काठमाडौँ : देशका एक कुशासकको अन्त्य चलिरहदा यतिबेला कर्णालीमा हुम्ला चर्चित बनेको छ । हुम्लामा रहेको नेपाल चीन सीमास्तम्भ निरीक्षण भ्रमण गरेपछि यतिबेला मुख्यमन्त्री महेन्द्र शाही र नेपाली कांग्रेसका नेता जीवन शाही विवादमा परेका हुन् ।
जीवन शाही सोही क्षेत्रका प्रदेश सांसद हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको चिनियाँ हस्तक्षेपका बारेमा स्थलगत वास्तविकता बुझाउन मुख्यमन्त्री लिएर गएको बताएका छन् । यसका लागि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको स्वीकृति आवश्यक नरहेको उनले सोमबार सार्वजनिक गरेको फेसबुक धारणामा उल्लेख छ ।
उता नेकपा एमालेका नेता तथा पूर्वमन्त्री दलबहादुर रावलले यसअघि संघीय सरकारले नै सोही क्षेत्रको स्थलगत अध्ययन गरेर प्रतिवेदन ल्याइसकेकाले प्रदेशका मुख्यमन्त्रीको भ्रमण अनावश्यक राजनीति गर्ने किचलो भएको टिप्पणी गरेका छ्न ।
सीमा विवाद संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भएकाले अनावश्यक विवाद निम्त्याउन प्रदेशका मुख्यमन्त्री सीमाको निरीक्षणमा जानु आश्चर्यजनक र विवादित भएको उनको टिप्पणी छ । रावल र शाही हुम्लाका ठूला नेता हुन् ।
रावल कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री हुन् । शाही भने यसअघि संघीय सरकारमा पर्यटनमन्त्री बनेका थिए । अहिले उनी कर्णाली प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता हुन् । पछिल्लो समय कांग्रेस र माओवादी मिलेर सरकार बनाएपछि उनी सत्ता साझेदार हुन् ।

पहिल्यैदेखि नै शाहीले चिनियाँ सीमामा चीनले लगातार हस्तक्षेप गरिरहेको बताएका थिए । उनले त्यसक्षेत्रको स्थलगत भ्रमण गरी चीनले नेपाली सीमामा भवन, सेनाको अड्डा राखेको पनि सार्वजनिक गरेका थिए ।
जसकारण हुम्लामा रहेको चिनियाँ सीमा विवाद थप चर्चामा आएको थियो । पछिल्लो समय एमालेका सांसद चोरेर सरकार जोगाइरहेको माओवादी केन्द्रको सरकारले यसबारेमा पर्याप्त चाँसो राखेको थिएन । सोही कारण उनले मुख्यमन्त्रीलाई नै लिएर सीमास्थलको भ्रमण गरेको शाहीले बताएका छन् ।
यसबारे सोमबार हुम्लाका नेता दल रावलले प्रमुख प्रतिपक्षी दलका एक नेताको हैसियतले उनले मुख्यमन्त्रीको भ्रमणप्रति आफ्नो ध्यानाकर्षण रहेको बताए । उनले त्यो अनावश्यक र राजनीतिकरण गर्ने प्रयास भएको पनि आरोप लगाए ।
तर दुवैका फेसबुक स्टाट्सलाई नियाल्दा जिल्लामा को ठूलो नेता बन्ने भन्ने होडबाजी चलेको जस्तो देखिन्छ । अहिले कांग्रेस सरकारमा छ । जीवन शाही हेलिकोप्टर लिएर जिल्ला पुगे । हिजो दल रावल मन्त्री हुँदा हेलिकोप्टर लिएर जिल्ला पुग्थे ।
यो एक किसीमले जिल्ला बासीलाई हेलिकोप्टरको शान देखाउने अस्त्र मात्रै भइरहेको छ । सीमाको विषयमा दलहरुले साझा धारणा राख्नुपर्छ । साझा समाधान खोज्नुपर्छ । तर एकले अर्कोलाई आरोप लगाएर सीमाका विषयमा गिजोलिनु राम्रो मानिदैन । यसतर्फ शाही र रावल गम्भीर बन्न आवश्यक छ ।
तर संघीय सरकारसँग समन्वयन नगरी मुख्यमन्त्री जीवन शाही फिल्मी शैलीमा सीमामा पुगेर पदको हेक्का नराख्नु दुःखद हो । यस विषयमा उनले गम्भीर समीक्षा गर्नुपर्छ । र, विवादित चिनियाँ सीमाका विषयमा दलहरुको साझा धारणा खोजेर यो समस्या समाधानका लागि संघीय सरकारसँग विशेष लबिङ गर्न आवश्यक छ ।