकारी दिए ।
एमाले देशप्रति जिम्मेवार, संविधान र लोकतन्त्रको रक्षक एवं जनताको हितप्रति अटल रहँदै सक्रिय तथा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको पार्टी प्रवक्ता ज्ञवालीले बताए । पार्टीका प्रवक्ता ज्ञवालीले एमाले सशक्त प्रतिपक्षमा बस्ने र पार्टीका सांसदलाई सोही भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए।
“सरकारलाई पार्टीको समर्थन नरहने र सरकारले विश्वासको मतसमेत नदिने निर्णय छौँ”, उनले भने, “पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यलाई वर्तमान सरकारलाई विश्वासका नदिने पार्टीको निर्णय पालना गर्न निर्देशन दिएका छौं ’ ।
उनले सधौभरी नै पार्टी बैठक रोक्न नसक्ने भएपछि आजको बैठक शुरु गरिएको बताए । “भीम रावल कमरेडले बैठक रोक्नु भनेपछि हामीले यसअघिका बैठक रोकेका हौं, उनले भने, “कार्यदलका निर्णय पार्र्टीले कार्यान्वयन गर्दछ, तर सधै बैठक रोक्न सकिँदैन, पार्टी गतिविधि र लयमा अगाडि बढ्दै जान्छ ।”
वरिष्ठ नेता नेपाल पक्षका कार्यदलमा रहेका नेताले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गरे पनि बैठकले औपचारिक कार्यसूची अघि बढाएको छ । नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल, सदस्य धनश्याम भुसाल, गोकर्णराज विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे बैठक रोक्न माग गर्दै बैठकस्थल पुगेका थिए ।
बैठक चलिरहेका बेला उहाँहरु प्रवेश गरी सहमतिमा बैठक राख्न माग गरेर बाहिरिनुभएको थियो । सो सहमतिअनुसार पार्टीको संरचना २०७५ जेठ २ को अवस्थामा फर्कने छ भने नेकपा ९माओवादी केन्द्र०बाट आएका रामबहादुर थापालगायतलाई स्वागत गरिएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनासँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो बैठक एमालेको स्थायी कमिटीको बैठक बसेको हो । नेता नेपाल पक्षका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुभएको थियो । एमाले संसदीय दलको बैठक अहिले बस्दैछ ।