काठमाडौँ : इतिहासकै सर्वशक्तिमान पार्टी । दुई तिहाई बहुमत । चीनपछि एसियाकै ठूलो कम्युनिष्ट पार्टी । देशभर एकलौटी चुनावी परिणाम । बामपन्थी नेताहरुको विजयी र्याली । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको चुनावमा क्लीनस्वीप ।
एमाले र माओवादी मिलेर बनेको नेकपाको लहर हेर्दा लाग्थ्यो, समाजवाद आइसक्यो । समानता मात्रै आउन बाँकी छ । देश विकासमा गइसक्यो । समृद्धि ल्याउन मात्रै बाँकी छ । यता कम्युनिष्ट । उता कम्युनिष्ट । कम्युनिष्ट नै कम्युनिष्ट । इतिहासमा कांग्रेस कहिल्यै न यति बलियो थियो । न त हुने नै छ ।
त्यति बलियो भएको नेकपा आज सोत्तर । सत्ता स्वार्थले छिन्न भिन्न । आज एमाले एकातिर । माओवादी अर्कोतिर । एमाले सत्ताको लुछाचुडीमा छ । माओवादी सडक आन्दोलनमा छ । इतिहासकै सर्वशक्तिमान कम्युनिष्ट पार्टी आज एकादेशको कथामा सिमित छ ।
सर्वोच्चलाई हतियार बनाउँदा...
प्रधानमन्त्रीको कुर्सीमा बसेपछि ओली सत्तामा होइन, शक्तिमा रमाए । विकासमा होइन, आफन्तवाद र मुखर्तापूर्ण काममा लागे । उनले सपना बाँडे । तर कुनै आकार, प्रकार नभएका प्रवृत्तिगत सपना बाँडे । धेरैलाई लाग्यो नेपालमा रेल आउँछ । नेपालमा पानी जहाज चल्छ । तर चलेन ।
नेपालमा खाली ओलीको भाषण चल्यो । खोक्रा भाषण गर्ने प्रतिष्पर्धा चल्यो । त्यसमा ओलीले जिते । अरुले प्रतिष्पर्धा नै गरेनन् । नाकाबन्दीमा भारतको विरोध गरेकै भाषणका भरमा ओली नेपालको सर्वशक्तिमान कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए ।
इतिहासकै यति शक्तिशाली कम्युनिष्ट प्रधानमन्त्रीले न्यायलयलाई पनि विश्वासमा लिन सफल भए । अझ भनौँ न्यायलयलाई आफ्नो हतियार बनाउने प्रयत्न गरे । आफूलाई प्रधानमन्त्री बनाउने, दुई तिहाई दिलाउने प्रचण्ड र माधव नेपाललाई मामुली कार्यकर्ता पनि सम्झेनन् ।
पार्टी एकता टिकाउने, अधिकार बाँडफाँड गर्ने, सबैलाई जितको वातावरण बनाउने र आगामी दिनमा पनि पद र पावर राखिराख्ने जीवनदाताहरुलाई ओलीले भुईमा लडाए । मिलेर बसेका नेता कार्यकर्तालाई फुटाउन सर्वोच्चलाई हतियार बनाएर नेकपा फुटाए ।
सर्वोच्चबाट प्रतिनिधिसभा विघटन बदरको फैसला आउँदा ओलीकै प्रभावमा एमाले र माओवादी ब्युताउने प्रयास भएको हो । जुन फैसलाले नेकपा फुट्यो । त्यसै दिनबाट ओली नेपाली कम्युनिष्ट इतिहासमा सोत्तर हुन सुरु भएका हुन् ।
ओली सोत्तर, भण्डारीलाई सर्वोच्चको प्रतिउत्तर
जसको मूर्त रुप सोमबार देखिएको छ । सर्वोच्चले ३० घण्टाभित्र ओलीको प्रधानमन्त्री पद दाउमा राखिदिएको छ । प्रक्रियागत दाबी अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
दुई दुई पटक प्रतिनिधि सभा विघटन गर्ने ओलीको प्रयास असफल भएको छ । सर्वोच्चकै फैसलाबाट नेकपा फुटाएर सत्ता जोगाउने हतियार बनाएका ओली सर्वोच्चको आजको फैसलाबाट सोत्तर भएको छ ।
अब ओली आफ्नो झिटीगुण्टा बोकेर बालुवाटारबाट निस्कनुपर्ने हुन सक्छ । थोरै धेरै दिनको फरक हुन सक्छ । तर ढिलोचाडो ओलीको प्रतिगमन अब सम्भवतः उनको सक्रिय शासनकालका लागि समाप्त भएको छ ।
ओलीको प्रतिगमन समाप्त भएसँगै अब उनको रबरस्ट्याम्प बनेकी राष्ट्रपति विद्यादेवी भण्डारीको पद पनि धरापमा परेको छ । विपक्षी गठबन्धन अहिलेकै अवस्थामा रहे उनको पद धरापमा परेको छ । राष्ट्रपति भण्डारीको घाटीमा महाअभियोगको तरबार झुण्डिएको छ ।
यसअघि पहिलो प्रतिनिधि सभा विघटन गर्दा नै उनीमाथि महाअभियोग लगाउने तयारी थियो । तर त्यसबेला विघटन भयो । उनको पद जोगियो । दोस्रोपटक प्रतिनिधि सभा विघटन गर्दा पनि उनीमाथि महाअभियोग लगाउनुपर्ने चर्चा थियो ।
अहिले वैधानिक रुपमै ओलीको प्रतिगमन समाप्त भएसँगै राष्ट्रपति भण्डारीको नियत र औचित्यमाथि प्रश्न खडा भएको छ । जसले नेपालको कम्युनिष्ट आन्दोलनलाई सिध्याउने प्रतिगमन कदमलाई साथ समर्थन दिइन् । जुन कुरा नेपाली जनताले कहिल्यै बिर्सने छैनन् ।
त्यति मात्रै होइन, संविधान, संघीयता नमान्ने राष्ट्रपति भण्डारीलाई सर्वाेच्चले दोहोर्याई तेहेर्याई देउवालाई प्रधानमन्त्री नियुक्त गर्न प्रतिउत्तर पनि दिएको छ । जुन कुरा उनले कुनै पनि हालतमा अस्वीकार गर्न मिल्ने छैन ।